शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : आर्मीले लुम्बिनीलाई ६५ रनले हरायो

बुधबार, १० माघ २०८०, १६ : ५६
बुधबार, १० माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको बुधवारको खेलमा त्रिभुवन आर्मी क्लबले लुम्बिनी प्रदेशलाई ६५ रनले हराएको छ । हालसम्म ६ खेल खेलेको आर्मी क्लबले हासिल गरेको यो चौथो जित हो ।

दुई खेलमा आर्मी क्लब पराजित भएको छ । चार खेल खेलेको लुम्बिनी प्रदेशको भने यो तेस्रो हार हो । एक खेलमा लुम्बिनी प्रदेश विजयी भएको छ । सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको आर्मी क्लबले निर्धारित २६ ओभरमा सात विकेट गुमाएर एक सय ७० रन बनाएको थियो ।

जवाफी ब्याटिङमा ओर्लिएको लुम्बिनी प्रदेशले भने निर्धारित ओभरमा आठ विकेट गुमाएर एक सय पाँच रनमात्र बनाउन सक्यो । खराब मौसमका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएका कारण खेल २६–२६ ओभरमा झारिएको हो । लुम्बिनी प्रदेशका लागि ओपनर मृनाल गुरुङले १८ रन बनाए । कृष्ण कार्कीले अविजित ३५ रन जोडे । उनले ६२ बलमा दुई छक्का र तीन चौका पनि हिर्काए ।

मोहम्मद हुसैले १५ रन बटुले । अभिषेक गौतमले अविजित ११ रन बनाए । लुम्बिनी प्रदेशका चार ब्याट्सम्यानले त खातासम्म खोल्न सकेनन् । लुम्बिनी प्रदेशले अतिरिक्त रुपमा २१ रन पायो । आर्मी क्लबका बलर कुशल मल्लले चार विकेट लिए । उनले ६ ओभरमा दुई मेडन राख्दै केवल ११ रन खर्चिए । सोमपाल कामीले पनि दुई विकेट लिए । अविनाष कर्ण र साहब आलमले पनि एक–एक विकेट हात पारे ।

त्यसअघि आर्मी क्लबका लागि ओपनर इमरान शेखले उत्कृष्ट अर्धशतकीय पाली खेलेका थिए । उनले अविजित ६७ रन बनाए । उनले ७० बलमा एक छक्का र सात चौका पनि हिर्काए । अर्का ओपनर सन्तोष कार्की ११ रन बनाउँदै आउट भए ।

तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्कीले टोलीको खातामा २४ रन थपे । उनले ४० बलमा एक छक्का र एक चौका पनि हिर्काए । कुशल मल्ल भने पाँच रन बनाउँदै पेभेलियन फर्किए । कप्तान बिनोद भण्डारीले टोलीको खातामा ३४ रन थपे । उनले केवल २५ बलको सामना गरी एक छक्का र चार चौका पनि हिर्काए ।

बिवेक यादव ६ रनको ब्यक्तिग स्कोरमा पेभेलियन फकिए । बसिर अहमदले पनि दुई रन बनाए । आर्मी क्लबले अतिरिक्त रुपमा पनि २१ रन पाएको थियो । लुम्बिनी प्रदेशका बलर नर सार्की र मोहम्मद हुसैनले दुई–दुई विकेट लिए । कृष्ण कार्की र निर्मल गुरुङले पनि एक–एक विकेट हात पारेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप