मङ्गलबार, २३ पुस २०८१
ताजा लोकप्रिय

सातौँ व्यास अल्ट्रा म्याराथनमा सेनाको वर्चस्व

मङ्गलबार, १६ माघ २०८०, २२ : ४८
मङ्गलबार, १६ माघ २०८०

दमौली । व्यास नगरपालिकाले आज आयोजना गरेको सातौँ व्यास अल्ट्रा म्याराथनको उपाधि त्रिभुवन आर्मी क्लवका जुनेश खड्काले जितेका छन् । सहिद दिवसका अवसरमा व्यास नगरपालिका–५ मानुङकोटदेखि व्यास नगरपालिका–८ पुलिमराङसम्म आज आयोजित अल्ट्रा म्याराथनको उपाधि जर्सी नम्बर ५० का खड्काले जितेका हुन् ।

चवालीस किलोमिटर दूरीको म्याराथन तीन घण्टा १८ सेकेण्डमा पूरा गर्दै खड्काले उपाधि जितेका हुन् । प्रतियोगितामा त्रिभुवन आर्मी क्लबका खेलाडीले वर्चस्व कायम गरेका छन् । प्रतियोगितामा बैतडीका मोहनदेव जोशी द्वितीय भएका छन् । उनले उक्त दूरी तीन घण्टा दुई मिनेट ३३ सेकेण्डमा पूरा गरे । नेपाली सेनाका करण रावत तृतीय हुँदा उनले उक्त दूरी तीन घण्टा १० मिनेट ३० सेकेण्डमा पूरा गरे ।

त्रिभुवन आर्मी क्लबका राजन मेयोङ्बा चौथो, त्रिभुवन आर्मीकै प्रताप खड्का पाँचौँ, सोलुखुम्बुका अर्जुन राई छैटौँ र त्रिभुवन आर्मी क्लवका तिलक सुनुवार सातौँ भएका छन् । उनीहरुले उक्त दूरी क्रमशः तीन घण्टा १७ मिनेट २४ सेकेण्ड, तीन घण्टा १९ मिनेट ३० सेकेण्ड, तीन घण्टा २१ मिनेट तीन सेकेण्ड र तीन घण्टा २४ मिनेट ४६ सेकेण्डमा पूरा गर्नुभएको युवा तथा खेलकुद शाखा प्रमुख नवीन पराजुलीले जानकारी दिए । म्याराथनमा दुई विदेशीसहित एक सय १७ धावकको सहभागिता थियो । 

अल्ट्रा म्याराथनमा प्रथम हुनेलाई रु ८५ हजार ८०, द्वितीय हुनेलाई रु ६५ हजार ८०, तृतीय हुनेलाई रु ५५ हजार ८० र सान्त्वना हुने पाँच जनालाई जनही रु १६ हजार ८० नगद पुरस्कार प्रदान गरिएको नगरप्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । विजेतालाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सुरेन्द्र आचार्यले पुरस्कार वितरण गरेका थिए ।

व्यास नगरपालिका–५ मानुङबाट सुरु म्याराथन मानुङकोट सिद्धमार्ग हुँदै अलैचे–चापाघाट–अनसन चौतारी–सफासडक–भोर्लेटार चोक–बैरेनी–दुम्सी–कलेस्ती–पाथ्रा–सत्रसय–बानियाँ डिही–बर्लाची–सोतीबेँसी–बगुवा रिस्ती–बाहुन पोखरा हुँदै व्यास नगरपालिका–८ पुलिमराङमा पुगेर सकिएको थियो । 

गत वर्ष जिल्लाभित्रका धावकलाई मात्रै सहभागी गराइएको थियो । गत वर्ष आयोजित म्याराथनको उपाधि व्यास–७ निवासी विशाल गुरुङले जितेका थिए । चवालीस किमी दूरी तीन घण्टा २९ मिनेट २६ सेकेण्डमा पूरा गर्दै गुरुङले उपाधि जितेका थिए । त्यस्तै व्यास नगरपालिका–६ का सहास पन्थ द्वितीय, आँबुखैरेनी गाउँपालिका–१ का सनम गुरुङ तृतीय भएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप