‘गोर्खा वारियर’ : मलाया जङ्गलमा गोर्खा सैनिकको लडाइँको कथा
काठमाडौँ । वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पारेका छन् ।
आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताए ।
“मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा पनि वास्तविक रुपमा सैनिकले लड्ने युद्धलाई देखाएको छु । सन् १९४९ को समयलाई पर्दामा देखाउनु सहज थिएन । यसका लागि मैले छायाङ्कनमा तीन वर्षको समय खर्चेको छु । तयारी त एकदशक अगाडिदेखि कै हो”, निर्देशक चाम्सले भने, “हामीले उक्त समयमा युद्धमा प्रयोग भएका वस्तु नै विभिन्न सङ्ग्रहालयबाट ल्याएर प्रयोग गरेका छौँ । यो चलचित्रले हाम्रो वीरतालाई देखाउनुका साथै विश्वमा नेपाली चलचित्रको महत्वलाई दर्शाउने छ ।”
चलचित्र ‘गोर्खा वारियर’ ब्रिटिस एकेडेमी फिल्म एण्ड टेलिभिजन अवार्ड (बाफ्टा) मा पहिलो चरणमा छनोट हुनु सम्पूर्ण नेपाली चलचित्रकर्मीका लागि गौरवको विषय रहेको निर्देशक चाम्सले बताए । “गोर्खालीको विषयमा चलचित्र बनेको भन्ने थाहा पाएपछि हामीले पाएको सम्मान र तारिफलाई शब्दमा व्यक्त गर्न सक्दैनौँ”, उनले भने ।
अब नेपाली चलचित्रकर्मीले वीरता र इतिहासको कथालाई पर्दामा ल्याउन ढिलाइ गर्न नहुनेमा निर्देशक चाम्सले जोड दिए । यसमा मुख्य भूमिका निर्वाह गरेका अभिनेता रितेश चाम्स आफैँ पूर्वगोर्खा सैनिक हुन् । उनले सेनाबाट अवकाश पाएपछि बेलायतमै अभिनयसम्बन्धी शिक्षासमेत लिएका थिए ।
“मैले युद्धको क्रममा भोगेको भोगाइलाई नै यसमा प्रस्तुत गरेको छु । चलचित्र हेर्नुभएका गोर्खा सैनिकले मलाई दिएको प्रतिक्रियाले झनै उत्साहित छु । पुनः सैनिक जीवनमा फर्कने मौका पाएँ”, अभिनेता चाम्सले भने । चलचित्रमा विजय लामा, रेविका गुरुङ, रियर राई, शिशिर बाङ्देल, कविता आले, विरुप घले, सारा राईलगायत कलाकारले अभिनय गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धरहराको काखमा सार्वजनिक गरियो एनपीएल ट्रफी, तस्बिरहरु
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा रोल्पाको होलेरीमा सेवा विस्तार
-
सुनको मूल्य तोलामा झण्डै १६ हजार रुपैयाँ घट्यो
-
पाँच महिनापछि धितोपत्र बोर्डले दियो आईपीओ निष्कासन अनुमति
-
प्रधानमन्त्रीबाट नेपाल प्रिमियर लिगको ट्रफी अनावरण, ट्रफीको मुख्य आकर्षण कालापत्थरको ढुंगा
-
२८ प्रहरी कर्मचारी सम्पर्कविहीन, प्रहरी प्रधान कार्यालयले निकाल्यो ७ दिने सूचना