लगानी सम्मेलनको पूर्व तयारीमा जुट्यो लगानी बोर्ड, भारतको केपीएमजीसँग गर्यो छलफल
काठमाडौँ । लगानी बोर्डको कार्यालयले केपीएमजी इन इन्डियासँगको सहकार्यमा ‘नेपालको लगानी सम्भावना उजागर गर्न आर्थिक विस्तारका सहयोगी रणनीति’ विषयक कार्यशाला गोष्ठी आयोजना गरेको छ । यो कार्यक्रम २०८१ वैशाख १६ र १७ गते काठमाडौँमा आयोजना हुने तेस्रो लगानी सम्मेलनको तयारी स्वरूप आयोजना गरिएको बोर्डले जानकारी दिएको छ ।
कार्यशालामा नेपालमा लगानीको वातावरण सुधारका लागि कानुनी, प्रक्रियागत तथा नियामकीय सुधार एवं विदेशी लगानी समेत निजी लगानी आकर्षित गर्न नवप्रवर्तनमा आधारित पहलहरूका विषयमा छलफल भयो । यस्तै, सफलतापूर्वक सम्मेलन आयोजना गर्ने सम्बन्धमा नीति निर्माता, निजी क्षेत्र, विकास साझेदार तथा विज्ञबिच छलफल भएको थियो ।
उक्त कार्यशालालाई सम्बोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका हरेक क्षेत्रमा अथाह सम्भावना उजागर हुन बाँकी रहेको उल्लेख गर्दै थप लगानी आवश्यक रहेको बताए । अहिले हरित अर्थतन्त्र र लगानी अधिक प्रचलनको शब्दावली रहेको सन्दर्भमा नेपाल उत्तम लगानीको गन्तव्य भएको मन्त्री महतले बताए । ‘नेपालले आफूले कार्बन उत्सर्जन न्यून गर्नेमात्र नभई स्वच्छ ऊर्जाको माध्यमबाट क्षेत्रीय रूपमा नै कार्बन उत्सर्जन न्यूनीकरण गर्न सघाउँछ,’ उनले भने । नेपालमा पर्यटन, कृषि व्यवसाय तथा सूचना प्रविधिको क्षेत्रमा गरिने लगानीले राम्रो प्रतिफल दिने मन्त्री महतको भनाइ छ ।
त्यस्तै राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले आर्थिक वृद्धिको दिगोपना र स्थायित्व एवं समावेशी आर्थिक विकासले मात्र नेपालको विकासशील राष्ट्रमा स्तरोन्नति दिगो हुने धारणा राखे । मुख्यसचिव डा. वैकुण्ठ अर्यालले नेपालमा लगानी गरिरहेका लगानीकर्ताको चासोमा तत्काल गरिने सम्बोधन र सहजीकरणले विश्वका अन्य लगानीकर्तामाझ सकारात्मक सन्देश प्रवाह गर्न सफल हुने बताए । उनले लगानी सम्मेलनको तयारीका सम्बन्धमा पनि प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले तेस्रो लगानी सम्मेलन २०२४ ले सम्भावित र सक्षम लगानीकर्तालाई लगानीका अवसर प्रदान गर्ने बताए । सरकारले गम्भीरतापूर्वक यस राष्ट्रिय सम्मेलन अघि लगानी सम्बन्धी कानुनहरूमा पुनरावलोकन गरी कनेक्टिभिटी रणनीतिक पूर्वाधार तथा पर्यटन, आइसिटी, उत्पादनमूलक उद्योगहरूमा लगानी आकर्षित गर्न आवश्यक गृहकार्य गरिरहेको जानकारी समेत उनले गराए ।
त्यस्तै नेपाल राष्ट्र बैंककी कार्यवाहक गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले केन्द्रीय बैंकले एफडीआई तथा विदेशी ऋण नियमावली संशोधन गरी विदेशी लगानी भित्र्याउन नेपाल राष्ट्र बैंको पूर्व स्वीकृति आवश्यक नपर्ने लगायत नाफा फिर्ता लैजाने सम्बन्धमा गरिएको सहरीकरणबारे बताइन् । केपीएमजी इन इन्डियाका प्रमुख कार्यकारी अधिकृत येज्डी नागपोरेवालाले आगामी लगानी सम्मेलनले नेपालमा लगानीका अवसरबारे धेरै जानकारी राख्ने लगानीकर्ताहरूलाई नेपाल ल्याएर नेपालको आर्थिक विकासमा योगदान गर्दै सरकारसँग साझेदारी गर्ने अवसर प्रदान गर्ने बताए ।