सोमबार, १० मङ्सिर २०८१
ताजा लोकप्रिय
उत्पादन

हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित

आइतबार, १४ माघ २०८०, ११ : ५४
आइतबार, १४ माघ २०८०

काठमाडौँ । हिउँ नपरेपछि हिमाली भेगका किसान चिन्तित बनेका छन् । हिउँ नपर्दा सिँचाइको समस्या भएर स्याउको बोट सार्न समस्या हुने, स्याउ र ओखरको फूल नलाग्ने,  रोग र किराको सङ्क्रमण बढ्ने, दाना राम्रो नहुनेजस्ता समस्याहरू देखापर्छन् । यसका साथै पशुचौपायाका लागि घाँस उपलब्ध नहुनेलगायत समस्या हुने भएकाले किसान चिन्तित भएका हुन् । 

गत वर्ष माघको पहिलो साता हिउँ परेको थियो । तर यो वर्ष माघ दोस्रो हप्ता भइसक्दा पनि हिउँ नपरेको मुगुको छायानाथ रारा नगरपालिका वडा नं ५ की कृषक अनिता खड्का रोकायाले बताइन् ।  यो वर्ष हिउँ नपर्दा स्याउ बारी सुख्खा भएको उनले सुनाइन् । 

अनिताका अनुसार हिउँ नपरेपछि यो वर्ष स्याउ खेती विस्तार गर्न समस्या हुने देखिएको छ । ‘हिउँ पर्‍यो भने स्याउको बोट सार्दा ९५ प्रतिशत सफल हुन्छ,’ उनले भनिन् । उनले गत वर्ष तीन सय स्याउको बोट सारेकी थिइन् । यो वर्ष उनले आठ सय बोट सार्ने योजना बनाएकी छन् तर हिउँ नपरेका कारणले समस्या भइरहेको उनले बताइन् ।

‘बोट सार्नका लागि खाल्डो खन्दैछौँ,’ उनले भनिन्, ‘हिउँ परेपछि एकै पटक नपग्लेर एकदेखि साढे एक महिनासम्म बिस्तारै हिउँ पग्लन्छ । यसले स्याउको बिरुवामा सिँचाइ गर्नुपर्दैन । यो वर्ष हिउँ परेन भने सिँचाइ गर्न समस्या हुन्छ ।’

उनले हिउँ नपर्दा स्याउ खेतमा पानी कम भएर फूल झर्ने, स्याउका दाना राम्रो नलाग्ने र रोग, किराको सङ्क्रमण बढ्ने सुनाइन् । अनिताले तीन हेक्टर क्षेत्रफलमा स्याउ खेती गर्दै आएकी छन् । उनले वार्षिक २ मेट्रिक टनसम्म स्याउ उत्पादन गर्छिन् । 

यता मनास्लु संरक्षण क्षेत्रका आयोजनाका प्रमुख सन्तोष शेरचनले पनि हिउँ नपर्दा हिमाली भेगको खेतीपाती, पशुपालनमा नकारात्मक असर परेको सुनाए । ‘यो आलु, स्याउ, ओखर लगाउने सिजन हो,’ उनले भने, ‘हिउँ नपर्दा सिँचाइका लागि समस्या हुन्छ । यसले उत्पादनदेखि बजारीकरणमा प्रत्यक्ष असर पर्छ ।’

हिउँ नपर्दा पानीको मुहान सुकेर बस्ती पनि सर्ने स्थिति भएको शेरचनले सुनाए । ‘विशेष गरेर अपर मुस्ताङका बस्तीहरू सरेका छन्,’ उनले भने, ‘कृषि, पर्यटन, वन्यजन्तु लगायत सबैतिर असर परेको छ ।’

नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारणले हिउँ कम पर्ने कि धेरै पर्ने देखिएको छ । पृथ्वीको तापमान १ डिग्री सेल्सियसले बढेको पाइएको छ । सन् २०४० सम्ममा विश्वको औसत तापक्रम १  दशमलव ५ डिग्री सेल्सियसले बढ्ने अनुमान छ । हाल पृथ्वीको औसत तापमान १ दशमलव २ डिग्रीले वृद्धि भइसकेको जलवायु विश्लेषक मन्जित ढकाल बताउँछन् ।

उनका अनुसार बेमौसममा हिमपात, बेमौसममा झरी पर्नाले बाली बिरुवामा नयाँ–नयाँ रोग आउने र किरा पनि देखिने गरेका छन् । ‘अहिले ठाउँ नै सिफ्ट भइसकेको छ, पहिला खेती हुने क्षेत्रमा खेती नहुने देखिएको छ,’ उनले रातोपाटीसँग भने ।

हिमाली क्षेत्रमा पशुपालनको क्षेत्र बसाइसराइ हुन्छ । वर्षा र हिउँदको पशुचरण क्षेत्र फरक–फरक हुने उनले सुनाए । ‘समयमा हिउँ परेन भने गाईवस्तुले घाँस खाँदा एकदमै सुख्खा हुन्छ,’ उनले भने, ‘पशुचौपायाले घाँस खाँदाखेरी केही मुखमा पर्ने केही उडेर जाने हुन्छ, त्यसकारण पशु आहारमा पनि समस्या देखिन्छ ।’

नेपालमा पछिल्लो समय जलवायु परिवर्तनका कारणले हिउँ कम पर्ने कि धेरै पर्ने देखिएको छ । पृथ्वीको तापमान १ डिग्री सेल्सियसले बढेको पाइएको छ । सन् २०४० सम्ममा विश्वको औसत तापक्रम १  दशमलव ५ डिग्री सेल्सियसले बढ्ने अनुमान छ । हाल पृथ्वीको औसत तापमान १ दशमलव २ डिग्रीले वृद्धि भइसकेको जलवायु विश्लेषक मन्जित ढकाल बताउँछन् । विश्वको औसतमा तापमान १ दशमलव ५ ले वृद्धि हुँदा हिमालको एक तिहाइ हिउँ अर्थात् ३६ प्रतिशत हिउँ पग्लिने खतरा रहेको उनको भनाई छ । 

नेपालको उच्च हिमाली क्षेत्रमा स्याउ, नासपती र ओखर फलको खेती बढी हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ हजार ८ सय १३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ । सो क्षेत्रफलबाट ५२ हजार ७ सय ५३ मेट्रिक टन स्याउ उत्पादन भएको छ । 

जलवायु परिवर्तनका कारणले कृषि, आर्थिक, सामाजिक र मानवीय क्षेत्रमा क्षति पुर्‍याउने देखिन्छ । ‘जलवायु परिवर्तनले वायुमण्डल तताएर हिउँ पर्ने कुरामा असर परेको अनुमान गर्न सकिन्छ,’ उनले भने, ‘तापमान बढेर हिउँ बन्नका लागि आवश्यक पर्ने तापमान नहुनाले नै हिउँ पर्न नसकेको हो ।’

यो वर्षको हिउँदको केही साताहरूमात्र बाँकी रहँदा पनि पानी र हिउँ पर्न सकेको छैन । यसले हिउँदे बालीको उत्पादनमा असर पर्ने देखिएको छ भने वायु प्रदूषण पनि उत्तिकै बढेको छ । ‘डिसेम्बर, जनवरी र फेब्रुअरी तीन महिनामा तापक्रम घटेर हिउँ पर्ने हुन्छ,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् चिरञ्जीवी भेटवालले भने, ‘यो वर्ष गत वर्षको तुलनामा हिउँ र पानी केही मात्रामा कम परेको छ, तर अझै हिउँ पर्ने सम्भावना छ ।’ 

हिउँदे फलफूल उत्पादन कति ?
नेपालको उच्च हिमाली क्षेत्रमा स्याउ, नासपती र ओखर फलको खेती बढी हुन्छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार देशभर १३ हजार ८ सय १३ हेक्टर क्षेत्रफलमा स्याउ खेती गरिन्छ । सो क्षेत्रफलबाट ५२ हजार ७ सय ५३ मेट्रिक टन स्याउ उत्पादन भएको छ । 

यस्तै देशभर ३ हजार ८ सय ९६ हेक्टर क्षेत्रफलमा नासपती खेती हुन्छ । त्यहाँ २५ हजार ६ सय २२ मेट्रिक टन उत्पादन हुने गर्छ । यस्तै, देशभरका हिमाली भेगमा ५ हजार ९ सय ८८ हेक्टर क्षेत्रफलमा ओखर खेती हुँदा १० हजार ८ सय ९५ मेट्रिक टन उत्पादन हुने मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ । 

मन्त्रालयका अनुसार देशभरका हिमाली भागमा याक, चौरीको सङ्ख्या ६२ हजार ५ सय ६१ छ । यी पाशुचौपाया हिमाली भेगमा पाल्ने गरिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप