शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
अपराध

अवैध हुन्डी र क्रिप्टोमा नेपालको अमेरिका कनेक्सन, श्रेष्ठ परिवार नै अवैध कारोबारमा

एक अमेरिकी डलरको सटही दर जम्मा १२२ रुपैयाँ !
बिहीबार, ११ माघ २०८०, १३ : ३५
बिहीबार, ११ माघ २०८०

काठमाडौँ ।  अस्वाभाविक बैंकिङ कारोबारमा संलग्न भएको सूचनाका आधारमा प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गत मंसिर ६ गते रुपेश श्रेष्ठलाई पक्राउ गर्‍यो । काठमाडौँको बागबजारस्थित घरमा बसिरहेको बेला ४८ वर्षीय श्रेष्ठलाई जरुरी पक्राउ पुर्जी दिई तत्कालै नियन्त्रणमा लिइयो । रुपेशको घरबाट सीआईबीको टोलीले हिसाबकिताबको खाता, डेस्कटप कम्प्युटर, ल्यापटप, मोबाइलहरू, पैसा गन्ने मेसिन, ८९ लाख नेपाली रुपैयाँ र ७ हजार २६ अमेरिकी डलर बरामद गर्‍यो । 

त्यसपछि प्रहरीले श्रेष्ठसँग सोधपुछ सुरु गर्‍यो । मोबाइल, लेजर खाता, ल्यापटप, बैंकिङ कारोबार र व्यापार व्यवसायको लेखाजोखा गर्दा उनको आम्दानी, खर्च, कारोबार आदिमा तादम्यता मिलेन । 

उनी क्रिप्टो करेन्सी, हुन्डी र बेटिङको कारोबार तथा काम गर्छन् भन्ने सूचना पहिल्यै सीआईबीले पाइसकेको थियो । सूचना प्रमाणित गर्न चाहिँ अनुसन्धान भयो । उनीसँग प्रारम्भिक बयान लिइयो । बयानका क्रममा श्रेष्ठले क्रिप्टोकरेन्सी, हुन्डी र बेटिङको तीन वटै आरोप अस्वीकार गरे । सीआईबीको टोलीले बरामद भएको मोबाइल, ल्यापटप, डेस्कटप कम्प्युटर, हिसाब खाता सबैको परीक्षण गर्दा सत्य लुकेन ।  केही डिलिट नगरी राखिएका र केही डिलिट गरिएका श्रेष्ठका सन्देशहरू  सीआईबीले हेर्‍यो । त्यसका आधारमा कैयन् व्यक्तिहरुसँग क्रिप्टो करेन्सी र हुन्डीको कारोबार भएको तथ्य सीआईबीले फेला पार्‍यो ।

श्रेष्ठसँग हुन्डी, क्रिप्टोकरेन्सी र बेटिङमा काम गर्ने आशिष अग्रवाल र कुमार परियार पक्राउ परेपछि उनीहरूकै बयानले रुपेश तीन वटै वित्तीय अपराधमा संलग्न रहेको पोल खुल्यो । त्यसपछि सीआईबीले पुनः रुपेशसँग बयान लियो । दोस्रो बयानमा भने रुपेशले हुन्डीको कारोबार गरेको, क्रिप्टोकरेन्सीमा सहजीकरण गरेको स्वीकार गरेको सीआईबीले जनाएको छ । बेटिङका लागि पनि पैसा लोड गरिदिनेलगायतको काम गरेको बयानमा खुलाए ।

रुपेशको बैंकिङ कारोबार, हिसाब खाताको अध्ययन र क्रिप्टोकरेन्सीको वालेट तथा अमेरिकामा मात्रै चल्ने नेपालको इसेवा वा खल्ती जस्तै वालेट क्यास एपको अध्ययन गर्दा रुपेश एक्लैले १ खर्ब ८६ अर्ब ३७ करोड ४८ लाख ५४ हजार ७८७ रुपैयाँको कारोबार गरेको पाइएको छ । सीआईबीले गरेको अनुसन्धानबाट बिगत ११ महिनाकै अवधिमा उनी एक्लैले झण्डै २ खर्ब रुपैयाँको वित्तिय कारोबार गरेको पुष्टि भएको छ । 

यो सबै कारोबार नेपालबाट रुपेश एक्लैले गरेको भने होइनन् । यसमा अमेरिकामा रहेका सहोदर भाइ दिपेश श्रेष्ठ, भान्जाहरू अन्सुल श्रेष्ठ र आयुष श्रेष्ठले साथ दिएका छन् । नेपालमा भने हुन्डी कारोबारी केही मारवाडी समुदायका व्यापारीहरु, सुन तस्करी प्रकरणमा पटकपटक नाम जोडिने विवादित व्यापारी विमल पोद्धार, सेयर ब्रोकर पवन अग्रवालका छोरा आशिष अग्रवाललगायतको संलग्नता पाइएको छ । गत आर्थिक वर्षमा नेपालको विकास बजेट ३ खर्ब २ अर्ब रुपैयाँ रहेको थियो । त्यसकै हाराहारीमा अर्थात् २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँको अवैध क्रिप्टोकरेन्सी, हुन्डी र बेटिङको कारोबार भएको पाइएको छ, ११ महिनाको अवधिमा । अमेरिकामा यो सबै काम रुपेशका भाइ दिपेशले गर्ने गरेको सीआईबीको अनुसन्धानबाट खुलेको छ । 

यस्तो छ रुपेश श्रेष्ठ जोडिएको क्रिप्टो करेन्सी, हुन्डी र बेटिङको कनेक्सन

काठमाडौंको बागबजार स्थायी ठेगाना भएका रुपेशको भाइ दिपेश श्रेष्ठ लामो समयदेखि अमेरिकामा व्यापार व्यवसाय गरी बसेका छन् । सीआईबी श्रोतका अनुसार अमेरिकामा दिपेशको ५ सय भन्दा बढी ग्यास स्टेसन, ५० भन्दा बढी शाखा भएको बैंकमा प्रतक्ष संलग्नता, पाँचतारे होटल र सपिङ मार्टहरू रहेका छन् । 

रुपेशका बुवा कृष्ण लाल श्रेष्ठ केही समय पहिलेमात्रै अमेरिकाको नागरिकता त्यागेर नेपाल फर्कि बसेको उनको बयानमा उल्लेख छ । रुपेश पनि अमेरिकाको नागरिकता लिई बसेको प्रहरीको दाबी छ । अमेरिकाको बैंकमै लगानी रहेको व्यक्ति भएको कारण उनले अमेरिकाकै नागरिकता लिएको अनुसन्धानको निष्कर्ष छ । 

अमेरिकामा दिपेशसँगै भान्जाहरू अन्सुल श्रेष्ठ र आयुष श्रेष्ठ छन् । उनीहरू पनि ग्यास स्टेसन र मार्टहरू चलाउनेलगायतको काम गर्छन् । दुई भान्जाहरू पनि मुख्यतः मामा दिपेश श्रेष्ठलाई नै सघाउने काम गर्छन् । 

दिपेशले ग्यास स्टेसन, बैंक, होटल र सपिङ मार्ट मात्रै चलाउँदैनन्, अमेरिकामा बसेर नेपालमा वा नेपालबाट हुन्डीको कारोबार, क्रिप्टोकरेन्सीको कारोबार, अनलाइन बेटिङ लगायतको काम पनि गर्छन् । त्यसका लागि उनले नेपालमा आफ्ना दाइ रुपेशलगायतका व्यक्तिहरूलाई परिचालन गरेका छन् । 

नेपालमा भने रुपेशसँग मिलेर काम गर्नेमा आशिष अग्रवाल, मिन बहादुर जिसी, कुमार परियार, झनिन्द्र प्रसाद खतिवडा, रुपेशकी श्रीमती रचना शर्मा, शरद भट्टराई, वीरेन्द्र मगर, बिगल सिंह शर्मा, ओम कुमार श्रेष्ठ, दिपक शर्मा, वङदेन फुन्सोक लामा, गोविन्द प्रसाद श्रेष्ठ र रुदे तामाङ तथा भारतीय नागरिक बिमल पोद्धार हुन् ।

अवैध कारोबारको केन्द्रमा दीपेश 

व्यापार तथा व्यवसाय गर्ने भएकाले अमेरिकामा पैसा पठाउन तथा पाउन दीपेश तथा उनको समूहका सदस्यहरूले नै काम गर्ने गरेका थिए । व्यापार तथा व्यवसायको कारोबार धेरै हुने भएकाले अमेरिकी सरकारको निगारीमा नपरेकाले दिपेशले नै नेपालमा पैसा पठाउन र अमेरिकामा पैसा लान हुन्डीको काम गर्ने गरेका थिए । तर अधिकांश कारोबार क्रिप्टोकरेन्सीमार्फत् गर्थे । कारोबार गर्न नेपालमा दाइ रुपेशको सहयोग लिएर काम गर्ने गरेको प्रहरीको दाबी छ । 

यदि कुनै व्यापारी वा व्यक्तिलाई अमेरिका लगायतका देशमा पैसा पठाउनु परेमा नेपालमा रुपेशले पैसा लिने कम सटही दरमा अमेरिकामा नगद दिने वा क्रिप्टोकरेन्सीमार्फत् अन्य देशमा पनि पठाउने कार्य भएको पाइएको छ । सीआईबी श्रोतका अनुसार यो समूहले दुबई, क्यानडा, बेलायत लगायतका देशमा पनि क्रिप्टोकरेन्सीको कारोबार गरेको पाइएको छ । 

त्यसैगरी अमेरिकामा अवैध तरिकाले काम गरेका व्यक्तिहरू वा श्रोत खुलाउन नसक्ने पैसा नेपालमा पठाउने कार्यमा दीपेश, अंशुल तथा आयुषको भूमिका रहेको पाइएको छ । उनीहरूले अमेरिकामा पैसा लिएर नेपालमा प्रति एक डलरको एक सय २२ रुपैयाँका दरले सटही गरी दिने गरेको पाइएको छ । अनुसन्धानमा संलग्न सीआईबी श्रोतका अनुसार हाल एक अमेरिकी डलरको मूल्य १ सय ३३ रुपैयाँ ५० पैसाको हाराहारीमा रहँदा रुपेशले भने प्रति एक अमेरिकी डलर मात्रै १ सय २२ रुपैयाँका दरले रकम दिएका छन् । यस्तो कार्यबाट उनीहरूलाई एक हजार अमेरिकी डलर मात्रै सटही गर्दा पनि औसतमा ११ देखि १२ हजार नाफा भएको पाइएको छ । रुपेशको समूहले एक वर्षको अवधिमा करिब १ अर्ब रुपैयाँ नाफा गरेको पनि सीआईबी श्रोतको दाबी छ । 

सुनको अवैध तस्करीका लागि पनि हुन्डीको कारोबार

नेपालमा अवैध सुन तस्करी प्रकरणमा जोडिएका व्यक्तिहरूसँग पनि रुपेशको कारोबार भएको पाइएको छ । ३३ किलो सुन तस्करी, विमानस्थलमा समातिएका चन्द्र घलेको १४ किलो सुन तस्करीलगायतको प्रकरणमा जोडिएका विवादित व्यवसायी पोद्धारसँग रुपेशले मोटो रकमको कारोबार गरेको पाइएको छ । नेपालमा अवैधरुपमा सुनको आयात र तस्करीमा संलग्न रहेका भनिएका भारतीय नागरिक पोद्धारलाई विदेशमा अमेरिकी डलर तथा क्रिप्टोकरेन्सीको रकम उपलब्ध गराउन रुपेशले सहयोग गर्ने गरी कारोबार गरेको पाइएको दाबी प्रहरीको छ ।

स्क्रिप्ट, हुन्डी र अनलाइनको बेटिङको हिसाब राख्न ३ कर्मचारी !

अवैध विदेशी विनिमय, क्रिप्टोकरेन्सी, हुन्डी आदिको कारोबारमा संलग्न रहेका भनिएका रुपेशले आफ्नो हिसाबकिताब राख्न तीन जना कर्मचारी राखेको पाइएको छ । सीआईबीले पक्राउ गरी बुझाएका झापाका झनिन्द्र खतिवडा रुपेशका एकाउण्टेण्ट हुन् । गौरादह नगरपालिका वडा नम्बर ४, झापा स्थायी ठेगाना भएका ४५ वर्षीय झनिन्द्र प्रसाद खतिवडा रुपेशका मुख्य अकाउण्टेण्ट हुन्, जो रुपेशसँगै प्रहरी हिरासतमा छन् । 

रुपेशलाई हिसाबकिताब वा खाता व्यवस्थापनमा सहयोग गर्ने विदुर नगरपालिका वडा नम्बर ४, नुवाकोटका २७ वर्षीय सरद भट्टराईले पनि खाता वा हिसाब व्यवस्थापनमा सहयोग गर्ने गरेको पाइएको प्रहरी बताउँछ । सरद पहिले अप बिट कन्सल्टेन्सीका कर्मचारी थिए । कन्सल्टेन्सी बन्द भएपछि रुपेशको अवैध धन्दामा सहयोग गर्दै आएको पाइएको छ । अहिले उनी फरार छन् । 

त्यस्तै धादिङको गल्छी गाउँपालिका २ का २५ वर्षीय वीरेन्द्र मगर पनि रुपेशकै अवैध धन्दामा सहयोग गर्ने तलबी कर्मचारी रहेको पाइएको छ । रुपेशले यी तीन जनालाई हिसाबकिता राख्न लगाउने गरेको पाइएको छ । मगर पनि हाल फरार रहेका छन् ।

त्यस्तै हाल फरारको सूचीमा राखेर अवैध कारोबारमा मुद्दा चलाइएकी रचना शर्मा रुपेशकी श्रीमती हुन् भने अमेरिकामै रहेका भाइ दीपेश श्रेष्ठ तथा भाञ्जाहरु अंशुल श्रेष्ठ र आयुष श्रेष्ठविरुद्ध पनि काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर भएको छ । 

त्यस्तै रुपेशसँग अवैध क्रिप्टोकरेन्सीमा संलग्न रही कारोबार गरेको देखिएका बागलुङका मीन बहादुर जिसी, काठमाडौंका आशिष अग्रवाल र पदमपोखरी मकवानपुरका कुमार परियारविरुद्ध अदालतमा मुद्दा चलेको छ । प्रहरीले रुपेश श्रेष्ठसहित आशिष अग्रवाल, झनिन्द्र प्रसाद खतिवडा, मीन बहादुर जिसी र कुमार अग्रवाल गरी ५ जनालाई पक्राउ गरी अदालतमा पेस गरेको छ । अन्य १२ जनालाई फरारको सूचीमा राखी मुद्दा दायर गरिएको छ । 

फरारको सूचीमा राखी मुद्दा दायर भएकाहरूमा रुपेशकी पत्नी रचना शर्मा, भाइ दिपेश श्रेष्ठ तथा भान्जाहरू अंशुल श्रेष्ठ र आयुष श्रेष्ठ, नेपालमा कारोबारमा संलग्न तथा सहयोगी सरद भट्टराई, अर्का सहयोगी वीरेन्द्र मगर, भारतीय नागरिक पोद्धार,  दाङको बबई गाउँपालिका ६ स्थायी ठेगाना भई हाल काठमाडौँ महानगरपालिका ३२ बस्ने २४ वर्षीय बिगल सिंह शर्मा, कमलामाई नगरपालिका ६, सिन्धुलीका ४६ वर्षीय ओम कुमार श्रेष्ठ, स्याङ्जाको पुतलीबजार ४ का ४० वर्षीय दीपक शर्मा, रामेछापको उमाकुण्ड गाउँपालिका १ का वङदेन फुन्सोक लामा, देवचुली नगरपालिका १०, नवलपुरका ६९ वर्षीय गोविन्द प्रसाद श्रेष्ठ तथा मन्थली नगरपालिका १०, रामेछापका ५३ वर्षीय रुदे तामाङ रहेका छन् । उनीहरु सबै जनासँग गरी कुल २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँको अवैध क्रिप्टोकरेन्सी, हुन्डी र अनलाइन बेटिङको कारोबार भएको पाइएपछि सोही रकमलाई बिगो कायम गरी काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ । 

यस्तो छ लिंक चार्ट

दिपेश श्रेष्ठ (अमेरिका) : अमेरिकामा ५०० भन्दा बढी ग्यास स्टेशन, ५० भन्दा बढी ब्राञ्च भएको बैंक, पाँचतारे होटल र कैयन् डिपाटैमेण्टल स्टोर सञ्चालक । 

अंशुल श्रेष्ठ र आयुष श्रेष्ठ (भान्जाहरू)  : मामा दिपेश श्रेष्ठलाई अमेरिकामा सहयोग गर्ने, अवैध क्रिप्टोकरेन्सी, हुन्डी लगायतका काममा अमेरिका र नेपालमा मामा रुपेश श्रेष्ठमार्फत् काम गर्ने तथा गराउने ।

शरद भट्टराई, विरेन्द्र मगर र झनिन्द्र प्रसाद खतिवडा : रुपेश श्रेष्ठको हिसाबकिताब हेर्ने र कारोबारमा सहयोग गर्ने तलबी कर्मचारीहरु ।

रचना शर्मा : रुपेशकी श्रमिती । रुपेशले नै रचनाको बैंक खाताहरु सञ्चालन गर्ने र रचनाको नाममा रहेको मोबाइल तथा सिम कार्ड प्रयोग गरी कारोबार गर्ने गरेको । 

आशिष अग्रवाल, मीन बहादुर जिसी, भारतीय नागरिक विमल पोद्धार, बिगल सिंह शर्मा, ओम कुमार श्रेष्ठ, दीपक शर्मा, वङदेन फुन्सोक लामा, गोविन्द प्रसाद श्रेष्ठ, रुदे तामाङ रुपेशसँग मिलेर अवैध हुन्डी, क्रिप्टोकरेन्सी तथा अनलाइन बेटिङमा संलग्न व्यक्ति र कारोबारी ।

रुपेशले बयानमा भने, ‘हुन्डीको कारोबार गरेको हुँ’

अधिकारप्राप्त अधिकारीसमक्ष बयान दिने क्रममा पक्राउ परेका प्रतिवादी रुपेश श्रेष्ठले आफूले हुन्डी र क्रिप्टो करेन्सीको कारोबार गरेको बयान दिएका छन् । अमेरिकामा रहेका भाइ, भान्जाहरू तथा केही साथीहरुमार्फत् आफूले हुन्डीको कारोबार गरेको रुपेशको बयानमा उल्लेख छ ।

यस्तो छ रुपेशको बयानको केही अंश-

‘... अमेरिकामा बसोबास गरी अमेरिकामा व्यवसाय गर्ने मेरो सहोदर भाइ दिपेश श्रेष्ठ र भान्जा आयुष श्रेष्ठको ग्यास स्टेसनमा काम गर्ने नेपालीहरूको तलब बापतको रकम मैले नेपालमा रहेका निजहरूको आफन्तलाई भुक्तानी गर्ने गरेको हुँ । निजहरूको बैंक खाता तथा नगदै समेत भुक्तानी दिने गरेको थिए । यसरी रकम भुक्तानी दिने काम करिब १ वर्ष अगाडीबाट गर्न थालेको हुँ । मैले नेपालमा भुक्तानी दिएको रकम मेरो भाइ तथा भान्जाले मलाई पठाउने गरेका थिए ।’

‘... बरामदी मुचुल्कामा उल्लिखित र्यान बेकर र जोन रोबर्टस् भनी लेखिएको रजिस्टर थान –२ मेरो घरबाट बरामद भएको रजिस्टरहरू हुन् । सो रजिस्टर मैले हुन्डी बापतको रकम भुक्तानी गरी सोको कारोबारहरु उल्लेख गरि रेकर्ड राखेको रजिस्टरहरू हुन् । र्यान बेकर र जोन रोबर्टस् हामीले सञ्चालन गरेको अप बिट कन्सल्टेन्सीमा विद्यार्थीहरु ल्याईदिने काम गर्दथे । निजहरूले ल्याएको विद्यार्थीहरूको रेकर्ड राख्नको लागि भनी सो रजिस्टरमा निजहरूको नाम लेखिएको थियो । कन्सल्टेन्सी बन्द भए पश्चात् सोही रजिस्टरमा मैले रकम भुक्तानी दिएको रेकर्ड राखेको हुँ । र्यान बेकर र जोन रोबर्टस् धरान तिरका नेपाली नागरिक हुन् । हुन्डीको कारोबारमा निजहरूको कुनै संलग्नता रहेको छैन । बरामदी मुचुल्कामा उल्लेखित र्यान बेकर/जोन रोबर्टस् लेखिएको रजिस्टरमा सन् सन् २०२२–११–०१ देखि २०२३–११–१७ सम्म विभिन्न व्यक्तिहरूको नाम, रकम उल्लेख गरी डेलिभरी, क्लियर भनी लेखिएको हस्तलिपी मेरो कर्मचारी सरद भट्टराईको हो । सो रजिस्टरहरूमा उल्लेखित रकमहरू अमेरिकामा रहेका मेरो सहोदर भाइ दिपेश श्रेष्ठ, भान्जा आयुष श्रेष्ठको पसल, ग्यास स्टेशनमा काम गर्ने नेपालीहरूको तलब बापतको रकम निजहरूको नेपालमा रहेका परिवारलाई मैले नेपालमा भुक्तानी दिएको रकमहरू हुन् । सो रकम मैले दिए पश्चात् सो बापतको रकम मलाई मेरो भाइ दिपेश श्रेष्ठ र भान्जा आयुष श्रेष्ठले दिने गरेका थिए । मैले हुन्डी मार्फत नेपालमा भुक्तानी दिएका रकमहरूको रेकर्ड सो दुई वटा रजिस्टरमा रेकर्ड राखेको हुँ भने केही रकमहरू विदेश अध्ययन गर्न जानको लागि खातामा रकम जम्मा भएको देखाउनु पर्ने भएको हुँदा सो खातामा रकम जम्मा गर्नको लागि मसँग १–२ दिनको लागि भनी ऋण सापटी लिने गरेका थिए । सो ऋण सापटी दिएको रकम समेत मैले सो रजिस्टरहरूमा लेख्ने गरेको थिएँ ।’

‘ मैले विमल पोद्धार भनी सेफ गरिएको मोबाइल नम्बर ९८६२****०० पहिलेदेखि चिनजान भएको साथी हुन् । निजसँग मेरो सामान्य चिनजान मात्र रहेको छ । अमेरिकाबाट मेरो साथी जगदीश विष्टले भारतीय नागरिक सतिसलाई ट्रोन एड्रेसमा २०,००० युएसडीटी पठाएकोमा सोको स्क्रिन सट जगदीश विष्टले मलाई पठाएकोमा मैले सो स्क्रिन सट भारतीय नागरिक सतिशलाई पठाएको हुँ ।

... कारोबार सबै अमेरिकाबाट हुने गरेको थियो । सो बापत मलाई कुनै रकम दिने गरेका थिएनन् । मैले सहयोग मात्र गरेको थिए । हुन्डी कारोबारमा मेरो मात्र संलग्नता रहेको छ । अमेरिकामा भएको कारोबार भएको हुँदा उक्त फोटोहरू हटाउन जरुरी नठानी मेरो मोबाइलमा सुरक्षित राखेको हुँ । मलाई हुन्डीको कारोबार गर्नको लागि अमेरिकामा बसोबास गर्ने भाइ तथा भान्जाले आवश्यक रकम समय समयमा पठाउने गरेका थिए । सोही रकमहरूबाट अमेरिकामा काम गर्ने नेपालीहरूको परिवारलाई नेपालमा भुक्तानी दिने गरेको थिएँ । सो बापत मलाई मेरो भाइ तथा भान्जाले समय समयमा १–२लाख नेपाली रकम दिने गरेका थिए । इजाजत पत्र नलिई विदेशी विनिमय (हुन्डी) को कारोबार गर्ने कार्यमा मेरो मात्र संलग्नता रहेको छ । मैले विदेशी विनिमय (हुन्डी) को कारोबार मेरो का.जि.का.म.पा वडा नम्बर २८ स्थित घरबाट नै गरेको हुँ ।’

‘... मिति २०८०।०८।०६ गते मेरो का.जि.का.म.पा वडा नं.२८ बागबजार स्थित रहेको अफिस घरबाट बरामद भएको मोबाइल तथा ल्यापटपहरूको परीक्षण पश्चात् क्यास एप मार्फत भएका अवैध विदेशी विनिमय कारोबार अमेरिकामा मात्र चल्ने कारोबार हो । सो मोबाइल अमेरिकाबाट पठाएको हुनाले सो मोबाइलमा क्यास एपको कारोबार भएको देखिएको हो । नेपालमा क्यास एप को कारोबार गर्न मिल्दैन र हुँदैन । क्यास एप अमेरिकन नागरिक बाहेक अन्य व्यक्तिले चलाउन मिल्दैन । मिति २०८०।०८।०६ गते मेरो का.जि.का.म.पा वडा नम्बर २८ बागबजारस्थित मेरो घर तथा मेरो अफिस कोठाबाट बरामद भएका मोबाईलहरुको परीक्षणको क्रममा मेरो मोबाईलको ह्वाट्सएप मा आएका वालेट एड्रेसहरु मेरो होइन । उल्लेखित वालेट एड्रेस सम्बन्धमा माथी उल्लेखित सवाल जवाफमा खुलाई लेखाई दिएको छु । सालिकराम धिताल समेतका व्यक्तिहरूसँग मेरो चिनजान छैन । निजहरूलाई मैले के–कति रकम दिएको हुँ मलाई यकिन थाहा छैन । नेपालमा प्रतिबन्धित क्रिप्टो करेन्सी को कारोबार पक्राउ प्रतिवादी कुमार परियारले गरेका छैनन । पक्राउ प्रतिवादी आशिष अग्रवालले मलाई ह्वाट्सएप च्याटमा वालेट एड्रेस चेक जाँच गरि दिनु भनी वालेट एड्रेस पठाउने गरेका थिए । निज आशिष अग्रवालले क्रिप्टो करेन्सी सम्बन्धी कारोबार गरेको सम्बन्धमा मलाई कुनै जानकारी छैन । आशिष अग्रवाल, कुमार परियार र मिन बहादुर जिसीको मोबाईलहरुको परीक्षण प्रतिवेदनबाट क्यास एप मार्फत भएका कारोबार अमेरिकामा मात्र चल्ने कारोबार हो । निज आशिष अग्रवाल, कुमार परियार र मिन बहादुर जिसीले कहिलेकाहिँ विदेशमा भएका नेपाली विद्यार्थीहरूको कलेज फी बापत रकम तिर्न अमेरिकामा रहेका व्यक्तिहरूसँग सरसापटी गर्ने गरेका थिए । सोही सरसापट क्यास एप मार्फत अमेरिकामा फिर्ता गरी सोको स्क्रिनसट नेपालामा निज मिन बहादुर जिसी समेतलाई पठाउने गरेको कारण मोबाइलमा क्यास एपको स्क्रिनसट देखिएको हो । सो कारोबार सबै अमेरिकामा भएको हो ।’

यसरी अवैध हुन्डी क्रिप्टोकरेन्सी र अनलाइन बेटिङमा संलग्न रही ११ महिनाको अवधिमा २ खर्ब ८६ अर्ब ४ करोड २५ लाख ८ हजार ७५४ रुपैयाँको कारोबार गरेको पाइएपछि पक्राउ परेका ५ प्रतिवादी र १२ जनालाई फरारको सूचीमा राखी मुद्दा चलाइएको हो । 

सीआईबी प्रमुख भन्छिन्, ‘क्रिप्टो भोलिका दिनमा झन विकराल बन्दैछ’

रुपेश श्रेष्ठ जोडिएको क्रिप्टोकरेन्सी, हुन्डी र अनलाइन बेटिङ प्रकरणमा २ खर्ब ८६ अर्बको कारोबार भएको पाइएपछि सोही रकम बराबर नै बिगो कायम गरी अदालतमा मुद्दा दायर भयो । कानुनले क्रिप्टोकरेन्सी भनेर स्पष्ट किटान नगरेको कारण अनुसन्धान र अभियोजन विद्युतीय कारोबार ऐन अन्तर्गत रहेर मात्रै हुने गरेको छ । तर सो कसुरसम्बन्धी स्पष्ट व्यवस्था नहुँदा अधिकांश मुद्दामा अदालतले छाडिदिने वा सफाई दिने गरेको छ । 

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)की प्रमुख एआइजी किरण बज्राचार्य स्पष्ट कानुनको अभावले क्रिप्टोकरेन्सीको अनुसन्धान र अभियोजन कमजोर रहेको स्वीकार गर्छिन् । एआइजी बज्राचार्यका अनुसार सीआईबी वा अन्य निकायसँग यससम्बन्धी सफ्टवेयर वा प्रविधि उपकरण नहुँदा अनुसन्धान नै समस्या हुने गरेको छ । 

क्रिप्टोकरेन्सीको कारोबार गरेको विद्युतीय उपकरण, ट्राञ्ज्याक्सन आदिको प्रमाण अदालतमा पेस गरेपनि अदालतमा समेत त्यससम्बन्धी ज्ञान हुने जनशक्तिको अभाव रहेको बज्राचार्यको भनाइ छ । 

सीआईबी प्रमुख बज्राचार्य यदि तत्काल कानुन नबन्ने जनशक्तिलाई तालिम वा आवश्यक उपकरण खरिद नगर्ने र क्रिप्टोकरेन्सीलाई समयमै उचित नियमन र व्यवस्थापन नगर्ने हो भने आगामी दिनमा समस्या झनै विकराल हुने चुनौती दिन्छिन् । 

अवैध क्रिप्टोकरेन्सी र हुन्डी प्रकरणमा पक्राउ परेकाहरुको कारोबार र संलग्न व्यक्तिहरूको विवरण तथा सिआरएस हेर्दा यसको कनेक्सन कुनै न कुनै रुपमा अवैध सुन तस्करीसँग सम्बन्धित रहेको बज्राचार्यको भनाई छ । हाल पक्राउ परेका आशिष अग्रवाल सेयर ब्रोकर कम्पनी सञ्चालक समेत रहेको कारण सेयर ब्रोकरहरु समेत अवैध हुन्डी र क्रिप्टोमा संलग्न रहेको हो कि भन्ने शंकासमेत उब्जिएको बज्राचार्यले बताइन् । उनी भन्छिन्, ‘पक्राउ परेका आशिष सेयर ब्रोकर समेत हुन् । झन्डै १ खर्बको उनको कारोबार देखिएको छ । उनी एक जनाको कारोबार देखिँदैमा सेयर ब्रोकर पनि त्यता लागिहाले भन्न त मिल्दैन, तर अनुसन्धान भने जरुरी भइसकेको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मदन ढुङ्गाना
मदन ढुङ्गाना
लेखकबाट थप