काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष उद्धव पौडेल यस पटक राष्ट्रियसभा निर्वाचनमा कोशी प्रदेशबाट उम्मेदवार थिए । राष्ट्रियसभा निर्वाचनमा एमाले र राप्रपाबिच कोशीमा गठबन्धन भएको थियो । राप्रपाका उम्मेदवार पौडेल केही मतले पराजित भए पनि सोही गठबन्धनबाट एमालेका उम्मेदवार भने विजयी भए । प्रस्तुत छ, राष्ट्रियसभा निर्वाचन तथा समसामयिक राजनीतिक विषयवस्तुमा केन्द्रित रही उद्धव थापासँग रातोपाटीका लागि रोहित दाहालले गरेको कुराकानीको सम्पादित अंश–
तपाईं भर्खर एमालेसँग तालेमल गरेर राष्ट्रियसभा सदस्यमा चुनाव लड्नु भयो, एमालेका उम्मेदवार विजयी बन्दा तपाई भने पराजित हुनुभयो नि ?
यसलाई बिडम्बना नै भन्नु पर्छ । यथार्थमा ३ सय ९४ भोट लिनका लागि हामीले दुस्साहस पक्कै गरेका होइनौँ । कृष्णप्रसाद सिटौला उठिसकेपछि पूर्वका धेरै साथीले तपाईं उठ्नु पर्छ भने । मलाई चुनाव लड्नका लागि तयारी अलि ढिलो पनि भयो । उम्मेदवारी फिर्ता लिने समयसम्म पनि एमालेका उम्मेदवार कायमै हुनुहुन्थ्यो, समयको अभावले पनि होला । हाम्रो म्यासेज एमालेका साथीहरुसँग सकारात्मक रुपले पुगिनसकेको पनि होला । उम्मेदवारै नभएको चिह्नमा १० वटा मत पर्यो । त्यो त बदर भइहाल्यो । यता नेपाली कांग्रेसका साथीहरुले पनि निर्वाचनको अघिल्लो दिनसम्म पनि सहयोग गर्छु भनिरहनु भएको थियो । त्यो दिनसम्म ६ हजार जति भोटले चुनाव जित्ने हिसाब देखिएको थियो । एमाले र हामो भोट जोड्दा यसै पनि ४६ सय हुन्थ्यो नै । यता नेपाली कांग्रेसका ५ सात वटा समूहबाट १४ सय भोटको आशा थियो । यो सबै हिसाब गरेर ५ हजार आए पुग्नेमा ६ हजार भोट आउँछ र जितिहालिन्छ भन्नेमा ढुृक्क भएँ । तर परिस्थिति फेरियो ।
एमालेले धोका दिएको हो ?
एमालेका साथीहरुप्रति त अनुग्रहित छु । चार सय मतभार नपुगेको पार्टीलाई ४२ सय मतभारले पत्याउनु भनेको ठुलो कुरा थियो त्यो । एमालेबाट बनेका उम्मेदवार, चुनावमा बनेको मेकानिज्मले यहाँनेर भोट दिनुपर्छ भनेको देखिएन । त्यो तहका मतदाताले दश भोट सूर्यमा हाल्नुचाहिँ बिडम्बनै मान्नु पर्छ । मेरो उम्मेदवारीप्रति ती साथीको असन्तुष्टि वा नजानेरै पनि हुनसक्छ । या त्यो म्यासेज प्रवाह नभएको पनि हुनसक्छ ।
तर जसले मलाई सहयोग गर्छु भनेर कांग्रेसका साथीहरुले बचन दिएका थिए, उनीहरुले त निर्वाचनको अघिल्लो दिनदेखि फोन नै उठाउन छोडे । उहाँहरु एक दिन अगाडि एकतावद्ध भएर जाने सहमतिमा पुग्नु भएछ । सहयोग गर्छु भनेका कांग्रेसका साथीहरुबाट सहयोग पाउने अवस्था रहेन ।
तर त्यही गठबन्धनबाट एमालेको उम्मेदवार जित्नु भयो नि ?
उहाँले पनि सय भोटको फरकले जितेको हो । उहाँको अन्य पार्टीहरुसँग पनि सेन्टीमेन्टल मत रहेछ । कांग्रेसभन्दा बाहेकका पार्टीबाट नै उहाँलाई त्यो मत प्राप्तभएको हो जस्तो लाग्छ । बाहिर हेर्दा कांग्रेसकै सपोर्ट भएजस्तो देखिन्छ तर मलाई चाहिँ त्यस्तो लागेन ।
तपाईंको आफ्नो पार्टीले चाहिँ सहयोग गर्यो त ?
भन्न त हाम्रै पार्टीका नेताहरुले उद्धव पौडेललाई सहयोग गर्र्दैनौँ भनेर म्यासेज पनि पठाए भन्ने पनि हल्ला बाहिर आयो । तर म त्यस्तो कुराको पछि लाग्दिनँ । कसैले कहानी बनायो जस्तो लाग्छ ।
म्यासेज गएको सत्य त हो नि ?
त्यसमा पनि मलाई विश्वास छैन । हाम्रो पार्टीले, अध्यक्षले सहयोग गरेन भनेर पत्याउने कुरै भएन । किनकि अध्यक्ष मेरो लागि यति लागिपर्नु भएको छ कि, त्यो कल्पना पनि गर्न सकिँदैन । अध्यक्षसँग पार्टीमा केही बिमति राख्नेले मलाई टाढिन्छ कि भनेर फालेको कार्ड होला जस्तो लाग्छ ।
राप्रपाले एमालेसँग निरन्तर सहकार्य गर्दै आएको छ, तर उपलब्धिचाहिँ देखिँदैन नि ?
यस पटक हामी एमालेसँग सहकार्य गर्ने पक्षमा थिएनौँ । हामीलाई त सत्ता गठबन्धनले नै सिट दिन्छ भनेर तीन ठाउँ उम्मेदवार उठाएका थियौँ । किनभने कहाँ दिन्छ, पहिले थाहा हुँदैन भनेर यसो गरेको हो । अन्तिमसम्म आशा थियो । हामी जहाँ दिन्छ, त्यहाँ उठ्छौँ भनेर अन्तिमसम्म कुर्यौँ । त्यो नभएपछि हामीले एमालेसँग तालमेल गरेका हौँ ।
चुनावी मोर्चा चाहिँ तपाईंका लागि अलि फलिफाप देखिएन नि ?
राजनीति भन्ने विषयसँग म टाढिएको मान्छे । ०३५ सालमा मोरङमा सबैभन्दा बढी भोट ल्याएर जितेको मान्छे हुँ। ३९ सालमा उपप्रधानपञ्चमा लड्दा खसेको मतको झण्डै ७० प्रतिशत ल्याएर जितेको थिएँ । त्यसपछि २०७० सालमा काठमाडौँ क्षेत्र नं ४ मा चुनाव लड्दा राम्रै मत ल्याएर पराजित भएँ ।
यसपटक मलाई हार्छु भन्ने त एक मनमा पनि थिएन । जित्ने वातावरण बनेपछि मात्रै म अगाडि बढेको हुँ ।
इमानको राजनीति गर्नेलाई फाप्दो रहेनछ कि के हो ?
चुनावको अन्तिमको दुई दिनले मलाई पनि त्यस्तो सोच्ने बनाएको छ । साथीहरुले जुन किसिमको प्रेसर खेप्नु भयो, त्यो दुःखदायी छ ।
त्यतिको निर्वाचित व्यक्तिहरुले आफ्नो अधिकार स्वविवेकले प्रयोग गर्न पाएनन् ?
एउटा राजनीतिक आस्थामा लागेका मान्छेले लोभ लालच र प्रलोभनमा परेर मत दिने कुरा पनि त भएन ।
तपाईं पार्टीमा अस्थिर बन्नुभयो, कहिले कमल थापातर्फ, कहिले राप्रपातर्फ लाग्नु भयो, सर्वसम्मत व्यक्तित्व बन्न सक्नु भएन भन्ने आरोप छ नि ?
कमलदाईसँग मेरो ४० वर्ष पुरानो सम्बन्ध हो । म अवकासपछि उहाँले सहयोग गर भन्नुभयो । र उहाँलाई सहयोग गर्ने माध्यमले म गएँ । मैले गरेको सहयोगले पार्टीलाई एकीकरण गर्न सहज भयो । राप्रपाको अधिवेशनमा थापा र लिङदेनबिच चुनाव हुनु हुँदैन भनेर दुवै पक्षलाई मिलाउने प्रयास गरेको थिएँ । राजेन्द्रजीको लड्नुपर्ने अवस्था थियो नै । जुन संस्थालाई कमलजीले सहयोग गर्नुृभयो, त्यसले उहाँको चित्त दुखाएछ । चाँडै निर्णय लिने उहाँको बानी छ । उहाँले पनि चुनाव लड्ने निर्णय लिनुभएछ । हामीले यसरी नजाउँभन्दा मान्नु भएन । म यो मिलाउनका लागि नै उहाँसँग गएको हो ।
कोशीमा सभामुख प्रकरणले पनि तपाईंको चुनावमा असर पारेको हो ?
मेरो चुनावमा पार्टीको अन्तरिक राजनीतिको कुनै असर छैन । कोशी प्रकरणमा निर्देशन समितिले दिएको निर्देशन आन्तरिक प्रक्रिया हुन् । त्यो एडभाइजरी बडी हो, अध्यक्षको सल्लाहमा गर्नु पर्थ्यो । त्यो अलि नमिलेको हो । त्यति हतारले पत्र लेख्न जरुरी पनि थिएन । हामीले स्थानीय प्रदेश कमिटीलाई नै यस्ता विषयमा मूल्याङ्कन गर्न दिनुपर्छ भनेर धारणा बनाएका थियौँ ।
प्रदेश खारेज गर भन्ने राप्रपाको मान्यता छ, तर त्यही कानुन कार्यान्वयन गर्ने निकायमा जान त अलि नमिलेजस्तो देखिन्छ नि ?
संविधानलाई मान्ने अनि त्यसका प्रावधानलाई नमान्ने भन्ने त भएन नि । त्यो विरुद्ध त आन्दोलन गर्नुपर्यो । गणतन्त्रलाई नै मानेर हामी किन चुनावमा भाग लिने त ? निर्वाचनमा किन भाग लिने भन्ने प्रश्न त छ नि । यत्रो भोट ल्याएर चुनाव जितेको छ अनि जनतालाई कसरी सम्बोधन गर्न सकिन्छ ?
एउटा सांसद भएर संसदमा उभिएर राजतन्त्र पुनर्स्थापना गरौँ भन्न मिल्छ रे, तर सभामुख, मन्त्री भएपछि त्यो भन्न मिल्दैन रे नि ?
यो चाहिँ भातमात्रै खाऊ, दाल खान पाउँदैनस् भनेजस्तो कुरा हो । संविधानमा हाम्रो विमति छ । तर संविधानमै हामीले जनताको विचारलाई जितेर हाम्रो नीति लागु गर्छौं भनेको हो । हाम्रो नीति र मतमा परिणत गर्ने बाटो त हामीसँग छ नि । या त हामी चुनाव लड्नु भएन, चुनाव लडेपछि जनतासँग टाढिने भन्ने कुरा त भएन ।
निर्देशन समितिले दिएको निर्देशनचाहिँ गैर संवैधानिक भन्न खोज्नु भएको हो ?
यो पार्टीको विधानले कल्पना गरेको थिएन, सबैलाई कतै न कतै समेटनुपर्ने थियो । तीन जना अध्यक्ष पार्टीमा थिए । सबैलाई केही न केही पोर्टफोलियो चाहियो नै । एक जना अध्यक्षलाई समेट्न सकिन्छ भनेर निर्देशन समिति बनाएको हो । योचाहिँ सम्मान दिन खोजेको मात्र हो ।
राप्रपाभित्र पार्टी फुट्नेसम्मको अन्तरकलह छ भनिन्छ नि ?
यो चर्चा सबै पार्टीमा हुन्छ । सानो पार्टी छौँ, धेरै नेताहरुलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ । व्यवस्थापन गर्नेतर्फ अध्यक्ष लागिनै रहनुभएको छ । फुट्दाफुट्दै यहाँसम्म आइएको छ । अब त संगठित गर्नुपर्छ भनेर लागेका छौँ । पार्टीमा कमल थापा, केशर विष्टलाई पनि ल्याउनुपर्छ भनेर पहल गरिरहेका छौँ भने फुट्ने त कुरै भएन ।
तपाईंले अब राजनीति छोडिदिन्छु भन्ने मनस्थिति बनाउनु भएको छ रे नि ?
यो पनि मेरो दिमागमा कहिलेकाहीँ आउने गरेको छ । म ७० वर्ष हुन लागेँ । तर तुरुन्तै यो निर्णय लिने अवस्थामा चाहिँ छैन । केही समयपछि छोड्नुपर्छ जस्तो लाग्छ ।
प्रतिक्रिया