बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

बिनोद र बसिरको उत्कृष्ट ब्याटिङसँगै आर्मीको पाँचौँ जित, कर्णालीको पाँचौँ हार

आइतबार, १४ माघ २०८०, १५ : १७
आइतबार, १४ माघ २०८०

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइबार खेलिएको खेलमा कर्णाली प्रदेशलाई एक सय ६४ रनको विशाल अन्तरले पराजित गरेको छ ।

जारी प्रतियोगितामा हालसम्म सात खेल खेलेको आर्मी क्लबको यो पाँचौँ जित हो । दुई खेलमा आर्मी क्लब पराजित भएको छ । आठौँ खेल खेलेको कर्णाली प्रदेशको भने यो पाँचौँ हार हो । तीन खेलमा भने कर्णाली प्रदेशले सफलता हात पारेको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित ५० ओभरमा पाँच विकेट गुमाएर दुई सय ७९ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले भने २९ ओभरमै अलआउट हुनुअघि एक सय १५ रनमात्र बनाउन सक्यो  ।

विशाल लक्ष्य पछ्याएको कर्णाली प्रदेशका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कर्णाली प्रदेशका लागि हिमांशु शाहीले सर्वाधिक १९ रन बनाए । दिवान पुनले १८ रन बटुले । बिपिन शाही १४ रन बनाउँदै आउट भए भने कप्तान रविन्द्र शाही पनि १२ रनभन्दा अगाडि बढ्न सकेनन् ।

ओपनर निश्चल रावल पनि १२ रन बनाउँदै पेभेलियन फर्किए । दीपेन्द्र रावतले पनि १२ रनमात्र बनाउन सके । प्रकाश जैसी नौ रनमा आउट भए भने दिनेश अधिकारीले पनि नौ रन जोडे । कर्णाली प्रदेशले अतिरिक्त रुपमा आठ रन पाएको थियो ।

आर्मी क्लबका बलर कुशल मल्ल र बिवेक यादबले तीन–तीन विकेट लिए । बिवेकले ६ ओभरमा दुई मेडन राख्दै २५ र कुशलले सात ओभरमा एक मेडन राख्दै २० रन खर्चिए । सोमपाल कामीले पनि दुई विकेट हात पारे । साहब आलमले एक विकेट लिए ।

त्यसअघि चौथो नम्बरमा क्रिज समाल्न आएका कप्तान विनोद भण्डारी र सातौँ नम्बरका ब्याट्सम्यान बसिर अहमदको उत्कृष्ट ब्याटिङसँगै आर्मी क्लबले कर्णाली प्रदेशलाई विशाल लक्ष्य दिएको थियो । विनोद र बसिर अहमदले एक सय ६९ रनको साझेदारी गरेका थिए ।

कप्तान भण्डारीले शतकीय पाली खेले । विनोदले अविजित एक सय रन बनाए । उनले एक सय ३२ बलको सामना गरी तीन छक्का र ६ चौका पनि हिर्काए । उनले अन्तिम ओभरको अन्तिम बलमा शतक पुरा गरेका थिए ।

यसैगरी बसिर अहमदले पनि टोलीका लागि उत्कृष्ट अर्धशतकीय पाली खेले । उनले अविजित ९८ रन बनाए । केवल दुई रनका कारण शतक पुरा गर्नबाट चुकेका बसिर अहमदले ९२ बलको सामना गरी एक छक्का र १२ वटा चौका हिर्काएका थिए ।

भीम सार्कीले पनि २५ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान भीमले ३५ बलमा तीन चौका पनि हिर्काए । ओपनर सन्तोष कार्की भने ११ रन बनाउँदै पेभेलियन फर्किए । अर्का ओपनर इमरान शेख पनि पाँच रनभन्दा अगाडि बढ्न सकेनन् ।

बिवेक यादब ६ रन बनाउँदै आउट भए । कुशल मल्लले टोलीको खातामा २१ रन थपे । उनले १८ बलमा दुई छक्का पनि हिर्काए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दीपेन्द्र रावतले दुई तथा प्रकाश जैसी, दिनेश अधिकारी र दिवान पुनले एक–एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप