‘प्रचण्डपछिको प्रधानमन्त्री माधव नेपाल नै हो’
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का प्रभावशाली नेता सोमप्रसाद पाण्डेले अबको एक वर्षपछि माधव कुमार नेपाल प्रधानमन्त्री बन्ने दाबी गरेका छन् । २०७९ पुस १० गते भङ्ग भएको गठबन्धन जोडिँदाको जेन्टलमेन्ट एग्रिमेन्ट अनुसार प्रचण्डपछि माधव नेपाल र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने उनले बताए । उक्त जेन्टलमेन्ट एग्रिमेन्ट लागू हुने र अबको एक वर्षभित्र माधव नेपाल प्रधानमन्त्री भइछाड्ने उनको दाबी छ ।
‘यसमा कुनै दुविधा छैन । जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ । २०७९ साल पुस १० गते भत्किसकेको गठबन्धनलाई फेरि जोड्ने काम गर्यौँ,’ उनले भने, ‘पहिलो कार्यकाल नेकपा (माओवादी) ले दुई वर्ष, त्यसपछि नेकपा (एकीकृत समाजवादी) ले गर्ने र त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने हाम्रो सहमति छ । अब माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ । त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री बन्नुहुन्छ ।’
शनिबार रिपोटर्स क्लबमा आयोजित कार्यक्रममा बोल्दे उनले कोशीको कारणले गठबन्धनमा कुनै पनि प्रकारको फेरबदल नआउने बताए । ‘म स्पष्टसँग भन्छु– यो गठबन्धन अब बाँकी रहेको चार वर्ष अवधि टुट्दैन । गठबन्धनमै सरकार चल्छ र यो देश अगाडि बढ्छ,’ उनले भने ।
राष्ट्रिय सभा सदस्य निर्वाचनमा कोशीको परिणामलाई लिएर सत्तारुढ गठबन्धनमा केही अविश्वास भने पैदा भएको उनले बताए । साथै, कांग्रेसबाट यस्ता प्रकारका घात पहिला पनि भएको उनको आरोप छ । उनले २०७९ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा आफूलाई कांग्रेसले नै हराएको दाबी गरे । उनले कांग्रेस पार्टीका नेताहरू आफ्नै नेताहरुलाई समेत हराउन लागि पर्ने प्रवृत्तिका रहेको बताउँदै गठबन्धन दलका उम्मेदवार हराउन लागिपर्नुलाई नौलो मान्न नहुने बताए ।
जनतामा पुराना पार्टीप्रति वितृष्णा आउनुको पहिलो कारक कांग्रेस र उसका गतिविधि रहेकोसमेत उनले टिप्पणी गरे । २०७९ मा प्रतिनिधि सभाको निर्वाचन भएर गठबन्धनको सरकार बन्दै गर्दा संवैधानिक परिषद्मा नेकपा (एस) सहभागिता शून्य भएको विषयमा छलफल हुँदा आफूहरूलाई राष्ट्रिय सभाको अध्यक्ष दिने भन्ने छलफल भएको उनले खुलासा गरे । अहिले कुन पार्टीबाट कसलाई राष्ट्रिय सभा अध्यक्ष बनाउने भन्ने निर्णय नभइसके पनि सर्वसम्मत राष्ट्रिय सभा अध्यक्ष चुनिने उनको दाबी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यादेशको प्रतिरक्षा गर्न एमाले सांसदहरूलाई प्रशिक्षण
-
कांग्रेसको प्रदेश समन्वय विभागमा १० सदस्य मनोनीत
-
मध्यपहाडी लोकमार्गले सुगम बन्दै तेह्रथुम
-
गृहमन्त्रीले भने, ‘सशस्त्रका जवानलाई १६ वर्षमा अवकाश दिने गरी कानुन बन्दैछ’
-
सिमेन्टमा भएको मूल्यवृद्धि तत्काल नियन्त्रण गर्न समितिको निर्देशन
-
आयरल्यान्डसँग स्तब्ध हुँदै उपाधि होडबाट बाहिरियो पाकिस्तान