माघमाहात्म्य र उत्तरायणको महत्त्व
माघमाहात्म्य भन्नाले माघ महिनाभरि गरिने धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यलाई जनाउँछ । माघ १ गतेलाई माघे संक्रान्ति वा मकर संक्रान्ति भनिन्छ । यो संक्रान्तिबाट सूर्य उत्तरायणतर्फ लाग्छन् । यसैले कुनै पनि जुराएर गरिने धार्मिक कामहरू उत्तरायणमा मात्र गरिने परम्परा रहेको पाइन्छ । अपवादका रूपमा मंसिर महिनामा रामजानकी विवाह भएकाले विवाह मात्र गर्ने चलन छ ।
पूर्वीय शास्त्रअनुसार उत्तरायणको ६ महिना देवताहरूको एक दिन हुन्छ भने दक्षिणायणको ६ महिना देवताहरूको एक रात हुन्छ भन्ने मान्यता पाइन्छ । यसैले विवाह, व्रतबन्ध, रुद्री, सप्ताह महापुराण आदि सबै उत्तरायणमा अर्थात् माघदेखि आषाढसम्म मात्र गरिने परम्परा छ । यसै भएर महाभारतमा भीष्म पितामहले आफू उत्तरायण भएपछि मात्र मर्ने इच्छा मृत्यु रोजेको उदाहरण पाइन्छ ।
उत्तरायणका बेला अझ शुक्लपक्षको दिवा समयमा मृत्यु भएका मानिसले मोक्ष प्राप्त गर्छन् भने दक्षिणायणका बेला मृत्यु भएका मानिसले पुनर्जन्म लिनुपर्छ भन्ने विश्वास पाइन्छ । यो कुरा गरुडपुराडमा पनि उल्लेख छ । यसै कारण पनि सूर्यका यी उत्तरायण र दक्षिणायण दुई स्थितिलाई मानिसको संसारबाट मुक्तिको मार्ग मान्ने गरिएको पाइन्छ । यसैले होला विवाह, गृह प्रवेश, व्रतबन्ध आदि विशेष शुभकार्य उत्तरायणमा गर्नु उचित मानिन्छ ।
स्कन्दपुराणको वैष्णव खण्डमा उत्तरायणमा पर्ने माघी स्नान, वैशाख स्नान, कल्पावास, स्वस्थानी व्रत कथाका कुरा पाइन्छन् । माघ स्नान पौषशुक्ल पूर्णिमाबाट सुरु भएर माघशुक्ल पूर्णिमासम्म पर्छ । यस समयमा ठूला तथा धार्मिक महत्त्व भएका नदी दोभान, त्रिवेणी वा पोखरीमा स्नान, तर्पण र सूर्याघ्र्य दिएर नारायणको पूजा आराधना गरिन्छ ।
कल्पवासमा पनि सोही अनुसार अरु थप विधि पनि गरिन्छ । तर कल्पवास केवल कालीगण्डकीमा त्रिवेणीदेखि दामोदरकुण्डसम्म बस्ने विधान पुराणमा उल्लेख छन् । हाल प्रचलनमा रहेको स्वस्थानी व्रतकथा र स्कन्दपुराणमा उल्लेख गरिएको व्रतकथा पनि यही हो । तर स्वस्थानी व्रतकथामा महादेवलाई विष, भाङ धतुरो र गाँजा खाने, सोमरस पिउने, बाघको छाला ओढ्ने, खरानी घस्ने र मसानमा मात्र बस्ने भनी जो चित्रण गरिएको छ, पुराणमा त्यस्तो बिल्कुलै पाइँदैन । महादेवले लागू पदार्थ सेवन गरी लट्ठिएको कहीँ छैन ।
ज्योतिष शास्त्रानुसार सौरमासका हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई ‘मकर संक्रान्ति’ भनिएको हो । यो दिनदेखि सूर्य दक्षिणी गोलाद्र्धबाट उत्तरी गोलाद्र्धतर्फ फर्कने भएकाले दिन लामो र रात छोटो हुँदै जाने विश्वास गरिन्छ । हुन त आधुनिक विज्ञान अनुसार डिसेम्बर २२ का दिनदेखि सूर्य उत्तरायण लागेकाले दिन लामो र रात छोटो हुन सुरु भएको मानिन्छ ।
सामान्यतः सूर्यले सबै राशिलाई उत्तिकै प्रभावित र भोग गरे पनि कर्कट राशि (साउने संक्रान्ति) र मकर राशि (माघे संक्रान्ति)लाई धार्मिक दृष्टिले महत्त्वपूर्ण मानिन्छ । तुला संक्रान्ति अर्थात् कार्तिक संक्रान्ति र मेष संक्रान्तिका दिन सूर्य विषुवत रेखामा रहने हुनाले दिन र रात बराबर भएको मानिन्छ । यस हिसाबले यी संक्रान्ति पनि उत्तिकै महत्त्वपूर्ण मानिन्छन् । मकरमेला नेपाल लगायत विश्वभरका हिन्दु सनातनीले विभिन्न पवित्र नदी, सागर तथा त्रिवेणीमा गएर स्नान गरी सूर्यनारायणको पूजा गरी मनाउँछन् । सूर्यनारायणको पूजा गर्दा– ‘ओम आकृष्णे नरजसा वर्तमानो निवेश यन्नमृतम्मत्र्यञ्च । हिरण्ययेन सविता रथेना देवोयाति भुवनानि पश्यान् ।।’ भनी वैदिक मन्त्र र ‘नमः शिवाय शान्ताय सगणाय दि हे तवे । रुद्राय विष्णवे तुभ्यं ब्राह्मणे सूर्यमूर्तये ।। एहि सूर्य सहस्रांशो तेजोरासी जगत्पते । अनुकम्पं मया भक्त्या गृहाणार्थ दिवाकरम् ।।’ भनी लौकिक मन्त्रले पूजाअर्चना गरी सूर्यलाई अघ्र्य दिइन्छ ।
सूर्याघ्र्य दिने मन्त्र :
ताप त्रय हरं दिव्यं परमा नन्दलक्षणम् ।
तापत्रय विनासाय तावार्घ मर्पया मह्यम् ।।
अर्घ गृहाण ब्रह्मज्ञ गन्धपुष्पाक्ष तैर्युक्तं ।
करुणाकर विपे्रषेण प्रशान्नो भव सर्वदा ।।
शुद्ध जल चढाउने मन्त्र
यद्दत्ति भक्ति मात्रेण पत्रंपुष्पं फलं जलम् ।
निवेदितं शंखजलं गृहाण परमेश्वर ।।
चन्द्राघ्र्य दिने मन्त्र
अत्रिनेत्र समुद्भूतं क्षिरोधार्ण वसम्यहम् ।
अर्घगृहाण मया दित्तं रोहिणी सहितं प्रभु ।।
प्रदक्षिणा गर्ने मन्त्र :
यानिकानि च पापानि जन्मान्तर कृतानि च ।
तानि सर्वाणी नस्यन्तु प्रदक्षिणा पदेपदे ।।
प्रार्थना वा नमस्कार गर्ने :
नमस्ते कपिले देवी संसारार्णव तारिणे ।
द्विजेन्द्राय ददामित्वा प्रसन्ना भव सर्वदा ।।
माघको पहिलो दिन पुसको पाक्ये माघको खाक्के भनेर पुसको मसान्तमा पकाएको तरुल भोलिपल्ट चाकु, तिलको लड्डु, घिउ आदिसँगै मिलाएर खाने चलन छ । तरुल, चाकु, तिलको लड्डु, घिउले अधिक शक्ति दिने भएकाले जाडोका समयमा खाने गरिन्छ । शरीरमा प्रोटिन बढाउन खित्रो (खिचडी, आधा चामल र आधा मासको दाल राखेर पकाएको भात)मा घिउ हालेर खाने चलन छ । शिशिर ऋतु जाडोको मौसम भएकाले तिलका दाउरा बालेर आगो ताप्ने परम्परा छ, तर आजभोलि आधुनिकता र सहरिया जनजीवनले गर्दा यी सबै परम्परा कहाँ कति जीवन्त छन् भन्न सकिँदैन ।
माघे संक्रान्तिका दिन भगिरथ राजाले गंगालाई स्वर्गबाट पृथ्वीमा अवतरण गराई सागरमा मिलाएका थिए रे भन्ने पौराण्कि कथा पाइन्छ । त्यसैले माघे संक्रान्तिका दिन गंगासागरमा गरिने स्नानलाई महास्नान भनिन्छ । यस पर्वमा गंगासागरमा जान समय नहुनेहरूले त्रिवेणी, प्रयाग र नजिकका ठूला नदी तलाउमा गई गंगासागर सम्झेर स्नान गने गरिन्छ ।
नेपालमा देवघाट, बराहक्षेत्र, रिडी, पनौती, दोलालघाट, कन्काई तथा भारतको प्रयाग र गंगासागर लगायत नदी र घाटमा स्नान, दान, श्राद्ध आदि गर्नेको ठूलो भीड लाग्छ । माघ महिनाभरि यसरी शरीर शुद्ध गर्ने, शरीरमा तेल लगाउने गर्दा चिसोबाट मुक्त भई छालासम्बन्धी रोग नाश हुने विश्वास गरिन्छ ।
भविष्य तथा विष्णुपुराण, धर्मसिन्धुजस्ता ग्रन्थहरूमा यस महिनामा स्नान गरी घिउ, चाकु, तिलको लड्डु, पालुंंगोको साग, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने र उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनुका साथै निरोगी भइने विश्वास पाइन्छ । पुरोहित ब्राह्मणहरू आ–आफ्ना यजमानकहाँ गई माघ महिनाको फल सुनाउँछन् । माघ महिना तथा उत्तरायणको फल सुनिसकेपछि गृहस्थीहरूले पुरोहितलाई टीका लगाई घिउ, चाकु, तरुल, लल्डुसहितको सिदा दान गर्छन् । यस महिनामा घिउ र कम्मल दान गर्नाले मोक्ष प्राप्त हुन्छ भन्ने विश्वास रहेको पाइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले संसद् सचिवालयलाई पठाएको पत्रमा के छ ?
-
संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ
-
सवा पाँच महिनामा सरकारले पायो २ खर्ब २ अर्ब ४० करोड वैदेशिक सहायता
-
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू
-
सुरक्षित कारोबार संशोधन विधेयक : प्रकाशशरणको ‘डिफेन्स’ले अर्थ र कानुन मन्त्रालयका कर्मचारीलाई हाइसञ्चो !
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक