आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
विज्ञका कुरा

‘दाँत माझेपछि आधा घण्टासम्म मुख कुल्ला गर्नुहुँदैन’

बच्चालाई दुध खुवाउँदा तरिका मिलेन भने दाँत बाङ्गाटिङ्गा आउने ठाउँ बन्छ : डा. पंकज पाण्डे
शनिबार, १३ माघ २०८०

नेपालमा सबैभन्दा बेवास्ता गरिने भएको मुखको स्वास्थ्य हो । पाचन प्रणालीको सुरुवाती द्वार भए पनि मुखको स्वास्थ्यबारे धेरैले ध्यान दिएको पाइँदैन ।

डा. पंकज पाण्डे मानिसहरु अन्तिम अवस्थामा नै डेन्टिस्ट कहाँ पुग्ने गरेको सुनाउँछन् । हरेक ६–६ महिनामा दाँतको जाँच गराउनु राम्रो हुने उनको सुझाव छ । रातोपाटीका लागि दीपा दाहालले डा. पाण्डेसँग मुखको स्वास्थ्यबारे कुराकानी गरेकी छन् । प्रस्तुत छ कुराकानीको सम्पादित अंश : 

  • मुखको स्वास्थ्य भन्नाले के बुझिन्छ ?

–पाचन प्रणालीको मुख्य द्वार भनेकै मुख हो । यसलाई हामीले सबैभन्दा सफा राख्नुपर्छ । हामीले खाना खाँदा र पकाउँदा जति हात धोए पनि, जति सफा गरेर खाए पनि, हाम्रो मुखको स्वास्थ्य नै राम्रो भएन भने त्यसले अर्थ राख्दैन । त्यसैले दाँत, गिजा तथा मुखको समग्र स्वास्थ्य अवस्था नै ओरल हेल्थ भनेर बुझ्न सकिन्छ । 

  • दाँत तथा गिजालाई स्वस्थ राख्न के गर्नुपर्छ ?

–आधारभूत दुईवटा काम भनेको बिहान र राती खाना खाइसकेपछि ब्रस गर्नुपर्छ । त्योभन्दा बाहेक ब्रस गरिसकेपछि मन्जनको जति फिँज आउँछ त्यसलाई थुक्दा हुन्छ तर पानीले आधा घण्टासम्म मुख कुल्ला गर्ने र खानेकुराहरू खाने गर्नुहुँदैन । 

जसरी नुनमा आयोडिन जरुरी हुन्छ त्यसरी नै मन्जनमा फ्लोराइड जरुरी हुन्छ । त्यो फ्लोराइडले हाम्रो दाँतलाई बलियो र स्वास्थ्य बनाउँछ । मुख कुल्ला नगर्दा त्यो फ्लोराइड मुखमा रहिरहन्छ । यतिमात्र नभएर खानपिनमा पनि हामीले उत्तिकै ध्यान दिनुपर्छ ।

  • धेरैले दाँत दुख्यो भनिरहनुभएको हुन्छ, खासमा त्यो दाँत दुखेको हो कि गिजा?

–दुईवटै भन्न सकिन्छ । कुनै केसमा दाँतमात्रै दुखेको हुन सक्छ भने कुनैमा गिजा नै पनि दुखेको हुन सक्छ । दाँतमा दुई प्रकारले किरा लाग्ने हुन्छ । पहिलो ‘पेरियो विथ इन्डो’ र ‘इन्डो विथ पेरियो’ । यी दुईवटै मेडिकल ट्रर्म हुन् । यो भनेको गिजाको कारणले दाँत दुखे पनि दाँतको कारणले गिजा दुखे पनि दुखाई उस्तै उस्तै हुनसक्छ । 

dr pankaj pandey

  • राम्रोसँग ब्रस कसरी गर्ने र दुई पटक भन्दा धेरै ब्रस गर्दा के हुन्छ?

–ब्रस गर्दा कतिको बल लगाएर गर्दै हुनुहुन्छ त्यसमा भर पर्छ । एकदमै बेस्सरी घोट्दै हुनुहुन्छ भने त्यसले राम्रो गर्दैन । खाना कतै नअड्कियोस् भनेर हल्का ब्रसमात्र घुमाउनु भएको छ भने त्यो ठिक हुन्छ तर पनि दुई पटकभन्दा धेरै दाँत ब्रस नगर्न मेरो सल्लाह छ ।

१२ घण्टा प्रोटेक्सन र २४ घण्टा प्रोटेक्सन भनेर दुई खालका मन्जनहरू पाइन्छ । यदि १२ घण्टा प्रोटेक्सन भएको मन्जन प्रयोग गर्दै हुनुहुन्छ भने दिनमा दुई पटक र २४ घण्टा प्रोटेक्सन भएको मन्जन प्रयोग गर्दै हुनुहुन्छ भने एकपटक मात्र गर्दा राम्रो हो । तर पनि बिहान र बेलुका खाना खाइसकेपछि दाँत ब्रस गर्नु उपयुक्त हुन्छ । 

  • दन्त मन्जनमा हुनुपर्ने तत्त्वहरू के के हुन्?

मन्जनमा फ्लोराइड चाहिँ हुनुपर्छ । त्योभन्दा बाहेक फरक–फरक कम्पनीले फरक–फरक तत्त्वहरू राखेका हुन्छन् । फरक स्वाद, रङ दिनका लागि पनि यस्तो गरिएको हुन्छ । फ्लोराइड भएको र १२ घण्टा प्रोटेक्सन भएको मन्जन प्रयोग गर्दा राम्रो मानिन्छ । 

  • ब्रसचाहिँ कस्तो खालको प्रयोग गर्दा दाँत र गिजाका लागि राम्रो हुन्छ ?

–ब्रस नरम खालको प्रयोग गर्दा राम्रो हो । नरम पनि सबैको लागि फरक हुन सक्ने हुनाले आफूले दाँत माझ्दा गिजामा दुखाई महसुस नहुने खालको ब्रस प्रयोग गर्नुपर्छ । यदि आफ्नो ब्रस नरम छैन भने पनि त्यसलाई दाँत माझ्नुभन्दा अगाडि ५ मिनेट मन तातो पानीमा डुबाएर राख्नु भयो भने त्यो अलिकति नरम हुन जान्छ । त्यही प्रयोग गर्दा हुन्छ ।

  • बच्चाहरूको दाँत बलियो बनाउन मिल्ने घरायसी उपायहरू छन् ?

–एउटा बच्चाको खानपान सुरु हुने भनेको ऊ जन्मिने बित्तिकै हो । दुध खुवाउँदादेखि नै तरिका मिलेन भने दाँत बाङ्गाटिङ्गा आउने ठाउँ बन्छ । औँला चुस्ने बच्चा छन् भने दाँत अगाडि आउने हुन्छ । बच्चा जन्मेको छ महिना पछि या पहिले दाँत आएपछि डाक्टरलाई देखाउनु पर्छ । दाँत दुख्यो भने मात्र डाक्टरकहाँ जाने धारणा बिस्तारै बदल्नु पर्दछ । 

बालबालिका मात्र होइन हाम्रो समाजमा दिनमा एक–दुईवटा ल्वाङ चपायो भने दुख्न कम हुन्छ भन्ने चलन पनि छ । त्यसले दाँत र गिजालाई पनि स्वस्थ राख्छ । तर नसामार्फत दुखाइ दिमागसम्म तीव्र गतिमा पुग्ने हुनाले दाँत दुखेको बेलामा ल्वाङ चपायो भने त्यो दुखाइ दिमागमा ढिलो पुग्ने हुनाले ल्वाङको प्रसङ्ग जोडिने गरेको छ । तर, ल्वाङको तेल वा ल्वाङ आफैले पनि दुखाई कम गर्ने भने होइन । त्यसैले चिकित्सकलाई नदेखाई त्यसको प्रयोग नगर्न सुझाव दिन्छु । यदि दाँत दुखेको छ भने डाक्टरसँग परामर्श गर्नु नै राम्रो हुन्छ ।

  • बच्चाहरूले कुन उमेरदेखि दाँत ब्रस गर्न सुरक्षित हुन्छ?

–टुथब्रसको प्रयोग दाँत आइसकेपछि गर्न सल्लाह दिन्छु । दाँत आउन भन्दा अगाडि र दुध मात्र खाने बेलामा एउटा सुतीको सफा कपडाले दाँत र गिजा सफा गरिदिँदा उपयुक्त हुन्छ । 

  • कतिपय वृद्धहरूले अझै पनि दतिउन प्रयोग गर्ने गरेको पाइन्छ । त्यो राम्रो हो कि ब्रस, मन्जनले नै गर्नु राम्रो ?

–त्यो उहाँहरूको खानपिनमा भर पर्छ । पहिला–पहिला जस्तो खानेकुराहरू खानुहुन्थ्यो त्यस्तै खानुहुन्छ भने पहिला जस्तै दतिउनले नै सफा गर्दा पनि हुन्छ । तर ब्रस र मन्जनले दाँत माझेकै ठिक हुन्छ ।

  • धेरै तातो वा धेरै चिसो खानेकुराले दाँतमा कस्तो असर गर्छ ?

–दाँतमा केही समस्या छैन भने त केही असर पार्दैन । तर दाँतमा समस्या छ भने त्यसले असर पार्ने भन्दा पनि असर देखाउँछ । तातो खाएर एक्कासि चिसो वा चिसो खाएर एक्कासि तातो खाँदा सेन्सेटिभिटीले गर्दा झनझनाउने हुन्छ । त्यो हुनुको कारण भनेको गिजाको समस्या हुन सक्छ । अर्को कारण भनेको किरा लागेको दाँत वा खिएको दाँत छ भने चिसो वा तातोले सजिलै नशामा छुन पाउँछ र त्यसले गर्दा सेन्सेटिभिटी हुन्छ । कुनै पनि बाह्य कारकहरूले दाँतको नशामा छोयो भने सेन्सेटिभिटी महसुस हुन्छ ।

  • दाँतमा किरा लाग्ने कारणहरू चाहिँ के–के हुन् ?

किरा लाग्ने मुख्य कारण भनेको हामीले दाँतमा भएको हानिकारक ब्याक्टेरियाहरूलाई बस्ने ठाउँ दिएर हो । हामीले खाने खाना ब्याक्टेरियाहरूको बस्ने ठाउँ हो । हामीले ब्रस गर्दा पनि कुनै कुनै ठाउँमा खाना अड्किरहेको हुन्छ र त्यही ठाउँमा ब्याक्टेरियाहरू बस्छन् । किराले त्यो खाना आफू खान्छ र उनीहरूको उपउत्पादनहरू एकदम एसिडिक हुन्छ  जसले दाँतलाई गलाउँदै जान्छ र त्यो ठाउँ किरा लागेको जस्तो देखिन्छ ।

  • दाँतलाई स्वस्थ राख्न कस्तो खानेकुरा खानुपर्छ ?

–पहिलो कुरा पान, गुट्का, सुपारी खानुहुँदैन । त्योभन्दा बाहेक एकदमै चपाउनुपर्ने खानेकुरा जस्तै सेकुवा, मासु वा मकै, भटमास धेरै खादा दाँत धेरै घोटिने सम्भावना बढी हुन्छ र दाँतले झेल्न सक्ने भन्दा धेरै भार दाँतमा पर्छ जसले गर्दा लामो अवधिपछि दाँतमा समस्या देखिन थाल्छ । अर्को कुरा नियमित ब्रस गर्ने त छँदैछ । 

  • मानिसहरूले दाँत सफा गर्न डेन्टल वा डेन्टिस्ट कहाँ नै आउनुपर्ने अवस्था चाहिँ कुन बेला वा कस्तो–कस्तो बेलामा हुन्छ?

–६/६ महिनामा डाक्टरकोमा आएर चेकअप गराउनु सबैभन्दा राम्रो  हो । आफूले जति राम्ररी सफा गरे पनि पुरै दाँत सफा गर्न सम्भव हुँदैन । फोहोरहरू जमेर बसेको हुन्छ । त्यो सफा गर्न भए पनि डेन्टिस्ट कहाँ आउनु पर्छ । अर्को उमेर अनुसार गिजामा पनि समस्या आउने हुन्छ । कोही महिला गर्भवती हुनुहुन्छ भने ‘हर्मोनल चेन्ज’ले गर्दा गिजामा समस्या आउँछ । त्यसैले ६/६ महिनामा डाक्टरकोमा आएर चेकअप गराउनु राम्रो हुन्छ ।

दाँत सफा गरिसकेपछि हुने सेन्सेटिभिटी चाहिँ धेरै घोटेर सफा गरियो भने हुन्छ । कस्तो ठाउँमा, कस्तो व्यक्तिसँग सफा गरेको भन्नेमा भर पर्छ । दाँत सफा गर्दा हामीले धेरै घोट्न हुँदैन । फोहोर हटाइसकेपछि जबसम्म गिजाले आफ्नो ठाउँ लिँदैन तबसम्म सेन्सेटिभिटी महसुस भइरहेको हुन्छ । 

  • बजारमा दाँत चम्काउने सामाग्रीहरू पनि धेरै पाइन्छ । धेरैले प्रयोग पनि गरिरहेका हुन्छन् । त्यो प्रयोग गर्नु कतिको उपयुक्त हुन्छ ?

दाँत सफा गर्न घरेलु उपाय वा बजारमा पाइने सामाग्रीहरू प्रयोग नगरेको धेरै राम्रो । बजारमा पाइने सामाग्रीहरू ‘एसिडिक नेचर’को हुन्छ जसले दाँतको फोहोरहरूका साथसाथै दाँत पनि ‘डिजल्भ’ हुन्छ । दाँतको ‘इनामेल’ वा रक्षात्मक तह नै ह्रास भएर जान्छ । त्यसैले यो एउटा खराब अभ्यास हो । र, यस्ता विषयमा व्यक्तिको मात्र नभएर सरकारको पनि ध्यान जान आवश्यक छ । 

  • मदिरा तथा सुर्तीजन्य पदार्थको सेवन र त्यसले दाँतको स्वास्थ्यमा पार्ने असर चाहिँ कस्तो हुन्छ ?

–सुर्ती जन्य वा मदिरा जन्य पदार्थको सेवनले दाँत तथा मुखको स्वास्थ्यमा धेरै नै नराम्रो असर पर्न जान्छ । यदि कोही मानिस चुरोट सेवन गर्छ भने उसको दाँतको हड्डी तल सर्दै जान्छ । कुनै दुखाइ र समस्या महसुस नभए पनि दाँतको बलियोपना घट्दै जान्छ । चुरोट सेवन गर्ने, पान, सुपारीहरू खाने व्यक्तिहरूको त गिजामा अनगिन्ती समस्याहरू आउन सक्छ । 

  • बच्चाहरूको दाँत हल्लिनुलाई त सामान्य नै मानिन्छ । वयस्कहरूको पनि दाँत हल्लिएको महसुस हुन्छ, त्यो चाहिँ किन हुन्छ ?

त्यो एकदम सामान्य हो । जिब्रोले चलाउँदा मात्र पनि हल्लिएको छ भने त्यो सामान्य हल्लाई होइन तर एकदम जोडले हल्लाउँदा अलिअलि हल्लिएको महसुस हुन्छ भने त्यो चाहिँ सामान्य हो । 

  • अन्त्यमा मानिसहरूले डेन्टल चेकअप गराउनु कतिको आवश्यक छ?

हरेक ६–६ महिनामा दाँतको चेकअप गराउनु राम्रो हुन्छ । दाँत दुखेको छैन भन्दैमा दाँतमा समस्या नै छैन भन्ने हुँदैन । दाँत दुख्यो भने त दाँत बचाउने अन्तिम अवस्थामा पुगिसक्नुभएको हुन्छ । दाँत धेरै नै दुखेर फेरि दुख्नै छोड्यो भने दाँतको नशा नै मरिसकेको हुन्छ । मानिसले सामान्य आँखाले देख्न नसक्ने कुरा डाक्टरले देखेको हुन्छ, त्यसैले समय समयमा चेकअप गराइरहनु राम्रो हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया