सूर्य नेपाल इस्टर्न ओपन सुरु, पहिलो दिन शुक्रलाई एक स्ट्रोकको अग्रता

धरान । सूर्य नेपाल इस्टर्न ओपनको पहिलो दिन नेपाल नम्बर एक गल्फर शुक्र बहादुर राई ३-अन्डर ६७ को स्कोरमा शीर्षस्थानमा रहेका छन्।
डिफेन्डिङ च्याम्पियन शुक्रले धरानका अर्का गल्फर नीरज तामाङलाई १८ होलको समाप्तिमा १ स्ट्रोकले पछि पारे। २-अन्डर ६८ सहित नीरज तामाङ दोस्रो स्थानमा छन्।
एमेच्योरद्वय युवराज भुजेल र पदम हाङ संयुक्तरुपमा तेस्रो स्थानमा रहे। उनीहरूले १-अन्डर ६९ स्कोर गरे। पूर्व नम्बर एक गल्फर भुवन नगरकोटी इभन-पार ७० सहित पाँचौँ स्थानमा र १-ओभर ७१ स्कोरमा रामे मगर छैटौँ स्थानमा रहेका छन्। स्थानीय प्रो सबिन सापकोटा र देवराज पाख्रिनले २-ओभर ७२ सहित संयुक्तरुपमा सातौँ स्थान बाँडे।
भेट्रान गल्फर दीपक मगर ३-ओभर ७३ सहित नवौँ स्थानमा रहदा धन बहादुर थापा र एमेच्योर गजेन्द्र गुरूङ संयुक्तरुपमा दशौं स्थानमा रहेका छन्। उनीहरूले ४-ओभर ७४ मा पहिलो दिनको खेल सकाए।
भारतीय गल्फ टुरमा २०२४ सिजनको लागि कार्ड जोगाएर फर्किएका शुक्रले आज घरेलु कोर्स धरान गल्फ क्लबमा राम्रो सुरुवात गरे। ५-पारको तेस्रो होलमा इगलको सफलता प्राप्त गरे तर लगतै चौथो होलमा डबल बोगीको सामना गरे। यसपछि पाँचौँ देखि सातौँ र नवौँ होलमा बर्डीको सफलता प्राप्त गर्दै फ्रन्ट नाइन ४-अन्डर ३२ मा सकाए। ब्याक नाइनमा उनले लय गुमाए। १३औँ होलमा दिनको दोस्रो डबल बोगी खेपेका शुक्रले १२औँ र १६औँ होलमा एक-एक सट बचाए। तर १७औँ होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।
धरानका अर्का प्रो नीरज तामाङले पहिलो दिन दोस्रो स्थानमा खेल सकाउने क्रममा उत्कृष्ट सुरुवात गरे। तेस्रो, पाँचौँ र नवौँ होलको बर्डीले फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। यसपछि १४औँ र १५औँ होलमा लगातार दुई बोगी प्रहार गरे। १६औँ होलको बर्डीले ब्याक नाइन १-ओभर ३५ मा पुरा गरे।
एमेच्योर गल्फर युवराजले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाउने क्रममा तेस्रो र पाँचौँ होलमा एक-एक सट बचाए। १२औँ होलमा बर्डी प्रहार गरे। तर १४औँ १६औँ होलको बोगीले ब्याक नाइन १-ओभर ३५ मा सकाए।
अर्का एमेच्योर पदमले पहिलो, छैटौँ, आठौँ र नवौँ होलमा बर्डी प्रहार गरे। तर चौथो होलमा डबल बोगी र पाँचौँ होलमा बोगी खेप्दा फ्रन्ट नाइन १-अन्डर ३५ मा सकाए। यसपछि १०औँ र १८औँ होलमा बर्डी प्रहार गरेका पदमले १४औँ र १५औँ होलमा एक-एक सट खेर फाले।
तीन दिने ५४ होलको प्रतियोगितामा ३० प्रो र १७ एमेच्योर गल्फर गरी कुल ४७ जनाको सहभागीता रहेको छ। ३६ होलको समाप्तिमा कट लागु हुनेछ। जहाँ २१ टप प्रोफेसनल खेलाडीले अन्तिम १८ होलको लागि स्थान बनाउनेछन्। यो पटक देखि एमेच्योर खेलाडीको हकमा भने प्रोफेसनल खेलाडीको कटमा पर्नेले मात्र अन्तिम १८ होलको प्रतिस्पर्धामा सहभागीता जनाउन पाउनेछन्।
कुल ८ लाख ४० हजार नगद पुरस्कार राशी रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार, तथा दोस्रो र तेस्रो हुनेले क्रमशः ९६ हजार र ७२ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै उत्कृष्ट २१ मा पर्न सफल प्रो गल्फरले नगद हात पार्नेछन्। प्रतियोगिताको अन्तिम दिन शनिवार प्रो-एम प्रतियोगिता हुनेछ।
पीजीए नेपालद्वारा आयोजित सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत कुल आठ प्रतियोगिता हुनेछन्। जसमा कुल ६५ लाख नगद पुरस्कार रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्याङ्की निर्माण भएको पाँच वर्ष, प्रयोग नहुँदै जीर्ण
-
हावाहुरीले केराखेतीमा क्षति, तनावमा किसान
-
१२ बजे, १२ समाचार : नो केबलकार पक्षद्वारा आन्दोलनका थप कार्यक्रम घोषणादेखि आफ्नै साथीको हत्या आरोपमा ३ जना पक्राउसम्म
-
आफ्नै साथीको हत्या गरेको आरोपमा पर्सामा ३ जना पक्राउ
-
पाथीभरा केबलकार विवाद : आन्दोलनका थप कार्यक्रम घोषणा
-
बैंकिङ्ग कसुर मुद्दामा फरार युवती पक्राउ