शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय

रास्वपा मकवानपुरका पूर्वसंयोजक न्यौपाने कांग्रेसमा प्रवेश

शुक्रबार, १२ माघ २०८०, २२ : २३
शुक्रबार, १२ माघ २०८०

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरका पूर्वसंयोजक राजकुमार न्यौपाने नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । मकवानपुरका व्यवसायी समेत रहेका न्यौपाने शुक्रबार नेपाली कांग्रेसको ७८ औँ स्थापना दिवसको अवसरमा हेटौंडामा आयोजित कार्यक्रममा कांग्रेसमा प्रवेश गरेका हुन् ।

नेपाली कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंह, पार्टी बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँलगायतले न्यौपानेलाई खादा र माला लगाएर पार्टीमा स्वागत गर्दै सदस्यतासमेत प्रदान गरेका थिए । 

नेपाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य रहेका व्यवसायी न्यौपानेले कांग्रेसले मात्रै सबै दललाई मिलाएर लैजान सक्ने भएकाले आफू कांग्रेसमा प्रवेश गरेको बताए । उद्योगी व्यवसायीको हितका लागि गम्भीर भएर काम गर्न पार्टीलाई सुझावसमेत दिए । पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै न्यौपानेले आफू यसअघि कुनै पनि पार्टीमा सदस्यता नलिएको र पहिलो पटक कांग्रेसको सदस्यता लिएको दाबी गरे । 

पार्टीमा गलत क्रियाकलाप गरेको र निर्वाचनको समयमा आफ्ना उम्मेदवारमाथि अन्तर्घात गरेको आरोपमा न्यौपानेलाई रास्वपाले मकवानपुरको सभापतिबाट हटाइएको थियो । करिब एक वर्ष अगाडि उनलाई रास्वपाले कारबाही गर्दै जिम्मेवारीबाट हटाइएको थियो । उनीमाथि पार्टीको उम्मेदवारलाई आर्थिक प्रलोभनमा पारेर  कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियालाई सघाउन बाध्य पारेको आरोप लागेको थियो । सो विषयमा रास्वपा केन्द्रीय समितिले अध्यापन अनुसन्धान गरी आरोप पुष्टि भएपछि कारबाही गरिएको रास्वपा मकवानपुरले जनाएको छ । रास्वपा मकवानपुरको संस्थापक सभापति बनेका न्यौपानेका कारण रास्वपाको तल्लो तहका संगठनमा समेत समस्या देखिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप