‘भारत रंग महोत्सव’ मा नेपालको ‘क्लेशाः’ मञ्चन हुने
काठमाडौँ । २३ औँ भारत रंग महोत्सवमा नेपाली नाटक ‘क्लेशाः’ छनौट भएको छ । विश्वको प्रतिष्ठित नाट्य महोत्सवमध्ये एक ‘भारत रंग महोत्सव’ मा यसपटक नेपालको एकमात्र नाटक छनौटमा परेको निर्देशक विजया कार्कीले जानकारी दिइन् । ‘करमन कलाको प्रस्तुति नाटक ‘क्लेशाः’ सहभागी हुँदै गरेको खबर बाँड्न पाउँदा हामी अत्यन्तै खुशी छौँ’ निर्देशक कार्कीले थपिन् ।
प्रतीक्षा कट्टेलको लेखन र विजया कार्कीको परिकल्पना तथा निर्देशनको नाटक ‘क्लेशाः’ २३ औँ भारत रंग महोत्सवमा आउँदो फेब्रुअरी १७ र १९ सम्म मञ्चन हुनेछ । सो नाटक महोत्सवमा सन् २०२२ को लागि छानिएको थियो । तर कोभिडका कारण त्यस समय महोत्सव हुन सकेन । महोत्सव अन्तर्गत नेपाली नाटक ‘क्लेशाः’ को नयाँ दिल्ली र रामनगरमा गरी दुई मञ्चन हुनेछ ।
भारतको नाट्य प्रज्ञा प्रतिष्ठानको मातहत रहेको राष्ट्रिय नाट्य विद्यालय (एनएसडी)ले वार्षिक रूपमा आयोजना गर्ने भारत रंग महोत्सव यसवर्ष फेब्रुअरी १ देखि हुँदैछ । सन् १९९९ बाट सुरु भएको महोत्सवमा यसअघि सुनिल पोखरेल, अनुप बराल, विमल सुवेदी लगायत एनएसडीबाट प्रशिक्षित नेपाली रंगकर्मीहरुलगायत अन्य रङ्गकर्मीहरूले धेरैपटक सहभागिता जनाइसकेको छ ।
फेब्रअरी १ देखि २६ सम्म हुने महोत्सवमा यसवर्ष भारतको ५९ वटा नाटक, रुसको एक नाटक र २ लोकनाटक छनोट भएको छ । २०२२ का लागि छानिएको नाटकमध्ये समावेश केही नाटकमा ‘क्लेशाः’ परेको हो ।
केही वर्षअघि नेपालमा नियमित मञ्चन भएको यस नाटक भारत रंग महोत्सवका लागि प्रस्थान गर्नुअघि नेपालमा विशेष मञ्चन समेत हुनेछ । माघ २९ गते साँझ ५ बजे र फागुन १ गते दिउँसो १२ र साँझ ५ बजे नाटक ‘क्लेशाः’को मण्डला थिएटरमा विशेष मञ्चन हुनेछ । २०७६ सालमा २४ मञ्चन भएको यस नाटकको नेपालमा यसपटक विशेष तीन मञ्चन हुनेछ ।
करमन कला समूहको प्रस्तुति रहेको नाटकमा सरिता गिरी, सुरक्षा पन्त, कुशल पाण्डे, सुदीप खतिवडा, विजय बराल, विकास जोशी, रोशनी कार्की, स्वप्निल घिमिरे, सन्दिप श्रेष्ठ, संयोग गुरागाईं, मिलन कार्की, सुजन खतिवडा, सविना थापा र रुजा राउतको अभिनय रहेको छ । कलाकार सुरक्षा पन्तले नाटक ‘क्लेशाः’ बाट थिएटर डेब्यु गरेकी थिइन् ।
त्यस्तै नाटकको महोत्सव टिममा निर्देशक कार्कीसँगै विभिन्न प्राविधिक भूमिकासहित रिजन परियार, उमेश तामाङ, अनुप न्यौपाने, रूपक खरेल र केदार श्रेष्ठ छन् । ‘क्लेशाः’ टोली अहिले नाटकको नियमित अभ्यासमा छ ।
नाटक ‘क्लेशाः’ को मुख्य स्रोत रामायण हो । ‘क्लेशाः’ ले ऋषि वाल्मीकिको कहानीलाई विशुद्ध समसामयिक रूपमा प्रस्तुत गर्ने प्रयास गरिएको छ । कुनै धार्मिक धागोले नबेरिकन, एउटा पुनर्परिभाषित, पुनर्रचित साहित्यको रूपमा नाटकलाई प्रस्तुत गरिएको छ । क्लेशाः का पाँच तत्त्वहरू अज्ञानता, अहङ्कार, मोह, विच्छेद र डरको दार्शनिक पृष्ठभूमिसहित नेपालको एक दुर्गम गाउँमा पञ्चायती व्यवस्थाको सामाजिक र सांस्कृतिक परिवेश नाटकमा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास