कोशीमा उलटफेर, ६ वटा प्रदेशमा गठबन्धनको ‘क्लिन स्विप’
काठमाडौँ । १९ पदका लागि बिहीबार सम्पन्न राष्ट्रिय सभा सदस्य निर्वाचन अन्तर्गत १८ पदमा सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् भने एक पदमा नेकपा एमालेका उम्मेदवार निर्वाचित भएका छन् ।
कोशी प्रदेशको महिला क्लस्टरमा गठबन्धनका चम्पा कार्कीलाई हराउँदै एमालेकी रुक्मिणी कोइराला ५०८६ मतभारसहित निर्वाचित भएकी हुन् । उनका प्रतिस्पर्धी कार्कीले चम्पा कार्कीले ४९९२ मतभार प्राप्त गरिन् । यो प्रदेशमा पुरुषतर्फ कांग्रेसका कृष्ण सिटौला ५२९२ मतभारसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी उद्धव पौडेलले ४५६२ मतभर मात्र पाए । कोशीमा महिलातर्फ गठबन्धनका मतदातामध्ये ३ प्रदेश सभा र १७ स्थानीय तहका मतदाताले फ्लोर क्रस गर्दा गठबन्धनकी कार्की पराजित बनेकी हुन् ।
मधेस प्रदेश
मधेस प्रदेशको दुई पदमा भएको निर्वाचन अन्तर्गत अन्य क्लस्टरमा कांग्रेसका आनन्द ढुंगाना र महिलातर्फ जसपपाका पूजा चौधरी निर्वाचित भए । ढुंगाना ७ हजार ३७० मतभार पाएर निर्वाचित भएका हुन् । महिला कोटातर्फ सत्ता गठबन्धनका चौधरीले ७ हजार ९२३ मतभार पाएर जितिन् ।
बागमती
बागमती प्रदेशमा पनि गठबन्धनका चारै जना विजयी भएका छन् । यो प्रदेशमा महिलातर्फ नेपाली कांग्रेसका विष्णुदेवी पुडासैनी ६ हजार ६२२ मतभार सहित विजयी बन्दा एमालेकी उम्मेदवार रोचकुमारी चौलागाईंलाई पराजित बनिन् ।दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल विश्वकर्मा ६ हजार ५१२ मतभार प्राप्त गर्दै विजयी बने । उनका प्रतिस्पर्धी एमालेका उम्मेदवार ध्रुवराज विश्वकर्माले तीन हजार ५२ मतभारमात्र पाए ।
अन्यतर्फ नेपाली कांग्रेसका उम्मेदवार जीतजंग बस्नेते ६ हजार ५३१ मतभारसहित निर्वाचित बन्दा नेकपा एमालेका त्रिलोचन निर्मल पौडेल दुई हजार ३५९ मतभारमा सीमित बने । अल्पसङ्ख्यक तथा अपांगतातर्फ माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी निर्वाचित अधिकारीले ६ हजार ४३६ मत प्राप्त गर्दा प्रतिस्पर्धी एमालेका देवकोटाले दुई हजार ७३४ मत ल्याए ।
गण्डकी
गण्डकी प्रदेशमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भए । यो प्रदेशमा कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगता/अल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट मनरुपा शर्मा निर्वाचित भइन् । श्रेष्ठले ३ हजार ८०८, परियारले ३ हजार ७७९ र मनरुपाले ३ हजार ६६० र मतभार पाउँदै निर्वाचित भए ।
एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगता÷अल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभारमात्र पाइन् ।
लुम्बिनी
लुम्बिनीको दुई पदमा भएको निर्वाचनमा महिलातर्फ कांग्रेसकी विष्णुकुमारी सापकोटा निर्वाचित भइन् । सापकोटाले ५४३५ मत भार प्राप्त गर्दै विजयी हुँदा नेकपा एमालेकी तुलसा केसीले २८६७ मतभार प्राप्त गरिन् ।
यस्तै अन्य कलस्टरमा नेकपा माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदी विजयी भएका छन्। सुवेदीले ५ हजार ४३५ मतभार प्राप्त गरी निर्वाचित भएका छन् भने उनका प्रतिद्धदी एमालेका झपेन्द्र बहादुर जिसीले ३०३९ मतभार प्राप्त गरेका छन् ।
कर्णाली
राष्ट्रिय सभा अन्तर्गत कर्णालीमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन् । तीन वटा सिटका लागि भएको निर्वाचनमा ६ जनाले उम्मेदवारी दिएका थिए । जसमा नेकपा एमालेका उम्मेदवारहरू पराजित भए भने गठबन्धनका तीनै जना उम्मेदवारहरू विजयी भए ।
कर्णालीमा दलित, महिला र अन्य कोटामा निर्वाचन भएको थियो । जसमा अन्यतर्फ नेपाली कांग्रेसका कृष्णबहादुर रोकाया, महिलातर्फ नेकपा एकीकृत समाजवादीका सावित्री मल्ल र दलिततर्फ नेकपा माओवादी केन्द्रका विष्णु विक विकल्प रहेका छन् ।
मल्लले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ ११५ मत प्राप्त गरिन् भने विकले प्रदेशसभातर्फ २९ र स्थानीय तहतर्फ १२० मत प्राप्त गरे । यस्तै रोकायाले प्रदेशतर्फ ३० र स्थानीय तहतर्फ १२० मत प्राप्त गरेका छन् ।
एमालेका उम्मेदवार विमला शाहीले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ४१ मत प्राप्त गरिन् भने हिक्मत विकले प्रदेशतर्फ ११ र स्थानीयतर्फ ३६ मत प्राप्त गरे । यस्तै डिल्ली प्रसाद भट्टले प्रदेशमा १० र स्थानीयतर्फ ३६ मत पाए ।
सुदूरपश्चिम प्रदेश
सुदूरपश्चिम प्रदेशमा गठबन्धनका तीनै जना उम्मेदवार निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । चन्द ४ हजार ४५३ मतसहित निर्वाचित भइन् । अपाङ्ग तर्फ कांग्रेसका नारायणदत्त भट्ट ४ हजार ४१९ मतसहित निर्वाचित भए । त्यस्तै अन्यतर्फ कांग्रेसकै बलदेव बोहरा विजयी भए । उनले ४ हजार ३४७ मत पाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऐन महरमाथि ‘बलात्कार’ मुद्दामा अनुसन्धान गर्न अदालतको आदेश
-
एनआरएनएको एकता महाधिवेशन गराउन भन्दै अघि बढे घले, कार्यविधि पारित
-
बढुवा भएका २५ एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान
-
भारतमा पुष्पक रेल दुर्घटना : मृत्यु हुनेको संख्या ११ पुग्यो
-
सर्वत्र आलोचनापछि पासाङलाई उपाध्यक्ष बनाउने प्रचण्डको योजना स्थगित
-
अर्शदीप सिंहले रचे इतिहास