प्रतिस्पर्धात्मक खेलमा पाकिस्तानसँग हार्यो नेपाल
काठमाडौँ । दक्षिण अफ्रिकामा जारी आईसीसी यू–१९ विश्वकप क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । नेपाली टोली बुधबार खेलिएको आफ्नो दोस्रो खेलमा बलियो प्रतिद्वन्द्वी पाकिस्तानसँग पाँच विकेटले पराजित भएको हो ।
यसअघि आफ्नो पहिलो खेलमा नेपाली टोली अर्को टेस्ट राष्ट्र न्युजिल्यान्डसँग ६४ रनले पराजित भएको थियो । नेपालले समूहगत चरणको आफ्नो तेस्रो तथा अन्तिम खेल आगामी शनिबार अफगानिस्तानसँग खेल्ने छ ।
अफगानिस्तान पनि यसअघि खेलिएको आफ्नो दुवै खेलमा पराजित भएको छ । अफगानिस्तानलाई पहिलो खेलमा पाकिस्तानले एक सय ८१ रनले र दोस्रो खेलमा न्युजिल्यान्डले एक विकेटले पराजित गरेका थिए ।
त्यसैले शनिबार खेलिने नेपाल र अफगानिस्तानबिचको खेल दुवै टोलीका लागि निर्णायक हुनेछ । उक्त खेलमा विजयी हुने टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा पुग्नेछन् । जारी विश्वकपमा सहभागी १६ टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।
समूहगत चरणको खेलपछि प्रत्येक समूहबाट तीन–तीन टोली प्रतियोगिताको ‘सुपर सिक्स’ चरणमा प्रवेश गर्ने प्रावधान राखिएको छ । त्यसैले समूह ‘डी’ बाट दुई–दुई खेल जितिसकेका पाकिस्तान र न्युजिल्यान्ड पहिलो र दोस्रो हुँदै ‘सुपर सिक्स’ चरणमा पुग्ने निश्चित छ ।
यस्तो स्थितिमा नेपाल र अफगानिस्तानमध्ये एक टोलीसँग मात्र ‘सुपर सिक्स’ चरणमा पुग्ने अवसर हुनेछ । त्यसैले शनिबार खेलिने नेपाल र अफगानिस्तानबिचको खेल यी दुवै टोलीका लागि निकै महत्त्वपूर्ण हुनेछ ।
बुधबार खेलिएको खेलमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर एक सय ९७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको पाकिस्तानले भने ४७.४ ओभरमा पाँच विकेट गुमाएर दुई सय एक रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।
पाकिस्तानका लागि ओपनर ब्याट्सम्यानद्वय समाइल हुसैन र साहजिब खानले ८० रनको साझेदारी गरे । दुवै ओपनर ब्याट्सम्यानले ३७–३७ रन बनाए । तेस्रो नम्बरका ब्याट्सम्यान अराफत मिनहस भने आठ रन बनाउँदै पेभेलियन फर्किए ।
चौथो नम्बरका ब्याट्सम्यान अजान अवाइसले अविजित ६३ रन जोडे । कप्तान साद बेग भने खाता खोल्नुअघि नै पेभेलियन फर्किए । अहमद हसनले टोलीको खातामा २९ रन थपे । एक सय चार रनमा चौथो विकेट गुमाएपछि केही समय पाकिस्तानी ब्याट्सम्यान नेपाली बलरको दबाबमा परेका थिए ।
सोही कारणले पाकिस्तानको रन बनाउने गतिमा सुस्तता आएको थियो । टोली अप्ठ्यारो स्थितिमा रहँदा अजान अवाइस र अहमद हसनले जिम्मेवारीपूर्वक ब्याटिङ गर्दै पाकिस्तानको स्कोरलाई सुस्त गतिमा अगाडि बढाएका थिए ।
यी दुई ब्याट्सम्यानले टोलीको स्कोरलाई एक सय ६८ रनको स्थितिसम्म पु¥याए । पाकिस्तानका लागि हारुन अर्सनदले पनि अविजित १५ रन बनाए । नेपाली टोलीका बलर आकाश चन्द एक्लैले तीन विकेट लिए । आकाश त्रिपाठी र दिपेश कँडेलले पनि एक–एक विकेट हात पारे । पाकिस्तानले अतिरिक्त रुपमा पनि १२ रन पाएको थियो ।
त्यसअघि नेपालका लागि ओपनर विपिन रावलले सर्वाधिक ३९ रन बनाएका थिए । कप्तान देव खनालले पनि २३ रन जोडे । गुलसन झाले टोलीको खातामा १८ रन थपेका थिए । दीपक डुम्रेले २६ रन बनाएका थिए ।
सुवाष भण्डारीले पनि २० रन जोडेका थिए । दिपेश कँडेलले पनि १३ रन बनाए । आकाश चन्द १६ रनमा अविजित रहे । उनले ११ बलमा एक छक्का र एक चौका पनि हिर्काएका थिए । दुर्गेस गुप्ता अन्तिम विकेटका रुपमा शून्य रनमा पेभेलियन फर्किएका थिए ।
पाकिस्तानी टोलीका बलर अराफाता मिनहसले तीन विकेट लिएका थिए । अहमद हुसैन र उबैद शाहले पनि दुई–दुई विकेट हात पारे । खुबैद खलिल, अली असफान्द र मोहम्मद जिसनले पनि एक–एक विकेट लिए । नेपालले अतिरिक्त रुपमा २६ रन पाएको थियो ।
पहिलो विकेटका रुपमा नेपालले ओपनर अर्जुन कुमाललाई गुमाएको थियो । उनी १२ बलमा ६ रन बनाउँदै आउट भएका थिए । उनलाई पाकिस्तानी बलर अहमद हुसैनले बोल्ड गरेका थिए । उनी आउट हुँदा नेपालले ४.२ ओभरमा २९ रन बनाएको थियो ।
दोस्रो विकेटका रुपमा आकाश त्रिपाठी ६ रन बनाउँदै आउट भए । उनले १० बलमा एक चौका प्रहार गरे । उनलाई पनि पाकिस्तानी बलर अहमद हुसैनले अराफत मिनहसद्वारा क्याच गराए । ६.५ ओभरमा आकाश आउट हुँदा नेपालले ४३ रन बनाएको थियो ।
नेपालले तेस्रो विकेटका रुपमा कप्तान कप्तान देव खनाललाई गुमाएको थियो । उनी २३ रन बनाउँदै आउट भएका थिए । उनले ३७ बलको सामना गरी तीन चौका हिर्काए । १७.१ ओभरमा उनी आउट हुँदा नेपालले ८० रन बनाएको थियो । उनलाई अली असफान्दले उबैद शाहद्वारा क्याच गराएका थिए ।
चौथो विकेटका रुपमा नेपालले उत्तम रंगु थापामगर १५ बलमा चार रन बनाउँदै आउट भएका थिए । विकेटकिपर ब्याट्सम्यान उत्तमलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । २१औँ ओभरको अन्तिम बलमा उनी आउट हुँदा नेपालले ८५ रन बनाएको थियो ।
पाँचौँ विकेटका रुपमा नेपालले ओपनर ब्याट्सम्यान विपिन रावललाई गुमाएको थियो । उनी ३९ रन बनाउँदै पेभेलियन फर्किए । उनले ६८ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काएका थिए । उनलाई पाकिस्तानी बलर अराफात मिनहसले अली असफान्दद्वारा क्याच गराएका थिए । उनी आउट हुँदा नेपालले २६.४ ओभरमा ९६ रन बनाएको थियो ।
नेपालले छैटौँ विकेटका रुपमा गुलसन झालाई गुमाएको थियो । उनी ४७ बलमा १८ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनलाई पाकिस्तानी बलर खुबैब खलिलले अराफात मिनहसद्वारा क्याच गराएका थिए । ३७.२ ओभरमा उनी आउट हुँदा नेपालले एक सय २७ रन बनाएको थियो ।
सातौँ विकेटका रुपमा नेपालले दिपेश कँडेललाई गुमाएको थियो । उनी १७ बलमा दुई चौकाको मद्दतले १३ रन बनाउँदै आउट भए । उनलाई पाकिस्तानी बलर अराफात मिनहसले बोल्ड गरेका हुन् । उनी आउट हुँदा नेपालले ४२.२ ओभरमा एक सय ४८ रन बनाएको थियो ।
आठौँ विकेटका रुपमा नेपालले दीपक डुम्रेलाई गुमाएको थियो । उनी २६ रन बनाउँदै आउट भएका थिए । उनले ५८ बलमा एक चौका पनि हिर्काए । उनलाई पाकिस्तानी बलर मोहम्मद जिसनले विकेटकिपर साद बेगद्वारा क्याच गराए । उनी आउट हुँदा नेपालले ४६.५ ओभरमा एक सय ७२ रन बनाएको थियो ।
नेपालले नवौँ विकेटका रुपमा सुवाष भण्डारीलाई गुमाएको थियो । उनी २४ बलमा २० रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनको विकेट पाकिस्तानी बलर उबैद शाहले लिएका थिए । उनी आउट हुँदा नेपालले ४९.५ ओभरमा एक सय ९७ रन बनाँएको थियो ।
नेपालले यसअघि सन् २००२ मा न्युजिल्यान्डमा आयोजित यू–१९ विश्वकपमा पाकिस्तानलाई हराएको थियो । त्यो विश्वकपको समूहगत चरणको खेलमा नेपालले पाकिस्तानी टोलीलाई ३० रनले पराजित गरेको थियो । यू–१९ विश्वकपमा नेपालले हराएको पहिलो टेस्ट राष्ट्र पाकिस्तान नै हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल आइपुगे कमेडियन सुनिल ग्रोवर
-
एनपीएल खेल्न नेपाल आइपुगे ओमानका पूर्वकप्तान जिसन मक्सुद
-
बङ्गलादेशमा इस्कोनमाथि प्रतिबन्धको माग खारेज
-
मदन भण्डारी स्पोर्टस एकेडेमीको वार्षिक खेल कार्यक्रम सार्वजनिक
-
नवनियुक्त लेखामान बोर्ड, लेखापरीक्षणमान बोर्ड अध्यक्ष र अर्थमन्त्रीबिच भेटवार्ता
-
कीर्तिपुरमा चुनावी सरगर्मी : तस्बिरमा कांग्रेस र माओवादीको आमसभा