बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : करणको उत्कृष्ट ब्याटिङसँगै बागमतीमाथि गण्डकीको रोमाञ्चक जित

मङ्गलबार, ०९ माघ २०८०, १६ : ३७
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशमाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको छ ।

जारी प्रतियोगितामा गण्डकी प्रदेशको यो दोस्रो जित हो । हालसम्म पाँच खेल खेलेको गण्डकी प्रदेश तीन खेलमा पराजित भएको छ । बागमती प्रदेशको भने यो तेस्रो हार हो । हालसम्म सात खेल खेलेको बागमती प्रदेश चार खेलमा भने विजयी भएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको बागमती प्रदेशले ४९.१ ओभरमा अलआउट हुनुअघि एक सय ९८ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको गण्डकी प्रदेशले ४९.३ ओभरमा सात विकेट गुमाएर दुई सय दुई रन बनाउँदै विजयलक्ष्य पार गर्‍यो ।

गण्डकी प्रदेशको जितमा करण पंगेनीले उत्कृष्ट अधैशतकीय पाली खेले । उनले टोलीका लागि ७९ रनको योगदान गरे । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले टोली अप्ठ्यारो स्थितिमा रहँदा जिम्मेबारीपूर्वक ब्याटिङ गर्दै ९८ बलमा तीन छक्का र ६ चौका पनि हिर्काएका थिए ।

ओपनर ब्याट्सम्यान इश्वर क्षेत्रीले पनि टोलीको खातामा ३६ रन थपे । उनले ४२ बलमा एक छक्का र पाँच चौका प्रहार गरे । मुस्कान थापाले पनि २७ रन जोडे । लामो समय क्रिजमा टिकेका उनले ७१ बलमा दुई चौका हिर्काए ।

कमल परियारले २३ बलमा तीन चौकाको मद्दतले २० रन बनाए । अंकित न्यौपाने ६ रनमा अविजित रहे । ओपनर समिर कँडेलले १९ रन बटुले । गण्डकी प्रदेशले अतिरिक्त रुपमा ११ रन पायो । बागमती प्रदेशका बलर प्रतिश जीसीले दुई विकेट लिए । रिजन ढकाल, सूर्य तामाङ र विपिन आचार्यले पनि एक–एक विकेट हात पारे ।  

त्यसअघि बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यानद्वय आशुतोष घिरैया र इशान पाण्डेले ९० रनको साझेदारी गरेका थिए । आशुतोषले पेभेलियन फर्किनुअघि ४४ रन बनाए । उनले ६९ बलको सामना गरी पाँच चौका पनि हिर्काए ।

अर्का ओपनर इशानले पनि टोलीको खातामा ४३ रन थपे । उनले ६२ बलको सामना गरी दुई छक्का र दुई चौका पनि हिर्काए । पाँचौँ नम्बरमा क्रिज समाल्न आएका अशोक पौडेलले ३० रन जोडे । उनले ४७ बलमा एक छक्का र एक चौका प्रहार गरेका थिए ।

सातौँ नम्बरका ब्याट्सम्यान विपिन आचार्यले पनि टोलीको खातामा ३८ रन थपे । उनले ५४ बलमा चार चौका हिर्काए । कप्तान रित गौतम भने १३ बनाउँदै पेभेलियन फर्किए । सूर्य तामाङले पनि १५ रन बनाए । बागमती प्रदेशले अतिरिक्त रुपमा ११ रन पाएको थियो ।

गण्डकी प्रदेशका बलर कमल परियार एक्लैले चार विकेट लिए । उनले १० ओभरमा एक मेडन राख्दै ३१ रन खर्चिए । विपिन खत्री र अमृत गुरुङले पनि दुई–दुई विकेट हात पारे । सन्दीप पराजुलीले पनि एक विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप