बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
किसानको पीडा

बाँदरपीडित किसानको आक्रोश– चुनावमा भोट पनि बाँदरसँगै माग्नू

मङ्गलबार, १६ माघ २०८०, २१ : ५०
मङ्गलबार, १६ माघ २०८०

पोखरा । गत वर्ष पुस २२ गते घाँस काट्न गएका ऋषिराम तिवारीलाई बाटोमै बाँदरले आक्रमण गर्यो । बाँदरको हुल नै जाइलागेपछि उनी बेहोस भए । स्थानीयले उनलाई बाँदरको हुलबाट जोगाएर अस्पताल लगे ।

लामो उपचारपछि उनी घरमै आराम गरिरहेका छन् । उमेरले बुढ्यौली लागिसकेका तिवारीलाई अहिले बाँदर देख्नेबित्तिकै डर लाग्छ । ‘बाँदर देखेपछि सात्तो जान्छ,’ उनले भने, ‘घरबाट निस्किन पनि डर लाग्छ । तर्सिन थालेको छु ।’

पोखरा–१९ काभ्रे निवासी उनको अनुभवमा गाउँमा ०६० साल यता बाँदरले सताउन थालेको छ । ‘उहिले खासै बाँदर देखिँदैनथ्यो । अहिले गहुँ छरे गहुँ खान्छ, धान रोपे धान खान्छ,’ उनले भने, ‘हामी जनताले के गरेर खाने हो ? कसरी बाँच्ने ?’

तिवारीले बाँदर हटाउन वन फडानी गर्नुपर्ने बताए । ‘गाउँमै वन छ । झ्याम्म जङ्गलले गाउँ ढाकियो,’ उनले भने, ‘मलाईमात्रै होइन, गाउँभरिका मान्छेलाई अत्याएको छ । ठुला बुटा सर्लक्कै फाँड्न प¥यो ।’

त्यहीँका अगुवा किसान नारायणप्रसाद बास्तोला पनि बाँदरले आजित छन् । ‘सेराको फाँटमा कति राम्रो मकै हुन्थ्यो । खेती केही रहँदैन । न बर्खाको काँक्रो रहन्छ, न तरकारी बाँकी राख्छ,’ उनले भने, ‘बाँदरले साह्रै सताएको छ । नियन्त्रणको उपाय खोज्नुपर्ने भयो ।’

बाँदर नियन्त्रणको प्रयास नगरेकोमा उनी सरकारप्रति आक्रोशित छन् । ‘सरकारले बाँदर पाल्ने कि हामीलाई पाल्ने ?’ उनले भने, ‘कि हामी चाहिँदैन भन्नुप¥यो, चुनावको बेलामा भोट हाल्न पनि उही बाँदर आउलान्, होइन भने हामीले खेती गरेर खान पाएनौँ । यत्रो फाँट बाँझो भयो ।’

रुख र बुट्यान काटे बाँदर केही कम हुने उनको तर्क छ । ‘बुटा काट्न सके धेरै हट्छ । एउटा रुखबाट अर्को रुखमा जान्छ । भुइँमा झर्दै झर्दैन,’ बास्तोलाले थपे, ‘रुख काट्न सबै मन्जुर छन् । वडामा पनि निवेदन दियौँ । बाँस र ठुला बुटा काट्नुपर्ने स्थिति आयो ।’

स्थानीयको गुनासो बढेपछि वडा नम्बर १९ ले सोमबार सूचना निकालेर घर वरपरका रुख कटान गर्न अनुमति दियो । उक्त सूचनाको अहिले आलोचना र समर्थन दुवै भइरहेको छ । बाँदर नियन्त्रणका लागि भन्दै वडाभित्रका रुख काट्न वडा कार्यालयले सर्वसाधारणका लागि सूचना जारी गरेको हो । वडाले १० दिनभित्र घरछेउका सबै रुख काटेर जानकारी दिन सोमबार सूचना जारी गरेको वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले बताए ।

‘जनताका समस्या धेरै छन् । बाँदरले कति समस्या बनाएको छ भन्ने पीडितले मात्रै महसुस गर्न सक्छन्,’ उनले भने, ‘हामीले मान्छेको ज्यान बचाउनुपर्ने छ । यति संवेदनशील कुरामा त्यस्तो हलुका तर्क आइरहेका छन् । यो गलत छ ।’

साविक लामाचौर र पुरुन्चौरलाई बाँदर अति प्रभावित क्षेत्र घोषणा गरिएको उनले बताए । उनले सबै रुख नभइ घर वरपरका रुखमात्रै काट्न भनेको प्रस्ट पारे । वडाले बाँदर नियन्त्रण समिति पनि बनाएको छ । ‘बाँदर नियन्त्रण समिति बनेको थियो । बालीनाली भित्र्याउन त परको कुरा, पकाएको भातसमेत खान पाएका छैनन्,’ वडाध्यक्ष पाण्डेले भने, ‘जनता हामीलाई बाटो चाहिएन, विकास चाहिएन, बाँदर नियन्त्रण गर्नुपर्छ भन्छन् । बाँदर नियन्त्रण गरे अरु १० वर्ष केही बनाउनु पर्दैन भन्ने माग छ । चर्को जनदबाब छ ।’

रुख काट्ने विषयमा बढी गम्भीर नहुन उनको आग्रह छ । ‘बुटाहरु काट्ने बारेमा चर्को रुपमा लिएको बुझेँ मैले । गाउँघरमा शारीरिक रुपमा कमजोर महिला अति पीडित भएका छन्,’ पाण्डे थप्छन्, ‘यो सामान्य कुरा छ ? रुखरुखमा बाँदर दौडिन्छ, बरु भुइँमा झरे त लखेट्न सकिन्छ नि ।’

गाउँमा बर्सेनि ६–७ जनालाई बाँदरले आक्रमण गरेर घाइते बनाएको उनले सुनाए । ठुला रुख हटाएर केरा, तिदु लगायतका फलफूल लगाउने उनको भनाइ छ ।

स्थानीयवासीका अनुसार हिजो धान, कोदो रोप्ने ठाउँमा वनजङ्गल भएको छ । वनमा प्रशस्त खानेकुरा हुँदा बाँदर पनि वनमै रमाउँथे । तर अहिले बस्ती पातलो हुँदै गयो । बाँदर बस्तीमै पस्न थाले ।

घर नजिकैका बुट्यान काट्न वडाको सूचना आएपछि स्थानीयहरु खुसी छन् । बाँदरले घरघरमै आएर क्षति गर्न थालेपछि दैनिक जीवनमा चुनौती बढेको उनीहरुको गुनासो छ । पहाडी क्षेत्रका गाउँहरु बाँदरकै कारण अहिले खाली हुने अवस्था भइसकेको छ ।

यता पोखरा महानगरपालिकाले भने रुख काट्ने अभियान गलत भएको भन्दै तत्काल रोक्न उर्दी जारी गरेको छ । रुख काटेर बाँदरको समस्या समाधान नहुने भन्दै नगरपालिकाले रुख नकाट्न भनेको हो ।

मेयर धनराज आचार्यले रुख काट्ने निर्णय कार्यान्वयन नगर्न वडालाई पत्र पठाइसकेको बताए । ‘रुख काटेर बाँदर नियन्त्रण हुने होइन । नियन्त्रणका लागि हामीले पहल गरिरहेका छौँ तर प्रविधि पत्ता लागेको छैन,’ उनले भने, ‘अहिले नकाट्नू भनेर पत्र पठाएका छौँ । स्थगित भइसकेको छ ।’

बाँदरले गरेको क्षतिप्रति आफूहरु गम्भीर रहेको मेयर आचार्यले उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रकाश ढकाल
प्रकाश ढकाल
लेखकबाट थप