आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सूर्यदर्शन सहकारीका पीडितको माग : सहकारीको रकमले खुलेका संस्था र कम्पनीलाई पनि कारबाही होस्

बुधबार, १७ माघ २०८०, ०९ : १८
बुधबार, १७ माघ २०८०

पोखरा । सूर्यदर्शन सहकारीका पीडितहरूले गलत हिसाबले कारोबार गरेका व्यक्ति तथा संस्थालाई पनि कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । उनीहरुले कास्की प्रहरीका प्रमुखलाई पत्र बुझाएर गलत मनसायले खुलेर सहकारीको रकम अपचलन गरेका व्यक्ति तथा संस्था पनि कारबाहीको दायरामा आउनुपर्ने माग राखेका हुन् ।

‘प्रतिवेदन अनुसार लगभग २÷३ सय व्यक्तिलाई प्रतिवादी बनाएर जानुपर्ने देखिन्छ । गलत प्रक्रियाबाट पैसा लगेर लामो समयसम्म एक पैसा पनि फिर्ता नगरेका, गलत तरिकाले कारोबार गरेका व्यक्ति, सङ्घ संस्थालाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने देखिन्छ,’ उनीहरुले भने, ‘तर प्रतिवेदनमा यिनै व्यक्ति तथा सङ्घ संस्थाहरुको कुनै ठेगाना र पारिवारिक विवरण उल्लेख गरिएको छैन ।’

यसअघि विज्ञ टोली खटाएर सहकारीको विस्तृत छानबिन गरिएको थियो । छानबिनमा दोषी देखिएकाहरू विरुद्ध पक्राउ पुर्जी जारी भैसकेको छ । प्रहरीले अनुसन्धानका लागि भन्दै सूर्यदर्शन सहकारीको मुख्य कार्यालयमा भदौ २१ गते ताला लगाएको थियो । अहिलेसम्म उक्त ताला खुलेको छैन । पोखरा महानगरको सहकारी महाशाखाले भदौ र असोजमा सहकारीको प्रारम्भिक छानबिन गरेर रिपोर्ट तयार गर्‍यो।

सोही रिपोर्टका आधारमा प्रहरीले थप अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा फाइल पठायो । सरकारी वकिल मार्फत उक्त फाइल अदालतमा छ । आरोपीहरूसँग बयान लिने क्रममा सञ्चालक समिति सदस्य तथा सफ्टवेयर निर्माणकर्ता विश्वेश्वर अर्यालले प्रतिवेदन नै अपुरो रहेको बयान दिएका थिए । सोही आधारमा बचतकर्ताहरूले थप छानबिनको माग गरेका सङ्घर्ष समिति संयोजक किरण श्रेष्ठले जानकारी दिए । सहकारीका १९ जना विरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।

‘दोषीहरू १९ जना मात्रै होइनन् । सयौँ व्यक्ति र संस्थाहरू पनि जोडिएका छन् । यस विषयमा प्राप्त प्रतिवेदनबाट जति पनि गलत काममा संलग्न व्यक्ति र सङ्घसंस्था तथा शङ्कास्पद व्यक्तिहरू छन् उनीहरूलाई पनि छानबिन गरिनुपर्छ,’ उनले भने, ‘उनीहरू कारबाहीको दायरामा आएनन् भने बचतकर्ताको रकम सुरक्षित हुँदैन । यसका लागि पूरक प्रतिवेदन तयार गरी छानबिन होस् भन्ने हाम्रो माग छ ।’

पीडितहरूले जिल्ला प्रशासन कार्यालय कास्की सहित पोखरा महानगरपालिका, जिल्ला र उच्च सरकारी वकिलको कार्यालय तथा सहकारी महाशाखा कार्यालयलाई बोधार्थ बुझाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप