सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय

कोशीको घटनाले गठबन्धन टुटाउँदैन, पार्टीले छानबिन गर्नुपर्छ : उदयशमशेर जबरा

शनिबार, १३ माघ २०८०, १८ : ०१
शनिबार, १३ माघ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता तथा सांसद उदयशमशेर जबराले कोशीको घट्नाले अहिलेको सत्ता गठबन्धन नभत्किने दाबी गरेका छन् । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कारमा उनले भने,‘गठबन्धनमा कोशी प्रदेशमा केही समस्या आएको हो । यसले गठबन्धन टुटाउँदैन । कोशीमा मात्रै समस्या देखिएको छ, अरू ६ प्रदेशमा क्लिन–इलेक्शन भएको छ । कोशी प्रदेशमा अत्यन्तै बढी राजनीतिक अस्थिरताको खेल भएको छ । यो राष्ट्रिय राजनीति भन्दा पनि प्रदेश राजनीतिको ह्याङओभर हो । हाम्रो पार्टीले यसमा छानबिन गर्नुपर्ने हुन्छ । यो कारणले गठबन्धन टुट्दैन ।’

जबराले अर्को निर्वाचन नआएसम्म सत्ता गठबन्धन कायम रहने दाबी गरे । उनले राष्ट्रियसभाको अध्यक्षमा कांग्रेसको दाबी हुने सुनाए । उनले भने,‘यसबारे सहमति भएको वा नभएको भन्ने कुरा शीर्ष नेताहरूबिचको कुरा होला, तर मैले पाएको सूचनाअनुसार राष्ट्रियसभाको अध्यक्ष कांग्रेसको भागमा परेको छ ।’ उनले नेपालमा राजनीतिक स्थायित्वको खडेरीले गर्दा विकास निर्माणका कार्यहरू अवरुद्ध भएको टिप्पणी गरे । उनले नेपालमा सरकार मात्रै नभएर नीति, नियमहरू पनि अस्थिर हुनु दुःखद भएको बताए । 

यता जनता समाजवादी पार्टीका नेता तथा सांसद राजकिशोर यादवले पनि राष्ट्रियसभाको निर्वाचनमा कोशी प्रदेशको नतिजाको कारण सत्ता गठबन्धन नटुट्ने दाबी गरेका छन् । उनले भने,‘अहिलेको गठबन्धन मुलुकमा देखापरेका समस्या समाधान गर्ने गरि निर्माण भएको हो । कोशीको राष्ट्रियसभाको निर्वाचनमा जुनप्रकारको समस्या देखियो, त्यही समस्याको कारण गठबन्धन टुट्छ भन्ने चर्चा छ । यसले गठबन्धनमा खासै असर पार्दैन् । तर, यसले एउटा विमर्शको आवश्यकता महसुस गराएको छ । के÷कति कारणले त्यहाँ दुर्घटना भयो ? सम्बन्धित दलका नेतृत्वले समयमै समाधान गर्नुपर्छ ।’

बोल्दै यादवले केन्द्रीय नेताहरूको तहमा भएको सहमति पालना नहुनु दुःखद भएको टिप्पणी गरे । उनले भने,‘यसले गठबन्धनभित्र आपसमा अविश्वास पैदा गर्छ । अर्को भनेको वैचारिक र सैद्धान्तिक रूपमा प्रष्टीकरण ल्याउँछ । नेतृत्व तहमा एक प्रकारको सहमति भइसकेपछि त्यसलाई इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्दथ्यो । तर, विचलन देखियो । दीर्घकालीन रूपमा असर गर्छ । त्यहाँबाट अविश्वासको बीजारोपण भएको छ । यसलाई समयमै सबै मिलेर समाधान गर्नुपर्छ । गठबन्धनको स्वास्थ्यको लागि राम्रो हुँदैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप