शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : गण्डकीलाई हराउन पुलिसले १७१ रन बनाउनुपर्ने

सोमबार, १५ माघ २०८०, १३ : ०५
सोमबार, १५ माघ २०८०

काठमाडौँ । हालसम्म आफूले खेलेका सबै खेल जित्ने एकमात्र टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा गण्डकी प्रदेशलाई हराउन एक सय ७१ रन बनाउनुपर्ने भएको छ ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ३८.३ ओभरमा अलआउट हुनुअघि एकसय ७० रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयमा सुरु नभएपछि खेल ४५–४५ ओभरमा झारिएको छ ।

गण्डकी प्रदेशका माथिल्लो क्रमका ब्याट्सम्यानहरु खासै प्रभावकारी देखिएनन् । तल्लो क्रमका ब्याट्सम्यान अमृत गुरुङले टोलीका लागि अर्धशतकीय पाली खेले । नवौँ नम्बरमा क्रिज समाल्न आएका उनले ५० रन बनाए । उनले केवल ३९ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काएका थिए ।

गण्डकी प्रदेशका लागि ओपनर ब्याट्सम्यान समिर कँडेलले २९ रन बनाए । विकेटकिपर ब्याट्सम्यान समिरले ५९ बलमा चार चौका हिर्काए । अर्का ओपनर इश्वर क्षेत्री भने दुई रनमै पेभेलियन फर्किए । मुस्कान थापा पनि दुई रनभन्दा अगाडि बढ्न सकेनन् ।

चौथो नम्बरमा क्रिज समाल्न आएका करण पंगेनीले टोलीको खातामा ३० रन थपे । उनले ५४ बलको सामना गरी एक छक्का र तीन चौका पनि हिर्काए । कृष ऐयर १० रन बनाउँदै आउट भए । रोशन गौतमले त खातासम्म खोल्न सकेनन् ।

कमल परियारले टोलीको खातामा ३० रन थपे । उनले केवल २६ बलको सामना गरी दुई छक्का र तीन चौका पनि हिर्काए । कप्तान बिपिन खत्री चार रन बनाउँदै आउट भए । चन्द्र पौडेल पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।

सन्दीप पराजुलीले अविजित दुई रन बटुले । गण्डकी प्रदेशले अतिरिक्त रुपमा आठ रन पायो । पुलिस क्लबका बलर रासिद खान एक्लैले पाँच विकेट लिए । उनले ६ ओभरमा २५ रन खर्चिएका थिए । ललित राजवंशीले पनि दुई विकेट हात पारे । करण केसीले दुई विकेट लिए । दीपेन्द्रसिंह ऐरीले एक विकेट कुम्ल्याए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप