त्रिवि उपकुलपतिका आकांक्षीमा राजनीतिक दाग, अग्निपरीक्षामा प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वविद्यालयलाई राजनीतिको चक्रव्यूहबाट अलग राख्ने सार्वजनिक प्रतिबद्धता जनाउँदै आएका छन् । जसअनुसार त्रिविको रिक्त उपकुलपति छनौटका लागि पहिलो पटक खुला प्रतिस्पर्धाको अभ्यास थालिएको छ ।
तर, उपकुलपतिका लागि आवेदन दिएका ४३ जनालाई केलाएर हेर्ने हो कुनै न कुनै रूपमा राजनीतिसँग साइनो नभएको भेट्नै मुस्किल देखिन्छ ।
प्रधानमन्त्रीले विश्वविद्यालयलाई राजनीतिबाट टाढा राख्ने र भागबन्डाको आधारमा पदाधिकारी चयन नगर्ने सार्वजनिक प्रतिवद्धतालाई आवेदकहरूको अनुहारले प्रश्न उठ्न थालेको शिक्षाविद्हरु बताउँछन् । शिक्षाविद् प्रा. डा. विद्यानाथ कोइराला उपकुलपति सिफारिसका लागि गठित सर्च कमिटीले राम्रो उम्मेदवारलाई आकर्षित गर्न नसकेको बताउँछन् ।
प्रधानमन्त्रीको खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रतिबद्धता प्रशंसनीय रहे पनि अहिलेका आवेदनहरूबाट त्यो पुरा नहुने पूर्व शिक्षा सचिव गोपीनाथ मैनाली बताउँछन् ।
उम्मेदवारको राजनीतिक साइनो
त्रिविको उपकुलपतिका लागि आवेदन दिएकाहरू अधिकांशले राजनीतिक दलको सदस्यता लिएको र त्यही आडमा यसअघि नियुक्ति लिएकाहरू नै छन् । आवेदक प्रायः सत्तारूढ दल नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस निकट छन् । एकाध प्रमुख प्रतिपक्षी दल नेकपा एमाले निकट छन् ।
त्रिविका उपकुलपति प्राडा शिवलाल भुसाललाई प्रधानमन्त्री प्रचण्डले सजिलै विश्वास गर्छन् । त्यस्तै राष्ट्रिय परीक्षा बोर्डका पूर्व अध्यक्ष समेत रहेका प्राडा चन्द्रमणि पौडेल माओवादी निकट नै हुन् । त्यस्तै केशरजंग बराल, लेखनाथ शर्मा लगायतका उम्मेदवार पनि माओवादी निकट भई विगतमा अवसर प्राप्त गरेका अनुहार हुन् ।
त्यस्तै त्रिविकै पूर्व उपकुलपति तीर्थ खनिया, पूर्व शिक्षाध्यक्ष गुणनिधि न्यौपाने, त्रिवि सेवा आयोगका पूर्व सदस्य केदार घिमिरेलगायत कांग्रेस निकट हुन् ।
आवेदन मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्राडा नन्दबहादुर सिंहलाई तत्कालीन प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले नियुक्त गरेका थिए । त्यस्तै इन्द्र बहादुर कार्की समेत एमाले निकट हुन् । नेकपा माओवादी केन्द्र र कांग्रेसका नेताहरूबिच उपकुलपति माओवादी निकट र रजिस्ट्रार कांग्रेस निकटलाई नियुक्त गर्ने गरी भागबन्डा भइसकेको नेताहरू बताउँछन् ।
आवेदन दिएकामध्ये २ जना महिला पनि छन्, प्राडा कुसुम शाक्य र प्राडा संगीता रायमाझी । रायमाझी अंग्रेजी विषयको प्रोफेसर हुन् भने शाक्य मानविकी संकायकी डीन हुन् । कुसुमलाई कांग्रेस निकट मानिएपनि संगीता भने खासै खुलेको पाइँदैन । शिक्षा मन्त्रालयका अनुसार आवेदन दिने ४३ मध्येबाट १५ जनाको अथवा एक तिहाइको सर्टलिष्ट निकालिनेछ । उनीहरूबाट नै तीन जनाको नाम सिफारिस गरिनेछ ।
पूर्व शिक्षा सचिव मैनालीले एक पटक विश्वविद्यालयमा काम गरिसकेको व्यक्तिलाई पुनः अवसर दिन नहुने बताए । ‘अहिले आवेदन दिएका व्यक्तिहरू कोही अर्को विश्वविद्यालयको उपकुलपति हुनुहुन्छ । कोही त्रिविकै पूर्व भिसी हुनुहुन्छ । कोही विश्वविद्यालयको पदाधिकारी वा अन्य क्षेत्रमा काम गरेकै व्यक्ति हुनुहुन्छ,’ मैनालीले भने, ‘उहाँहरूले आफ्नो क्षेत्रमा कस्तो काम गर्नुभएको छ त्यो देखिएकै छ । तसर्थ तिनैलाई उपकुलपति बनाउनु हुँदैन ।’ अहिलेको अवस्थामा उम्मेदवारी दिएकाहरूमध्ये नयाँलाई अवसर दिनुपर्ने उनको तर्क छ ।
‘यसअघि नै अवसर पाइसकेकाले कस्तो बनाएका थिए, त्यो त हामीले देखेकै हो । ८० को दशकअघि विश्वविद्यालयको शिक्षा लिएकाहरूलाई अवसर दिनु हुँदैन भन्ने हो । अहिलेको २१ औँ शताब्दीको विश्वविद्यालय कस्तो बनाउने भन्ने उनीहरूलाई थाहा हुँदैन’, मैनालीले भने ।
उसो त बुधवार प्रधानमन्त्रीहरूसँगको भेटमा शिक्षाविद्हरुले प्रधानमन्त्रीसँग विश्वविद्यालय सुधार अहिलेको प्रक्रियाले नहुने राय राखेका थिए । उनीहरूले कुलपति भिसी हुने व्यवस्था तत्काल हटाउनुपर्ने सुझाव प्रधानमन्त्रीलाई दिएका थिए । त्यस्तै बोर्ड अफ ट्रष्टीजमार्फत विश्वविद्यालय सञ्चालन गर्ने गरी प्रक्रिया अगाडि बढाउनुपर्ने सुझाव पनि उनीहरूको थियो ।
हालका भिसी शिवलाल भुसालको माघ १७ गते तीन महिने कार्यकाल पुरा हुनेछ । उनको कार्यकाल सकिने बेलासम्म सर्च कमिटीले उम्मेदवार भने सिफारिस गर्न सक्ने अवस्था छैन । शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले नियुक्ति प्रक्रिया पूरा गर्न केही समय लाग्ने बताए ।
यस्तो छ प्रक्रिया
आवेदन दिनेहरूमध्येबाट नै उपकुलपति छनोट तथा सिफारिस समितिले तीन जनाको नाम उपकुलपति नियुक्त गर्न सरकारलाई सिफारिस गर्नेछ । छनोट गर्न शिक्षामन्त्री तथा त्रिविका सहकुलपति अशोककुमार राईको अध्यक्षतामा तीन सदस्यीय समिति गठन गरिएको छ । समितिमा शिक्षा सचिव र चन्द्रकला घिमिरे सदस्य छन् । उक्त समितिले यतिबेला उपकुलपति छनोटको आवश्यक प्रक्रिया अगाडि बढाएको छ ।
प्रवक्ता सापकोटाले परेका दरखास्त रुजु गर्ने काम भइरहेको बताए । दरखास्त दिँदा तोकिएको मापदण्ड पुरा नभएका दरखास्तहरू खारेज हुने र योग्यहरूले मात्र अन्य प्रक्रियामा भाग लिन पाउने उनको भनाइ छ ।
‘दरखास्त तोकिएको मापदण्ड अनुसार पुरा भए नभएको छानबिन गरेर दरखास्त स्वीकृति हुन्छ । त्यसपछि पछि उनीहरू योग्य हुन्छन्,’ प्रवक्ता सापकोटाले भने, ‘दरखास्तहरू मध्ये एक तिहाइ अर्थात् अधिकतम १५ जनाको सर्टलिष्ट गरिन्छ । समितिले विज्ञहरूको सहयोग लिन सक्ने भनिएको छ । सम्भवतः विज्ञ टिम परिचालित हुन सक्छ ।’
विज्ञ टोलीले उम्मेदवारहरूको प्रस्तुतीकरण, दस्ताबेज लगायतको मूल्याङ्कन गर्नेछ । त्यही आधारमा समितिलाई आवश्यक सुझाव दिने र समितिले अन्तर्वार्ता तथा थप मूल्याङ्कन गरेर सरकारलाई तीन जनाको नाम सिफारिस गर्नेछ ।
‘त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिससम्बन्धी कार्यविधि, २०८०’ अनुसार समितिले यी सबै प्रक्रिया अगाडि बढाउनेछ ।
कार्यविधि अनुसार छनोट विधिमा उम्मेदवार पेस गरेको शैक्षिक योग्यता तथा अनुभव, पुस्तकको प्रकाशन, विश्वविद्यालयसम्बन्धी सोचपत्र (भिजन पेपर), त्रिभुवन विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्य योजना (प्रोफेसनल वर्क प्लान) सोको प्रस्तुतीकरण तथा अन्तर्वार्ता बापतको मूल्याङ्कन र अंकभारलाई १०० पूर्णाङ्कमा मानिनेछ ।
अंक विभाजन गर्दा प्राध्यापक पदमा कार्य अनुभव भएको खण्डमा १० अंक दिइनेछ । त्यस्तै विद्यावारिधि उपाधि प्राप्त गरेको खण्डमा ५ अंक, स्वदेशी वा विदेशी विश्वविद्यालय वा प्रतिष्ठानको पदाधिकारीको अनुभव हालिस गरेको खण्डमा ४ अंक, प्राज्ञिक एवम् अनुसन्धानमूलक पुस्तक लेखी प्रकाशन गरे बापत (आईएसबिएन सहितको कम्तीमा एक वटा पुस्तक प्रकाशन) ५ अंक पाइनेछ ।
त्यस्तै विश्वविद्यालयसम्बन्धी सोचपत्र र विश्वविद्यालयको चार वर्षे व्यावसायिक कार्य योजना बापत ३५ अंक छुटइएको छ । त्यस्तै प्रस्तुतीकरणमा २० र अन्तर्वार्ताका लागि १५ अकं छुट्याइएको छ । कार्यविधि अनुसार विभिन्न अंकभार अनुसार मूल्याङ्कन गरेर औषत अंकको आधारमा जम्मा पाएको नम्बरका आधारमा उम्मेदवारको अल्पसूची (सर्टलिष्ट) तयार गरिनेछ ।
त्यसपछि तीन दिनको सार्वजनिक सूचना प्रकाशन गरी सोचपत्र तथा कार्य योजनाको प्रस्तुतीकरण र अन्तर्वार्ता लिइनेछ । त्यसरी उच्च अंक प्राप्त गर्ने तीन जनाको नाम उपकुलपति पदमा नियुक्तिको लागि कुलपति समक्ष सिफारिस गर्नेछ ।
महत्त्वपूर्ण विषय : राजनीतिको अन्त्य
विश्वविद्यालयमा राजनीतिक भागबन्डा अति नै भएको भन्दै प्रचण्डले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्तिको प्रक्रिया अगाडि बढाएका हुन् । त्यसका लागि कार्यविधि कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्वघोषणा गर्नुपर्ने महत्त्वपूर्ण विषय राखिएको छ ।
बुधवार मात्र शिक्षाविद्हरूको समूहसँग प्रचण्डले विगतको परम्परामा ‘ब्रेक थ्रु ’ नै हुने बताएका थिए । विश्वविद्यालयलाई राजनीतिक भागबन्डाको थलो बन्न नदिन खुला प्रतिस्पर्धाबाट उपकुलपति छनोट गर्न लागिएको उनको भनाइ थियो । ‘देश बनाउन सबभन्दा ‘वेस्ट ब्रेन’ केन्द्रित हुनुपर्छ, विश्व विद्यालयलाई राजनीतिक भागबन्डाको थलो बनाउनु हुँदैन भनेर विगतको परम्परामा ‘ब्रेक थ्रु’ गर्न लागिएको छ, यसमा बौद्धिक समुदायको साथ र सहयोगको अपेक्षा गरिएको छ’, उनले भनेका थिए ।
छलफलमा प्राडा. केदारभक्त माथेमा, प्राडा विद्यानाथ कोइराला, डा पीताम्बर शर्मा, प्राडा चैतन्य मिश्र, प्रा कृष्ण खनाललगायत सहभागी थिए । उनीहरुले समग्र शिक्षा क्षेत्रसहित विश्वविद्यालयको पुनर्संरचना गर्ने गरी सुधार थाल्न सुझाव दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनका लागि यस्तो छ तयारी, आयोगले मागेको जति बजेट निकासा भएन
-
गैँडाको आक्रमणबाट एक जनाको मृत्यु
-
कुशलको कीर्तिमान तोडेका लोफ्टी–इटन चितवनमा अनुबन्ध
-
स्वर्णलक्ष्मी सहकारीको बैंक खाताहरू रित्तै, शून्यदेखि ४ रुपैयाँसम्म मौज्दात
-
स्वास्थ्य बीमा कार्यक्रममा ३० प्रतिशत नागरिक आबद्ध
-
मुख्यमन्त्री आचार्यले लिए अर्घाखाँची बस दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी