सशस्त्रमा भूकम्प सम्बन्धी ‘प्रतिरोध गुल्म’ गठन गर्ने निर्णय

काठमाडौँ । भूकम्प जाँदा उद्धारमा परिचालन गर्नेगरी सशस्त्र प्रहरी बलमा ‘डेडिकेटेड टास्कफोर्स’ बनाउने निर्णय गरिएको छ । सशस्त्रको पिएससी ‘प्रिन्सिपल स्टाफ कमिटी’को निर्णय अनुसार टास्कफोर्समा १ सय ६० जना तालिमप्राप्त सुरक्षाकर्मी हुनेछन् ।
विशिष्ट किसिमको तालिम लिएकाहरुलाई परिचालन गर्नेगरी एउटा कम्पनी गठन गर्ने निर्णय गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) राजेन्द्र खड्काले रातोपाटीलाई बताए । कम्पनीको कमाण्ड डिएसपीले गर्नेछन् ।
सहरी क्षेत्रमा भूकम्प जाँदा तत्काल उद्धारका लागि परिचालन गरिने टास्कफोर्समा सिएसएस आर ‘कोल्याप्स स्ट्रक्चर सर्च एण्ड रेस्क्यू’ र एमएसआर ‘मेडिकल फस्ट रेस्पोन्डर’ तालिम लिएका सशस्त्रका कर्मचारीलाई राख्ने निर्णय गरिएको छ ।
टास्कफोर्सको नाम ‘भूकम्प प्रतिरोध गुल्म’ राख्न प्रस्ताव गरिएको छ । काठमाडौँमा कमाण्ड राखेर अन्य प्रदेशमा पनि रिजर्भ फोर्स राख्नेबारे छलफल भइरहेको एसएसपी खड्काले जानकारी दिए । उनले भने,‘कम्पनी गठनको काम कार्यान्वयनको चरणमा छ, हामी अहिले तालिम प्राप्त जनशक्ति छनोट गर्दै छौँ ।’
भूकम्प जाँदा उद्धारमा आवश्यक उपकरण सो कम्पनीलाई उपलब्ध गराउने सशस्त्रको योजना छ । २३ औँ सशस्त्र प्रहरी दिवसको अवसरमा आईजीपी राजु अर्याले भूकम्पमा उद्धार गर्न डेडिकेटेड टास्कफोर्स बनाउने उद्घोष गरेका हुन् ।
टास्कफोर्सलाई प्रदेशमा पनि बिस्तार गर्दै लैजाने सशस्त्रको योजना छ । कम्पनीको मुख्य कार्यालय हलचोक स्थित स्पेशल टास्कफोर्स सँगै राख्नेबारे छलफल भइरहेको एसएसपी खड्काले जानकारी दिए ।
काठमाडौँ उपत्यकामा सशस्त्रको विपद् उद्धार गण छ । सिनामंगलमा अवस्थित गणमा गोतखोर सहितका तालिमप्राप्त उद्धारकर्मीहरु कार्यरत छन् । सशस्त्रका एक जना उच्च अधिकृतले सहरी क्षेत्रमा भूकम्प जाँदा परिचालन गर्नेगरी ‘विशेष गुल्म’ बनाउन लागिएको बताए ।
भूकम्प सम्बन्धी टास्कफोर्स कार्य विभागको मातहत राख्ने निर्णय गरिएको छ ।
जाजरकोट र पश्चिम रुकुममा कार्तिकमा गएको भूकम्पमा उद्धारका लागि सशस्त्रले ५ सयभन्दा बढी सशस्त्र प्रहरी कर्मचारीलाई परिचाल गरेको थियो । मेडिकल टिमसहित परिचालित सुरक्षाकर्मीले १ सय ९० जनाभन्दा धेरैको उद्धार गरेको एसएसपी खड्काले जानकारी दिए । उनले भने,‘अस्थायी बासको व्यवस्थापनको लागि डिआरएस (डिजास्टर रिलिफ सिस्टम) कन्टेनरका २५ वटा पाल सहित जम्मा ३०१ पाल र ३६ वटा अस्थायी आवास निर्माण गरेका छौँ ।’