शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

वायु प्रदूषणबाट कसरी हुन्छ छातीमा सङ्क्रमण ?

शनिबार, १३ माघ २०८०, १३ : ५६
शनिबार, १३ माघ २०८०

काठमाडौँ । वायु प्रदूषण दिनप्रतिदिन बढ्दै गएको छ । यसले प्रत्यक्षरुपमा फोक्सो र श्वासनलीमा असर गर्छ । फोक्सो मात्रै नभई प्रदूषित वायुले साना–साना रक्तनलीहरुमा पनि असर गर्छ । 

वायुको २.५ पीएम (पार्टिकुलेट म्याटर) भनिने सूक्ष्म कणहरू मानिसको कपालभन्दा २० गुणा सानो हुन्छ । यिनीहरूले फोक्सोको प्राकृतिक प्रतिरक्षा संयन्त्रलाई छलेर फोक्सोमार्फत रक्तनलीहरूमा पनि असर पुर्‍याउँछन् । 

२.५ पीएमभन्दा साना कण, वायुमा रहेका हानिकारक पदार्थहरू रक्तनलीहरुमा प्रवेश गर्दछन् । यिनीहरूले रक्तनलीहरु साँघुरो गराएर दीर्घाकालीनरुपमा उच्च रक्तचाप बढाउँछन् भने हृदयाघात, पक्षघातजस्ता समस्या पनि हुनसक्छ । अल्पकालीन रूपमा श्वास नलीमा एलर्जी गरेर श्वासनली साँघुरो हुने र श्वास प्रवाहमा समस्या आएर दम रोगको सुरुवात हुन्छ । त्यस्तै रुघाखोकी लाग्नेजस्ता समस्याहरू पनि आउँछन् ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपालमा श्वासप्रश्वासका समस्याका कारणले प्रत्येक १० जनामध्ये एक जनाको मृत्यु हुन्छ । दीर्घकालीन रूपमा छालामा समस्या पार्ने, चाउरी पर्ने हुन्छ । यसका साथै कपाल झर्नेदेखि मानसिक स्वास्थ्यमा समेत समस्या हुन्छ । वायु प्रदूषणले पाचन प्रणालीमा असर गर्नुका साथै अल्सरको समस्या दीर्घकालीन रूपमा निम्ताउँछ । 

पछिल्लो समय धूम्रपान नगर्ने व्यक्तिमा पनि क्यान्सर भएको पाइएको छ । यसको प्रमुख कारकतत्त्व वायु प्रदूषण पनि हो । किनकि वायु प्रदूषण एक सयमध्ये ७० भन्दा बढी पदार्थहरू क्यान्सरजन्य छन् । जस्तै सल्फर डाइअक्साइड, जिङ्क अक्साइड, मिथेन लगायत ७० भन्दा बढी पदार्थहरूले मानिसमा दीर्घकालीन रूपमा क्यान्सर गराउँछन् । 

जाडो मौसममा वायु प्रदूषणको जोखिम झनै हुन्छ । विश्वको मुख्य १० प्रदूषित सहरमध्ये काठमाडौँ पनि एक हो । यहाँ बढ्दो सहरीकरण, निर्माण कार्य, पुराना इन्जिनबाट कार्बडाइअक्साइड, उद्योगबाट निस्कने कालो धुवाँले श्वासप्रश्वासको रोग बढाएको छ । 

  • कसरी जोगिने ?

हामीले मास्कको अनिवार्य प्रयोग र भिडभाडमा ननिस्कने लगायत स्वास्थ्यका मापदण्डहरू अनिवार्य पालन गर्नुपर्छ । मिर्गौला, कलेजो, क्यान्सर, दमलगायतका दीर्घ रोगका बिरामीले नियमितरुपमा औषधि सेवन गर्नुपर्छ ।

कोठादेखि टोलको वातावरण सरसफाइमा ध्यान दिनुपर्दछ । फोहोर फाल्ने ठाउँ व्यवस्थापन गर्नुपर्दछ । स्थानीय स्तर, संघीय स्तर, केन्द्र स्तरमा हरियाली विकास गर्ने जस्ता योजनाहरू ल्याउनुपर्दछ । सवारी साधनका पुराना इन्जिनहरुलाई प्रतिस्थापन तथा मर्मत गर्नुपर्छ । कलकारखानालाई आधुनिक कलकारखाना बनाउनेतर्फ अग्रसर हुनुपर्छ ।

छाती रोग विशेषज्ञ डा. नीरज बमसँगको कुराकानीमा आधारित

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप