कुन विष खतरनाक : धर्मान्तरण कि धर्मतन्त्र ?
सन् २००१ मा भारतमा ‘गदर’ फिल्म निर्माण भएको थियो । यो फिल्मको मुख्य कथा सन् १९४७ अगस्त १४ मा कसरी भारतबाट टुक्रिएर पाकिस्तान बन्यो, पाकिस्तान अलग बनाउन ब्रिटिसले कस्तो भूमिका खेल्यो भन्ने सम्बन्धमा छ । फिल्मको कथा केही काल्पनिक भए पनि यसको अन्तर्यमा हिन्दु–मुस्लिमको भिडन्तमा मुलुक टुक्रिएको भन्ने स्पष्ट बुझ्न सकिन्छ । भलै, यो विषयमा भारतका इतिहासकारले मुगल राज्यहरूलाई एकीकरण गरेर ब्रिटिस सरकारले भारतका हिन्दुलाई फेरि शक्तिमा पुर्याएको पनि व्याख्या गरेका छन् । तर, भारतबाट पाकिस्तान र पाकिस्तानबाट बंगलादेश निर्माण हुनुको मूल कारण धर्मतन्त्र थियो । यसका विविध तथ्य भारतको इतिहासमा छर्लङ्ग छ ।
धर्मतन्त्रले विश्वमा कैयौँ मुलुक तहसनहस मात्र बनेनन्, आन्तरिक चरम दरिद्रमा जाकिएका छन् । यसका केही उदाहरण दक्षिण एसियामै फर्केर हेर्न सकिन्छ । अफगानिस्तान कुनै बेला सामाजिक स्वतन्त्रतामा निकै अब्बल थियो । यहाँ यहुदी, मुस्लिम, इसाई र केही हिन्दुहरूको सम्मिश्रण समाज निर्माण थियो । महिलाहरूको स्वतन्त्रता सोभियत संघ हालको रुसमा झैँ बराबरी थियो । त्यो बेला नै रुसले अफगानिस्तानलाई आफ्नो हिस्सा बनाउन चाहन्थ्यो । सन् १९७८ मा पिपुल्स डेमोक्रेटिक पार्टी अफ अफगानिस्तान (पीडीपीए) स्थापना गर्न रुसले मद्दत गर्यो । तत्कालीन राष्ट्रपति मोम्मद दाउद खानलाई विस्थापित गरेर अफगानिस्तानमा कम्युनिस्टले सत्ता हत्यायो । यो कालखण्डमा अफगानिस्तानको सामाजिक परिवेश खुला मात्र थिएन, छात्र–छात्रालाई समान शिक्षा र अवसर पनि थियो ।
जब सन् १९९२ मा पीडीपीए दललाई सत्ताच्युत गरेर मुस्लिम संगठनहरूले शासन सञ्चालन गरे, त्यसपछि यो देश पूरै अन्धकारमा भासियो । यो भन्दाअघि अफगानिस्तानमा एकल धर्मको शासन थिएन । त्यसपछि विभिन्न खाले उस्तै प्रकृतिका मुस्लिम धार्मिक संगठनहरूले पालैपालो अफगानिस्तानमा शासन गर्दै आएका छन् । हाल यहाँ बहुसङ्ख्यक पस्तुन छन् भने अन्य समुदाय पनि मुस्लिम धर्म बाहेकका घेराबाट बाहिर जान सक्दैनन् । बन्द समाजभित्र चलिरहेको हालको अफगानिस्तानमा महिलालाई शिक्षामा पूर्ण बन्देज छ भने बेरोजगार ८५ प्रतिशतसम्म पुगेको छ ।
दक्षिण एसियामा प्रभुत्व जमाएर बसेको मुलुक हो भारत । तर यो मुलुकभित्रका आफ्नै व्यथा छन् । सन् १७०७ सम्म यहाँ २१ वटा मुगल शासनका कोलोनी थिए । पछि मुगलहरूको आन्तरिक झगडाले यी राज्यको सङ्ख्या ६०० भन्दा बढी पुगेको तथ्य पाइन्छ । ब्रिटिसले शासन गर्नुअघि मुगलहरूको आधिपत्य रहेको भारतमा सन् १५२६ अघि भने विभिन्न राज्यहरूमा विविध धर्मका शासकको बाहुल्य थियो । यिनै राज्यहरूमध्ये कुनै बेलाको फैजाबाद जिल्लालाई अहिले अयोध्या जिल्ला नामकरण गरियो र यसको हेडक्वार्टर पनि अयोध्या राखियो ।
हिन्दु मुस्लिमको तानातान र मिश्रित शासनले भारतले एकल धर्म राज्य घोषणा कहिल्यै गरेन । यो कालखण्डसम्म ठिकठिकै थियो भारत । ब्रिटिसले ठुला विकास निर्माण गरिदियो, रेल गुडाइदियो र सन् १९४७ मा ब्रिटिस शासकहरू आफ्नै मुलुक बेलायत फर्किए । त्यसपछि भारतमा चलेको धार्मिक शीतयुद्ध र सामाजिक हिंसाले हालसम्म धेरै हद पार गरिसकेको छ । यो अवधिमा खालिस्तानदेखि कस्मिर, गोवादेखि अरुणाञ्चल, मणिपुर क्षेत्रहरू अलग्ग देशका रूपमा टुक्रिन सक्ने अवस्था पनि सिर्जना भयो । भलै अहिले पनि यी राज्यहरूमा ठुलो आन्तरिक संघर्ष जारी छ ।
जब सन् १९८० मा भारतीय जनता पार्टी (बीजेपी) स्थापना भयो र यो पार्टीले निरन्तर एउटै मुद्दा बोकेर राजनीति सुरु गरिरह्यो । हालसम्म यो पार्टीको विधानमा मुल मुद्दा भनेको भारतको हिन्दुकरण र दक्षिण एसियामा हिन्दुत्व आधिपत्य स्थापना गर्नु निरन्तर रूपमा राखिएको छ । यही मुद्दालाई बोकेर बीजेपीले सन् १९८४ मा देशभर हिन्दु धर्मलाई फैलाउन रथयात्रा सुरु गर्यो । यहीबिचमा सन् १९८४ अक्टोबर ३१ मा कंग्रेस आई नेतृ इन्दिरा गान्धीको मृत्यु भयो । एकातिर, कांग्रेसलाई आफ्नो संस्थापक नेता गुमाउनुपरेको अवस्था थियो भने यही अवधिमा बीजेपी देशभर राजनीतिक मुद्दा बोकेर कुदिरहेको थियो । यही वर्ष भएको लोकसभा चुनावमा बीजेपीले दुई सिट जित्न सफल भयो । यहीँबाट सुरु भएको भाजपाको राजनीतिकयात्रा आजपर्यन्त जारी छ । यही शक्तिको आडमा सन् २०२४ जनवरी २२ मा स्थापित अयोध्याको राम मन्दिरमा प्राण प्रतिष्ठा भर्ने अभियान चलाएर भाजपाले धर्मतन्त्रको बिजारोपण सुरु गरिदिएको छ ।
हिन्दु धर्मका विभिन्न गन्यमान्य शंकराचार्यहरूले बहिष्कार गरेको यो प्राण प्रतिष्ठा कार्यक्रमले भारतमा एकखाले कित्ताकाटको अवस्था सिर्जना गरिदिएको छ । खासगरी यो कार्यक्रम सुरु हुनु एक दिनअघि कंग्रेस अध्यक्ष राहुल गान्धीले एक वक्तव्य जारी गर्दै भनेका थिए, ‘भारतको सनातन धर्ममाथि बीजेपीले विभेदको सुरुवात गरेको छ ।’
हुन त, भारतले हिन्दु धर्मलाई आफ्नो पेवा सम्झे पनि नेपाल मौलिक रूपमा पहिल्यै सनातन धर्ममा बलियो रहेको छ । नेपालमा राजा महेन्द्रले २०१९ सालको संविधानमा हिन्दु राष्ट्र नेपाल राखेपछि भारत चिढिएको थियो । त्यहीबेला जवाहरलाल नेहरुले भारतको समानान्तरण नाम हिन्दुस्तान बनाउने घोषणा लोकसभामा प्रस्तुत गरे । भारतको संविधानमा दुईखाले शब्दलाई जबरजस्त राखिएको छ– पहिलो, भारत र दोस्रो हिन्दुस्तान । यसैको आडमा गत वर्ष प्रधानमन्त्री नरेन्द्र मोदीले अखण्ड भारतको एउटा नक्सा सार्वजनिक गरेर दक्षिण एसियामा संशयको वातावरण तयार गरिदिएका थिए । उनको उद्देश्य थियो, हिन्दु धर्मको धर्मतन्त्रलाई दक्षिण एसिया हुँदै विश्वभर फैलाउनू । यो विषय स्वयं उनले गत वर्ष नै बेलायत भ्रमण गर्दा त्यहाँ रहेका भारतीयको भेलामा खुला रूपले उद्घोष गरेका थिए ।
नेपाल र भारतमा समान एउटा विषय सधैँ पेचिलो बन्दै आएको छ, त्यो हो धर्मान्तरण । यी दुवै देशमा धर्म परिवर्तन गराउनेलाई कारबाही गर्ने बुँदाहरू संविधानमै लिपिबद्ध गरिएको छ । अब एकछिन धर्मान्तरणको विषयमा प्रवेश गरौँ । हिन्दु धर्मलाई सनानत धर्मको रूपमा व्याख्या गरिन्छ । किनकि, यसको उत्पत्ति र सुरुवातको कुनै मिति नै छैन । अर्थात् विश्वमा सबैभन्दा पुरानो धर्मको रूपमा हिन्दु र योसँग जोडिएको सनातन आदर्शलाई मानिन्छ ।
सन् १९४५ मा संयुक्त राष्ट्रसंघ स्थापना भएपछि विश्वभर स्वतन्त्र र सार्वभौम देशहरूको अस्तित्वका लागि युद्धहरू भए । विभिन्न देशहरू टुक्रने र जोडिने क्रम यही अवधिमा तीव्रता छायो । योबिचमा करिब ५० मुलुकहरूले मुस्लिम राष्ट्र घोषणा गरे । सयभन्दा बढी मुलुकहरू इसाई धर्मका नामबाट फैलिँदै गए । तर, पृथ्वीमा मानव जातिको सुरुवातबाटै मानिआएको सनातन हिन्दुको फैलावट दक्षिण एसियाभन्दा बाहिर जान सकेन । वर्तमान अवस्थामा पनि विश्वमा नेपाल र भारत मात्र हिन्दु राष्ट्र बनेर चिनिएका छन् । हुन त मौरिसस लगायत मुलुकमा पनि हिन्दुको सङ्ख्या बढेको छ । तर, तुलनात्मक रूपमा हिन्दुभन्दा कान्छा धर्महरूमा आएको व्यापकता र हिन्दु धर्म सीमित घेरामा मात्र रहनुका गहन अर्थहरू फेरि उधिन्नुपर्ने अवस्था सिर्जना भएका छन् ।
धर्मान्तरण नहुने हो भने अन्य धर्मका व्यक्तिहरूले कसरी हिन्दु धर्ममा फर्कने ? यो प्रश्न नेपाल र भारतका हिन्दु मठाधीशहरूतर्फ नै फर्कन्छ । कि अन्य धर्मका व्यक्तिहरू हिन्दु धर्ममा फर्कन नपाउने हुनुपर्यो, कि त धर्मान्तरण स्वीकार गर्नुपर्यो । यदि धर्मान्तरण भएन भने हिन्दु धर्म संसारभर फैलिन्छ कसरी ? सन्दर्भ चीन, रुस, अस्ट्रेलिया, स्विजरल्यान्ड लगायत मुलुक जहाँ बहुसङ्ख्यक नन–रिलिजन जनता भएका देशहरूको होइन । प्रश्न धर्मतन्त्र चलाउने उद्देश्य बोकेको भारतका लागि हो । बीजेपीले भनेझैँ सनातन हिन्दु धर्मलाई व्यापकता बनाउने हो भने धर्मान्तरण नभई हिन्दुको फैलावट कसरी सम्भव छ ?
यो आलेखमा कुनै धर्मको प्रचार वा कुनै धर्मप्रति घृणा बिलकुल होइन । स्वयं यो पङ्क्तिकार पनि खुला धर्मको मान्यता राखेर आफ्नो सनातन धर्ममा विश्वास राख्ने भएकाले यसका मूल्य–मान्यतालाई विश्वमाझ विश्वास जित्न कति खुला हृदय चाहिन्छ भन्ने अर्थ मात्र हो । खासगरी, नेपाल भारतका धर्म, जातजाति र सम्प्रदायबिचको मतभिन्नता, भेदभाव, कमजोर सोचमा धेरै हदसम्म समानता छ । यसबाट पीडित शासकहरू कहिल्यै भएनन् । जनता नै कुनै न कुनै रूपमा कर्नरमा लखेटिएका पक्कै हुन् ।
भारतले कुनै बेला भुटानलाई हिन्दुकरण गर्न बजेट नै विनियोजन गरेको थियो । तर, सन् १९९८ मा भुटानका राजाले बुद्ध दर्शनबाट हामी हाम्रो समृद्धिको यात्रा तय गर्नेछौँ, तपाईंहरूले हामीसँग धर्मका मुद्दा नछिराउनुहोला भनेर दिल्लीमा पत्र पठाएका थिए । फलस्वरूप आजसम्म भुटान धर्मका मामिलामा कहिल्यै विवादमा परेन । उता बंगलादेश मुस्लिम मुलुक भए पनि शासन र राजनीतिमा भारतले सधैँ निर्देशन जारी गर्छ । पाकिस्तानबाट अलग गराउने भूमिकामा भारतले बंगलादेशलाई सहयोग मात्र गरेन, हिन्दु धर्मावलम्बीलाई बंगलादेशमा सहजीकरण गर्न भारत सधैँ निर्णायक बन्दै आएको छ । उता माल्दिभ्समा भारतले सन् १९९७ मा हिन्दु धर्मको मुद्दा संसद्मा लान तत्कालीन सरकारलाई एक दबाबपत्र पठायो । तर, मुस्लिम मुलुक माल्दिभ्सले त्यसलाई इन्कार गरिदियो । अहिले पुनः यही मुद्दालाई लिएर मोदी सरकार माल्दिभ्ससँग चिढिएको छ ।
केही दिनअघि मात्र माल्दिभ्स सरकारले सन् २०२४ मार्च १५ सम्म सम्पूर्ण भारतीय सेनाले आफ्नो जमिन छोड्न अल्टिमेटम दिइसकेको छ । यसको कारण के थियो भने मोदीले माल्दिभ्सको अधीनमा रहेको लक्ष्यद्वीप क्षेत्रलाई पकडमा राख्ने प्रयत्न गर्नु । मोदी सरकारले लिएको रणनीतिको विरोधमा यतिबेला माल्दिभ्समा ‘इन्डिया आउट’ अभियान सुरु गरिएको छ ।
उता, श्रीलंकामा भारतले आर्थिक सहयोग दिएको नाममा सुरु गरेको राजनीति हस्तक्षेप चकनाचुर बनेको छ । सन् २०१९ मा विश्वभर फैलिएको पहिलो कोभिड भाइरसले थलिएको श्रीलंकाको अर्थतन्त्रमा भारतले एक खाले सौदाबाजी खेल्दै धर्मतन्त्रको अभ्यास सुरु गरेको थियो, तर एक वर्षपछि श्रीलंका सरकारले चीनसँग पुनः हात अघि बढायो र भारतको सहयोगलाई इन्कार गरिदियो । अहिले श्रीलंकाको अर्थतन्त्र पुनः पहिलेको अवस्थामै तङ्ग्रिन थालिसकेको छ भने पर्यटन क्षेत्रले उत्साहजनक रूपमा आर्थिक उपार्जन गरिरहेको छ ।
अतः दक्षिण एसियामा भारतले अभ्यास थालेको धर्मतन्त्रले यतिबेला त्यही बिन्दुमा प्रहार गरेको छ, जहाँ भारतले नै निषेध गरेको धर्मान्तरणलाई पुनः ब्युँझाइदिएको छ । इन्डोनेसिया, मलेसिया लगायत बहुसङ्ख्यक मुस्लिम समुदाय भएर पनि खुला परिवेश र मजबुत अर्थतन्त्र बनाउन सफल मुलुक हाम्रा सामुन्ने केही उदाहरण छन् ।
उता, धर्मलाई राजनीतिमा घोलेर शासन गर्ने अफगानिस्तान र पाकिस्तान पनि हाम्रासामु अर्का उदाहरण नै हुन् । यता, भारतले दबाब सिर्जना गरेको हिन्दुत्वको धर्मतन्त्रले कतै नेपालको सनातन पहिचानमाथि धावा बोल्ने त होइन र एक जब्बर धर्मको अन्धकारमा जाकिने त होइन, हालैको अयोध्यामा देखिएका दृश्यले शंका उत्पन्न गराएको छ । स्वयं भारत धर्मबाट परेसान छ भने कतै त्यही टेन्सनको वातावरण नेपाल भित्रिन त सक्दैन, फेरि एकपटक नेपालीले अतीतकै धार्मिक सहिष्णुता सोचहरूमा फर्कनुपर्छ । किनकि २०१९ सालमा हिन्दु राष्ट्र बनेको होस् वा त्यसअघिको धर्मनिरपेक्षता नेपाल भएको अवधि होस् नेपाल सधैँ धर्मका सन्दर्भमा शान्तिभूमिको रूपमा आफ्नो परिचय बोकेर चिनियो । यही परिचय कायम राख्न नेपाललाई न धर्मान्तरण आवश्यक छ न त धर्मतन्त्र ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क