१० लाखको उधारो डिलमा जब प्रहरी नै हिरासतका अभियुक्त लिएर भागे
मिति : २०६४ जेठ ९ गते ।
स्थान : जिल्ला प्रहरी परिसर काठमाडौँ (हनुमानढोका)
समय : रातको ८ः३० बजे ।
रातको ८ बजे उप्रेती थरका ड्युटी अफिसरलाई एउटा चिर्कटो आयो । लागुऔषध खैरो हिरोइनसहित पक्राउ परेका भारतीय नागरिक असरफ आलम हनुमानढोकाको प्रहरी हिरासतमा थिए । हिरासतमा रहेका आलमलाई इन्सपेक्टर साहेबले लिएर आउनु भन्नुभएको छ भनेर प्रहरी जवान विरवलराय यादवले ड्युटी अफिसरलाई चिट दिए ।
प्रहरीकै पोसाकमा रहेका प्रहरी जवानले चिट ल्याएपछि हस्ताक्षरसम्म नहेरी ड्युटी अफिसरले असरफ आलमलाई ती प्रहरी जवानको जिम्मा लगाएर इन्सपेक्टर साहेबको कार्यकक्षतिर पठाइदिए । असरफ आलमलाई इन्सपेक्टरको कार्यकक्षमा पठाउँदा हतकडी नै लगाएर पठाइएको थियो ।
तर हिरासतमा रहेका असरफ आलमलाई लामो समयसम्म पनि फिर्ता नल्याएपछि शङ्का लागेर ड्युटीमा रहेका प्रहरीहरु इन्सपेक्टरको कार्यकक्षमा गए । प्रहरी जवानले जुन इन्सपेक्टरको नाम लिएका थिए, उनी थिए तत्कालीन समयमा इन्सपेक्टर रहेका प्रजित केसी । तर असरफलाई प्रजित केसीले बोलाएकै थिएनन् । उनी त त्यस दिन ४ बजे नै घर गइसकेका थिए ।
त्यसपछि ती प्रहरी जवान र असरफको खोजी भयो । प्रहरी कार्यालयकै एउटा कुनामा प्रहरी जवान विरवलराय यादवको प्रहरी पोसाक र असरफ आलमलाई लगाइएको हतकडी फेला प¥यो तर उनीहरु भने फेला परेनन् ।
त्यसलगत्तै व्यापक खोजी भए पनि उनीहरु कहीँ फेला परेनन् । प्रहरी जवान यादवले नै खैरो हिरोइनको कारोबारी आलमलाई भगाएको पुष्टि भयो । साविकको पथरावुधाराम–३, रौतहटस्थित यादवको घर–ठेगानामा पनि प्रहरी पटकपटक पुग्यो, तर न यादव फेला परे, न असरफ । त्यसपछि प्रहरीले यादवसहितलाई फरारको सूचीमा राखी प्रतिवेदन तयार पा¥यो । असरफलाई लागूऔषधकै फरार प्रतिवादी बनाइ मुद्दा दायर ग¥यो भने यादवको हकमा कारागार ऐन अन्तर्गत मुद्दा चल्ने भनी फरारको सूचीमा राखियो ।
१६ वर्ष अगाडिको उक्त घटनापछि धेरै खोजी गरिए पनि विरवलराय यादव फेला परेनन् । प्रहरीलाई यादव भारतमा रहेको सूचना आए पनि उनी कहाँ छन् र के गर्दैछन् भन्ने थाहा थिएन । यद्यपि प्रहरीले उनको खोजी जारी राखेको थियो ।
करिब ३ महिना अगाडि काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका डीएसपी अनिल घिमिरेलाई १६ वर्षअघि प्रहरी हिरासतबाटै लागूऔषध कारोबारी भगाउने प्रहरी जवान भारतको कोलकातामा ट्याक्सी चलाएर बसिरहेका छन् भन्ने सूचना आयो । त्यतिमात्रै होइन, उनले भारतको रासन कार्ड, भोटर कार्ड आदि सबै लिएर भारतीय नागरिक नै बनिसकेका छन् र उनको ९ वटा ट्याक्सी छ भन्ने सूचना थियो । सूचना आए पनि ती व्यक्ति विरवलराय यादव नै हुन् कि होइनन् र असरफलाई भगाउने तत्कालीन प्रहरी जवान नै हुन् कि होइनन् भन्ने थाहा थिएन ।
त्यसपछि डीएसपी घिमिरेले कोलाकातामै एक सुराकी परिचालन गरे र यादवको जानकारी बटुले । एक यात्रु वा भ्लगरको रुपमा पुगेका सुराकीले यादवको फोटो र भिडियो खिचे । यादवसँग कुराकानी गरे र उनको नेपालस्थित ठेगानासमेत पत्ता लगाए ।
यादवले आफ्नो नेपालको ठेगाना सबै बताएपछि भेरिफाइ गर्दा फोटोमा देखिएका व्यक्ति, नेपालको ठेगाना र कोलकातामा ट्याक्सी चलाउने विरवलराय यादव एकै भएको पत्ता लाग्यो । तर उनलाई नेपाल ल्याउन भने सहज थिएन ।
भारतको भोटरकार्ड र आधारकार्ड भएका आरोपीलाई नेपाल ल्याउन सहज थिएन । प्रहरीले यादवलाई पक्राउ गर्न भारतीय प्रहरीको सहयोग माग्यो । भारतीय प्रहरीको सहयोगमा उनलाई कोलकात्ताबाट नेपाल ल्याएर सार्वजनिक गरिएको छ । माघ ११ मा उनलाई झापा हुँदै काठमाडौँ ल्याइएको हो । पक्राउ पर्दा उनी ट्याक्सी चालकको पोसाकमा थिए ।
१० लाखको उधारो सम्झौतामा भगाइएको थियो आलमलाई
शुक्रबार काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयमा यादवलाई सार्वजनिक गर्ने कार्यक्रम थियो । बिहान ११ः३० बजे पत्रकार सम्मेलन गरी सार्वजनिक गर्ने तयारी हुँदै गर्दा भगौडा प्रहरी जवान विरवलराय यादव महाशाखाकै प्रहरीसँग रमाइलो कुराकानी गरिरहेका थिए । प्रहरीको कर्मचारी हो भन्नेबित्तिकै उनी तन्किएर जय नेपाल गर्थे र त्यसबेलाको किस्सा सुनाइरहन्थे ।
कुराकानीमा प्रहरी कर्मचारीले असरफ आलमलाई किन भगाएको र के कति शर्तमा भगाइएको हो भनी प्रश्न गरेका थिए । जवाफमा यादवले आलमले पैसा दिने लोभ देखाएपछि भाग्नमा सहयोग गरेको बताए । यद्यपि उधारो सहमति गरेर विश्वासमा परी भागेको उनले बताए ।
यादवको भनाइ उनकै शब्दमा:
– असरफ आलम लगायतका व्यक्तिहरु खैरो हिरोइनको कारोबारमा पक्राउ परेका थिए । ड्युटीमै रहँदा आलमसँग चिनजान भयो । आलमले आफूलाई भगाइदिएमा ठुलो रकम दिने कुरा गरे । सुरुमा मैले एक करोडबाट डिल गर्न सुरु गरेँ । त्यसो गर्दा ३० लाख रुपैयाँसम्म आउँछ होला भन्ने लागेको थियो । तर अन्तिममा १० लाख रुपैयाँ दिने कुरा भयो । तर त्यो पैसा भारत पुगेपछि मात्रै पाउने भन्यो । मैले पनि विश्वासमा परेर सहयोग गर्ने भनेँ ।
–योजना अनुसार मैले हिरासतमा रहेका आलमलाई इन्सपेक्टर साहेबले बोलाउनु भएको छ भनी एउटा चिट दिएँ । चिटमा इन्सपेक्टरको नाम लेखेँ र हस्ताक्षर गरेँ । तर त्यहाँ हस्ताक्षर हेर्ने चलन थिएन । प्रहरीले नै बोलाएपछि ड्युटी अफिसरले हतकडीसमेत लगाइ असरफ आलमलाई बाहिर निकालिदिए । अनि मैले नै असरफ आलमलाई लिएर इन्सपेक्टर प्रजित केसीको कार्यकक्षतिर लगेँ ।
–तर इन्सपेक्टरले बोलाएको नभइ भगाउने योजनामात्रै थियो । मैले उसको हतकडी खोलिदिएँ र मैले पनि प्रहरीको ड्रेस खोलेर त्यहीँ सुकाएको साथीको कपडा लगाएँ । अनि प्रहरीको आँखा छलेर आलमलाई भगाएर आफू पनि निस्किएँ । सुरुमा मेरो योजना आलमलाई सीमासम्म पु¥याएर ऊसँग पैसा लिएर फर्कने भन्ने थियो । किनभने पहिले यसैगरी थुनुवा भगाएका एक जनाको पछि जागिर जोडिएको थियो र लामो समयपछि एकमुष्ट पैसा आएको थियो ।
–म र आलम बसमा चढेर भारततर्फ जाँदै गर्दा बसमा अमिताभ बच्चनको फिल्म चलिरहेको थियो । त्यहाँ प्रहरीले कैदीलाई भगाउँदा प्रहरीलाई पनि जेल चलान भएको देखेँ । त्यसपछि म पनि नफर्कने योजना बनाइ उतै बस्ने योजना बनाएँ । अनि आलमसँगै भारत भागेँ ।
–भारतमा आलमले १० लाख रुपैयाँ दिने भने पनि जम्मा ६ लाख २५ हजार रुपैयाँमात्रै दिए । मैले त्यो पैसाले दुई वटा पुरानो ट्याक्सी किनेँ र चलाउन थालेँ । पछि थप रकम माग्न आलमको घरमा पुगेको थिएँ । तर पैसाको हिसाबकिताब नमिलेर आलमले एक जनालाई मारेको भन्ने सुनेपछि मैले बाँकी पैसाको आश गरिनँ र म आफू पनि कोलाकाता गएर उतै ट्याक्सी चलाउन थालेँ ।
–मलाई कोलकातामा हुँदा पनि डरचाहिँ लागिरहन्थ्यो । स्थानीय प्रहरी देख्दा पनि डर लाग्थ्यो । उनीहरुलाई देख्दा पनि जय नेपाल भन्न मन लाग्थ्यो । म उनीहरुलाई देखेपछि तन्किएर जय नेपाल भन्ने पनि गर्दथेँ ।
–अहिले कोलकातामा मेरो ९ वटा ट्याक्सी छ । भोटर कार्ड, रासन कार्ड, ड्राइभिङ लाइसेन्स सबै भारतकै छ । उहाँहरु (नेपाल प्रहरी) गएर पक्रिएपछि थाहा पाइहालेँ तर पनि मलाई पक्राउ परेरै नेपाल आउन मन लाग्यो ।– मैले गल्ती गरेको हो । अहिले त्यस्तो गर्न हुँदैनथ्यो भन्ने लाग्छ । तर गल्ती गरिसकेको कारण मैले सजाय भोग्नैपर्छ । सायद ३ वर्षसम्म कैद सजाय हुन्छ होला । त्यो सजाय भोगेर म नेपालमै बस्ने योजनामा छु ।
त्यसलगत्तै प्रहरीले पत्रकार सम्मेलन ग¥यो । पत्रकार सम्मेलनमा पनि यादव आफैँ अगाडि सरेर बोल्न तम्सिए । आफूले गल्ती गरेको कारण सजाय भोग्न तयार रहेको उनले बताए ।
यादवले भने, ‘१६ वर्षपछि त उहाँहरुले छोड्नुभएन र भारतदेखि ल्याउनुभयो भनेपछि गल्ती ग¥यो भने नेपाल पुलिसले नछाड्ने रहेछ ।’
एसएसपी राठौर भन्छन्– हाम्रो नजरमा परेका अपराधी जसरी पनि पक्राउ गर्छौ
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरले नेपालमा अपराध गरेर बाहिर बसेकाहरुलाई ल्याउने काम भइरहेको र अन्य अपराधी वा फरारहरुको समेत खोजी भइरहेको बताए ।
उनले भने, ‘फरार रहेका अपराधीहरुको खोजी निरन्तर भइरहन्छ । हाम्रो नजरमा परेका व्यक्तिलाई हामी नेपाल ल्याएर कानुनी प्रक्रियामा सहभागी गराउँछौँ । अपराध गरेर लुकेका व्यक्तिहरु कुनै न कुनै दिन पक्राउ पर्छन् र सजाय भोग्नुपर्छ भन्ने बुझ्नु जरुरी छ ।’
पक्राउ परेका विरवलराय यादवलाई मुलुकी अपराध संहिता, २०७४ को दफा १०२ अनुसारको कसुरमा मुद्दा चल्ने गरी जिल्ला प्रहरी परिसर काठमाडौँको जिम्मा लगाइएको छ ।
मुलुकी अपराध संहिता, २०७४ को दफा १०२ मा पक्राउबाट उम्काउन वा थुनाबाट भगाउन नहुने सम्बन्धी व्यवस्था छ । यदि कुनै व्यक्तिले त्यस्तो गरेमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । तर त्यसरी भगाउने व्यक्ति राष्ट्रसेवक कर्मचारी भएमा त्यसको दोब्बर सजाय हुने कानुनी व्यवस्था छ । कानुनी व्यवस्था अनुसार यादवलाई ६ वर्षसम्म कैद र ६० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि, दुर्गा र कुलमानप्रति ओलीको कटाक्ष : भ्रष्टाचार र ठगी सह्य छैन
-
बीवाईडीको १०० विद्युतीय गाडी डेलिभरी
-
पूर्वराजा ज्ञानेन्द्र शाह लुम्बिनीमा, तस्बिरहरु
-
जनमत पार्टीकी सांसद सापकोटालाई पदबाट नहटाउने सभामुखको निर्णय
-
कम्बोडियामा ३२ हजार करोड लगानी रहेको आरोपपछि ओलीले भने– अमेरिकाका बैंकको आधा सम्पत्ति मेरै हो ल !
-
अहिलेको सरकार र समीकरणलाई कसैले हल्लाउन सक्दैन : प्रधानमन्त्री