बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

यस्ता थिए २०७४ का १० ठूला आपराधिक घटना

हाइप्रोफाइल 'मर्डर'देखि मनोज पुनको इन्काउन्टरसम्म
शनिबार, ०१ वैशाख २०७५, १३ : ५६
शनिबार, ०१ वैशाख २०७५

काठमाडौं– नयाँ वर्षको प्रकाशले धर्तीलाई चुम्बन गर्दै थियो, त्यस्तोमा नेपाल प्रहरी ‘नयाँ आइएजीपीको लफडा’ मा फसिहाल्यो । २०७४ को लामो समय नेपाल प्रहरीभित्र आईजीपी नियुक्ति विवादको आगो दन्कियो । त्यही विवादको उत्कर्ष थियो, डिआईजी नवराज सिलवालको राजीनामा अनि एमाले सांसदको रुपमा उनको उदय ।

 प्रहरी विवाद सँगै शुरु भएको २०७४ साल नेपाल प्रहरीमा सर्वेन्द्र खनाल र सशस्त्र प्रहरी बलमा शैलेन्द्र खनालले आ–आफ्नो संगठनको बागडोर सम्हालेसँगै हामीबाट विदा भैसकेको छ ।  
बर्ष २०७४ लाई फर्केर हेर्दा सवैभन्दा पहिले सम्झने नाम हो एमाले सांसद नवराज सिलवाल । राज्यले दिएको डीआइजीको फुली फिर्ता गरेर राजनीतिको बाटो पछ्याएका सिलवाल सरकारी छाप दस्तखत किर्ते मुद्धामा फसेका छन् । यद्यपी आजसम्म पनि महान्यायाधिवक्ताको टेवलको घर्रामा उनको किर्ते प्रकरणको फाइल थन्किरहेको छ । सर्वसाधारणले एउटा प्रश्न गरिरहेका छन्, कहिले खुल्छ त्यो फाइल ? 
वर्ष २०७४ मा प्रहरी संगठनले बिर्सनै नसक्ने अर्को घटना थियो, निर्माण ब्यवसायी शरद कुमार गौचनमाथि नयाँबानेश्वरमा दिनदहाडै गोली प्रहार । असोज २३ गते गोलीले ढलेका गौचन हत्याको मुख्य योजनाकार पक्राउ परेपनि मुख्य सुटर अझै फरार छन् । 

गौचन हत्याको अनुसन्धान गर्दैै जाँदा पक्राउ परेका गुण्डा नाइके समिरमान सिंह बस्नेतको सूचनाको आधारमा बर्ष २०७४ मा प्रहरी अर्को गुण्डा नाइके मनोज पुनको इन्काउन्टर गर्न सफल भएको छ । समिरमानसिंह बस्नेलाई कानुनी कठघरामा ल्याउने र गुण्डा नाइके मनोज पुनको इन्काउन्टर गर्ने कार्यको श्रेय केन्द्रिय अनुसन्धान ब्युरोका निर्देशक पुष्कर कार्कीलाई जान्छ । 

गौचन हत्याका मुख्य योजनाकार पक्राउदेखि रुपन्देही क्षेत्रमा आपराधिक गतिविधि चलाएका मनोज पुनको इन्काउन्टरसँगै प्रहरीले आपराधिक दिमागको एउटा अध्याय नै समाप्त गरिदिएको छ ।  
वर्ष २०७५ को नयाँ विहानीसँगै पुराना दिनहरु हाम्रा लागि इतिहास भैसकेका छन् । तर, नयाँ सफलताका लागि पुराना दिनको समीक्षा आवश्यक हुन्छ । तसर्थ, वर्ष २०७४ मा घटेका आपराधिक दुनियाका ठुला घट्नालाई हामीले विश्लेषण गरेका छौं, जुन घटनाहरु भोलिका लागी नेपाली समाज र अपराध अनुसन्धान गर्ने निकायका लागी एउटा पाठ बनोस् । 
यस्ता थिए बर्ष २०७४ का १० आपराधिक घटना  
 

 डीआइजी सा’पको कार्यसम्पादन नै नक्कली 
‘रक्षक नै भक्षक’ भनेजस्तै राज्यमा हुने गलत काम रोक्ने कसम खाएका नेपाल प्रहरीका तत्कालिन डीआइजी नवराज सिलवालको नाम वर्ष २०७४ को सुरुवातीमा नै किर्ते प्रकरणमा जोडियो । 
आईजीपी बन्नका लागि नक्कली कार्यसम्पादन मूल्यांकन बनाएर सर्वोच्च अदालतमा पेश गरेको तथ्य फेला परेपछि छानबिनमा परेका सिलवालले डीआईजीको बर्दी खोलेर राजनीतिको मैदानमा हाम्फालेका छन् । ललितपुरबाट चुनाव जितेपछि उनको परिचय प्रहरी अफिसरबाट सांसदको रुपमा फेरिएको छ, तर उनको किर्ते मुद्धा अझै टुंगिएको छैन । 
२०७४  चैत २८ गते सरकारले प्रकाश आर्याललाई आईजीपी नियुक्त गरेसँगै उक्त निर्णय बदरको माग गर्दै सर्वोच्च अदालत पुगेका सिलवालले प्रकाश अर्यालको भन्दा केही नम्बर थप गरिएको किर्ते कपी अदालतमा बुझाएका थिए ।
आर्थिक बर्ष २०६९/७० देखि ०७२/७३ समेत चार वर्षको आफ्नो र प्रकाश अर्यालको समेत कार्यसम्पादन मूल्यांकनको फोटोकपी अदालतमा बुझाएका सिलवालले आर्थिक बर्ष २०७२÷७३ को कासमु किर्ते गरेको कुरा प्रहरीको फरेन्सिक जाँचबाट पुष्टि भएको छ । ‘सिलवाल किर्ते प्रकरण’ को फाइल अहिले महान्यायाधिवक्ताको टेवुलको घर्रामा थन्किएको छ । 
           दिनदहाडै हाइप्रोफाइल मर्डर 
वर्ष २०७४ को बिर्सनै नसकिने घटना थियो, निर्माण व्यवसायी शरद गौचनको हत्या । असोज २३ गते काठमाडौंको बानेश्वरस्थित खरिबोट नजिकै गोली प्रहारबाट उनको हत्या भएको थियो ।  
गौचन हत्याको मुख्य योजनाकार गुण्डा नाइके समिरमानसिंह बस्नेत अथवा मनोज पुनमध्ये को थियो भन्नेबारे सुरुवाती चरणमा प्रहरीनै अन्योलमा थियो । पछि थाहा लाग्यो, गौचन हत्याका मुख्य योजनाकार समिरामानसिंह बस्नेत हुन् । भारतबाट पक्राउ गरेर ल्याइएका बस्नेत अहिले पुर्पक्षका लागि थुनामा छन् । सुटर मध्येका अमर राना ‘काले भाइ’ पक्राउ पर्न नसकेपनि गौचन हत्यामा संलग्न अन्य अभियुक्तहरु पक्राउ परिसकेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोका डीआईजी पुष्कर कार्कीले दिनदहाडै त्यसरी हाइप्रोफाइल मर्डरमा संलग्नलाई कारबाहीको दायरमा ल्याएका थिए । गौचन हत्याकाण्डको अनुसन्धान सफलतापूर्वक सम्पन्न गरेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले फेरि एक पटक आफूलाई अब्बल सावित गरेको छ । 
 

  मर्जरको मौका छोप्दै डेढ अर्ब घोटाला 
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेडसँग मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेपछि एपेक्स डेभलपमेन्ट बैंकका उच्च तहका कर्मचारी र सञ्चालहरुले डेढ अर्व घोटाला गरेको समाचार वर्षको अन्तिम महिनातिर सार्बजनिक भयो । 
कमसल धितो राखेर कृतिम ऋणीलाई कर्जा प्रवाह गर्ने तत्कालिन एपेक्स डेभलपमेन्ट बैंकका अध्यक्ष विष्णु धिताल सहित तेह्र उच्च अधिकारीलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्युरोले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

बैंक घोटामाला अध्यक्ष धिताल सहित संचालकहरु इच्छा बहादुर गुरुङ, सुवर्ण राज भण्डारी, मधुवन लाल श्रेष्ठ, निमित्त कार्यकारी अधिकृत ऋषी राज भट्ट,  बरिष्ठ प्रवन्धक दुर्गादत्त जोशी, सहायक महाप्रवन्धक रामचन्द्र बसौला, लोकन्थली शाखा प्रमुख सागर नेउपाने, शाखा प्रबन्धक मान बहादुर राउत, सहायक महाप्रवन्धक विनित मणि उपाध्याय, कर्जा अधिकृत मोहन खरेल र शाखा प्रबन्धक सुदिप थापाको नाम जोडियो । 

एनसीसी बैंकसँग २०७२ मंसिर दोस्रो साता मर्जरमा जाने सहमतिमा हस्ताक्षर गरेपछि मर्जरको फाइदा उठाउँदै तत्कालिन एपेक्स बैंकको दरबारमार्ग, लोकन्थली, इटहरी, सुर्खेत र नेपालगञ्ज शाखाहरुबाट उच्च अधिकारीको मिलेमतोमा अनियमित कर्जा प्रवाह भएको बताईएको छ । ब्युरोका अनुसार बैंकका जिम्मेवार अधिकारीहरुले भिरालो पाखोबारी तथा बाटो नपुगेको जग्गाको अधिक मूल्यांकन गरी कृतिम ऋणीहरुको नाममा समेत कर्जा प्रवाह गरेर बैंकलाई एक अर्ब पचास करोड ९६ लाख हानी पुर्याएका थिए ।

    मनाङमा चुनाव जितेपनि काठमाडौंमा आपत्त 

गुण्डा नाइके दीपक मनाङ्गे मनाङको प्रदेशसभा ‘ख’ बाट प्रदेश सभाको सांसदमा निर्वाचित भए । तर, आजसम्म उनले शपथ लिन पाएका छैनन्, बरु ‘प्रहरीले देख्ला की ?’ भनेर लुकीलुकी हिँड्न बाध्य भएका छन् । 
२०६१ सालमा गुण्डा नाइके चक्रे मिलनको हात काटेको अभियोगमा २०६९ साल साउन २८ गते तत्कालिन पुनरावेदन अदालत पाटनले ‘ज्यान मार्ने उद्योग’ मुद्दामा मनाङ्गेलाई पाँच बर्ष कैद सजाय तोकेको थियो । तर,लामो समय गुपचुप रहेको फैसला पाँच बर्षपछि माघ २ गते सार्वजनिक भयो । २०६१ सालमा गुण्डा नाइके चक्रे मिलन समूहसँग खुकुरी हानाहान हुँदा मनाङ्गे समुहले चक्रे मिलनको हात दुई टुक्रा पारिदिएको घटनामा पुनरावेदन अदालतले कैद सजाय गरेको फैसला सार्वजनिक भएसँगै फैसला कार्यान्वयन इकाइले मनाङ्गेलाई पक्राउ गर्न भन्दै प्रहरीलाई पत्राचार गरेको छ । 
नेकपा एमालेको समर्थनमा स्वतन्त्र उम्मेद्वारको रुपमा चुनाव जितेका मनाङ्गे संविधानको धारा १७८ बमोजिम फौजदारी कसुरमा दोषी ठहर भएका छन् । अहिले उनी भूमिगत छन्, प्रहरीले फेला पारेमा उनको हातमा अवश्य हत्कडी लाग्ने छ । 
 

      ‘मोस्ट वान्टेड’ सांसद जेलमा
‘टीकापुर हत्याकाण्ड’का फरार अभियुक्त रेशम चौधरीले नेपाल–भारत सीमानामा बसेर चिर्वाचन परिचालन मात्रै गरेनन्, विपक्षीलाई करीब २१ हजार मतान्तरले पछार्दै सिंहदरबारको यात्रा तय गरेका थिए । कैलाली–१ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित चौधरीले वाम गठबन्धनका उम्मेद्वार गरीमा शाहलाई पराजित गर्दै, विजयको सगरमाथा त चुमे, तर उनको सिंहदरबार जाने बाटोमा तगारो लागेको छ । 
२०७२ साल भदौ ७ गते कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहित ८ प्रहरी र एक नावालक हत्या अअियोग लागेका चौधरी त्यतिबेला देखिनै नेपाल प्रहरीको फरार अपराधीको सूचीमा थिए । चुनाव जितेपनि पक्राउ परेका चौधरी अहिले पुर्पक्षका लागि थुनामा रहेका छन् । 
थरुहट आन्दोलन उत्कर्षमा पुग्दै थियो, त्यस्तोमा २०७२ भदौ ७ गते नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी अधिकृतहरु कैलालीको मुनुवा–६ सिलम चौराहामा पुगेका थिए । 
सीमांकनको विरोधमा भएको आन्दालनका क्रममा त्यसदिन आन्दोलनकारीहरुले सरकारी कार्यालयहरुमा ‘थरुहट स्वायत्त प्रदेश’को बोर्ड राख्ने कार्यक्रम राखेका थिए । 
आन्दोलनकारीहरु निषेधाज्ञा तोडेर अघि बढेपछि प्रहरी र आन्दोलनकारीको बीचमा झडप शुरु भयो । करीब १० हजारको संख्यामा छुरा, भाला र बञ्चरो सहितका घरेलु हतियार बोकेका आन्दोनलका प्रहरीमाथि खनिए । त्यस्तोमा ‘भीडलाई सम्झाएरै निन्त्रणमा लिन सकिन्छ, दमन गर्नुहुँदैन’ भन्ने मान्यतका एसएसपी लक्ष्मण न्यौपाने सहितका प्रहरी अधिकृतहरु फिल्डमा थिए । आन्दोलनकारीको आक्रमणबाट एसएसी न्यौपाने, ईन्सपेक्टर बलराम विष्ट र केशब बोहोराको मृत्यु भयो । घटनामा प्रहरी जवान लक्ष्मण खड्का, लोकेन्द्र चन्द, सशस्त्र प्रहरीका हवल्दार रामबिहारी थारु, सहायक हवल्दार ललित साउद र दुई वर्षीय बालक टेकबहादुरको साउदको पनि गोलीको छर्रा लागेर मृत्यु हुन पुग्यो । दुई वर्षीय बालक टेक बहादुर हवल्दार नेत्र साउदको छोरा हुन् । प्रहरीले रेशमलाई यो हत्याकाण्डको मुख्य अभियुक्त किटान गर्दै अदालतमा मुद्धा दायर गरेको थियो । 
बर्ष २०७४ मा रेशम पनि चर्चाको शिखरमा रहेका थिए । प्रहरीले फरार अपराधि करार गरेपछि लुकिछिपी बस्दै आएका रेशम अन्तत सिंहदरबार हैन, जेलमा पुगेका छन् । 
 

     मनोज पुनको छातीमा दर्जन गोली 
गुण्डा नाइके मनोज पुन र उनका सहयोगी सोम आलेसँग जम्काभेट हुँदा २०७४ फागुन ९ गते प्रहरीले गोली चलाउनुपरेको बताएको छ । इन्काउन्टरमा मारिएका पुनको छातीमा देखिएको एक दर्जनभन्दा बढी गोलीको डोब हेर्दा जो कसैको मन सिरिंग हुन्थ्यो । 
रुपन्देहीको देवदह–४ भवानीपुरमा पुनको इन्काउन्टर भएसँगै रुपन्देही र त्यस आसपासमा हुने गरको फिरौती र हत्याको श्रृंखला अब अन्त्य भएको छ । 
२०७३ पुस पहिलो साता मनोजले रुपन्देहीका दुर्गा तिवारीको हत्या गरेका थिए । पछिल्लो समय गत पुस २१ गते रुपन्देहीकै बसन्त पौडेलको हत्यामा पनि मनोज पुनकै हात रहेको खुलेपछि मनोज केन्द्रीय अनुसन्धान ब्युरोको सर्वाधिक खोजी सूचीमा थिए । 


मनोज पुन भैरहवाको खैरेनीस्थित सुकुम्बासी बस्तिबाट उदाइएका गुण्डा हुन् । असोज २३ गते काठमाडौंका नयाँ बानेश्वरस्थित खरिबोटमा गौचनमाथि गोली प्रहार भएको केही मिनेटमै मनोज पुनले रुपन्देहीका व्यवसायीहरुलाई फोन गरेर ‘गौचनलाई मेरो केटाहरुले गोली हानेको हो, तिमीहरु पनि बिचार गर्नु !’ भनेर फोन गरेर धम्की दिएका थिए । 
२०७३ पुस पहिलो साता युवासंघ रुपन्देहीका अध्यक्ष दुर्गालाई हत्या गर्नुअघि करिब ९ महिनादेखि मनोज भारतमा बस्न थालेका थिए । दुर्गाको हत्या गरेपछि उनले आफू मलेशियामा बसेको दावी गर्दै भैरहवा र बुटवल तर धम्क्याएर असुल्ने काम तिब्र रुपमा शुरु गरेका थिए । 
काडमाडौंलाई बेस बनाएर गुण्डागर्दी गर्न नभ्याएपनि २०७३ चैत २९ गते अर्का गुण्डा नाईके दावा लामालाई काठमाडौंको गौरिघाटमा गोली हानेर उनले काठमाडौंको गुण्डाराज माथी धावा बोलिसकेका थिए । तर, उनले काठमाडौंमा गुण्डाराज गर्न त पाएनन् नै, प्रहरी इन्काउन्टरमा मारिएसँगै रुपन्देहीमा रहेको उनको दबदवाको श्रृङ्खला अन्त्य भएको छ । 
     रिलमा भिलेन, रियलमा मानव तस्कर 
द्वन्द्व निर्देशक राजेन्द्र खड्गी रियलमा खतरा भिलेनको रुपमा देखिन्छन्  । तर, उनी रियलमा मानव तस्कर रहेको खुलेपछि २०७४ माघमा परेका थिए । केन्द्रीय अनुसन्धान ब्युरोको हिरातसमा पुगेका खड्गीले दक्षिण कारियामा सांस्कृतिक कार्यक्रमको नाममा नेपालबाट युवा–युवती लगेर छाड्ने गरेको ब्युरोका निर्देशक पुष्कर कार्कीले बताएका छन् । 
प्रतिब्यक्ति १० देखि १५ लाख रुपैयाँ असुल गरेर रोजगारीका लागि आकर्षक गन्तब्य मानिएको दक्षिण कोरियामा मान्छे सप्लाई  गर्दै आएका खड्गीलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको छ । तर, उनको मुद्धा टुंगीएको छैन । उनी साच्चै मानव तस्कर हुन् या हैनन् भन्ने विषय अदालतको फैसलापछि प्रष्ट हुनेछ तर बर्ष २०७४ उनका लागि त्यती राम्रो सावित हुन् सकेन । किनकी उनले जिन्दगीभर कमाएको प्रतिष्ठा ‘मानव तस्करको अभियोग’ सँगै शंकाको दायरामा तानिएको छ । 

     सामूहिक बलात्कार प्रहरीभित्रै गूपचूप  
रक्षक नै भक्षक भएपछि के लाग्छ ? २०७४ माघमा त्यस्तै भयो । महानगरीय प्रहरी वृत्त दरबारमार्गका इन्सपेक्टर लक्ष्मण सिंह ठकुरीले ल्याण्डमार्क होटलमा भएको सामूहिक बलात्कार गुपचुपमा मिलाए । मुद्दा शाखाका सई चन्द्र भण्डारीसँगको मिलेमतोमा आर्थिक लाभ लिएर जघन्य अपराधको घटना गुपचुप राखेको खुलेपछि प्रहरी प्रधान कार्यालयले इन्सपेक्टर ठकुरी र सई भण्डारी दुवैलाई निलम्बन गरेको छ । 
बलात्कारमा संलग्न भएको आरोपमा रामेछापका शैलेश कार्की पक्राउ परेका छन् भने अन्य तीनजना अझै फरार छन् । माघ ७ गते राती आफ्नो केटा साथिले बोलाएपछि ल्याण्डमार्क होटल पुगेकी एक युवतीलाई कार्कीसहित विकास गौतम, रवि पौडेल र दीपक श्रेष्ठले सामूहिक बलात्कार गरेका थिए । 
घटनापछि बनेका  दुईओटा छानविन समितिको सिफारिसका आधारमा बृत्तका  प्रमुख (डिएसपी) तिलक भारती समेत महानगरीय प्रहरी परिसर काठमाडौंमा तानिए । 
     

      ‘टिके डाँका’को तहल्का 
काठमाडौं उपत्यकामा भएका श्रृङखलाबद्ध लुटपाट तथा डकैती मुद्धामा पटक–पटक जोडिने नाम हो, रामेछापका ‘टिके डाँका’ । २०७३ पुसमा कौशलटारस्थित बैंकबाट पैसा निकालेर गठ्ठाघरतर्फ जाँदै गरेकी मन्दिरा अधिकारीको ६ लाख नगद लुटेपछि महानगरीय अपराध महाशाखाले २०७४ पुस २६ गते टिकेलाई नियन्त्रणमा लिएर मुद्धा चलाएको थियो । 
डिल्लबजार कारागारमा रहेका टिका थापामगर माघ ४ गते मध्यराती गोलघरको जाली काटेर भागेका थिए । 
जेलबाट भागेका मगरलाई खोज्न निस्केको अपराध महाशाखाको प्रहरी टोलीसँग माघ १३ गते उनको चितवनमा जम्काभेट भएको थियो । 
प्रहरीले उनलाई देख्नासाथ गोली चलाए । प्रहरीको गोली छलेर भाग्ने क्रममा उनी घाइते भए । मोटरसाइलक चोरीमा नेपालमा एक नम्बरको चोरको रुपमा चिनिएका टिकेले जेलबाट भागेको दोस्रो दिन नै दुईओटा मोटरसाइकल चोरेको बताइएको छ । 
गोलघरको जाली काटेर टिका फारार भएपछि प्रहरीकै मिलेमतोमा कैदी भागेको हुनसक्ने भन्दै महानगरीय प्रहरी कार्यालय रानिपोखरीले ड्युटीमा रहेका प्रहरीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । 
              कसले खायो ३३ किलो सुन ? 
नेपालमा हुने सुन तस्करीमा पटक–पटक जोडिने नाम हो, चुडामणी उप्रेती । सुन तस्करीबारे नजिकबाट अनुसन्धान गरिरहेका प्रहरी अफिसरहरु उनलाई ‘गोरे’ उपनामले चिन्छन् । फागुन पहिलो साता तिनै ‘गोरे’ सहितका तस्करहरुले दुबईबाट ल्याएको ३३ किलो सुन हराएपछि मोरङको उर्लाबारी–७ का सनम शाक्यलाई यातना दिने क्रममा उनको मृत्यु भयो ।

गोरेको ३३ किलो सुन र सनम हत्याप्रकरणमा २१ भन्दा बढी मानिसहरु पक्राउ परिसकेका छन् । सनमलाई तस्करले मारिसकेपछि आर्थिक मोलाहिजा गरेर शव व्यवस्थापनमा भूमिका खेलेको आशंकामा गृह मन्त्रालयले अपराध महाशाखाका एसएसपी दिवेश लोही, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई जिम्मेवारीबाट हटाएको छ । 
सुन तस्करीको सेटिङमा संलग्न भनिएका प्रेमलाल चौधरीको महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रहस्यमय मृत्यु भएको छ । 
गृह मन्त्रालयका सह–सचिव ईश्वरराज पौडेलेको नेतृत्वमा बनेको समितिले घटनाबारे छानविन गरिरहेको छ । वर्ष २०७४ मा घटेको यो निकै ठुला घटना हो, यद्यपी ३३ किलो सुन प्रकरणको यथार्थ अझै बाहिर आइसकेको छैन । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

राजेश भण्डारी रातोपाटीका लागि क्राइम बिटका संवाददाता हुन् । उनी समसामयिक विषयमाथि पनि कलम चलाउँछन् । 

लेखकबाट थप