बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय
रिपोर्ट

न्युरोडमा पार्किङ निषेध : व्यापारी भन्छन्, ‘हामीलाई खाडीमा पठाउन खोजेको हो ?’

भत्काएरै समाधान हुने भए महानगर भत्काउन जाने चेतावनी
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले न्युरोड क्षेत्रको कालोपत्रे सडकमा सवारी पार्किङमा रोक लगाएको छ । महानगरले काठमाडौँ टावरमा निःशुल्क पार्किङ सुविधा उपलब्ध गराउने विकल्प दिँदै न्युरोड क्षेत्रमा पार्किङ गर्न नपाइने जनाएको हो ।

तर महानगरको निर्णयप्रति न्युरोडका व्यापारीहरूले पनि असन्तुष्टि जनाएका छन् । पार्किङ हटाउने निर्णयले आफ्नो व्यापारमा असर पर्ने भन्दै उनीहरूले पसल नै बन्द गरेर सडकमा विरोध प्रदर्शन गरेका छन् । 

सडकको पार्किङ हटाएको राम्रो भए पनि अर्को व्यवस्थित विकल्प दिएर हटाउँदा राम्रो हुने प्रदर्शनमा उत्रिएका व्यापारी हरिराम गौतमको भनाई छ । उनी भन्छन्, ‘व्यवसायको केन्द्र मानिने न्युरोडमा पार्किङ नै भएन भने दिनहुँ आउने हजारौँ ग्राहकसहित व्यापारी पनि मर्कामा पर्छन् । त्यसैले व्यवस्थित विकल्प दिए राम्रो हुन्छ ।’

पार्किङ भएन भने व्यापार नै रोकिने अर्का व्यापारी महेन्द्र शाहीको भनाई छ । पार्किङ नभएपछि बजार खाली हुने र व्यापार नहुने उनले बताए । कुनै पनि निर्णय लिनु अघि बजार बुझेर मात्र लिन मेयर बालेन शाहसँग कुरा भएको तर शाहले सर्वसाधारणको कुरा नै नसुनेको उनको गुनासो छ । भत्काएर मात्र काम हुने भए आफूहरू पनि महानगर भत्काउन जाने शाहीले चेतावनी पनि दिए ।

अर्का व्यापारीले काम गर्ने वातावरण नभएको बताउँदै ‘खाडीमा पठाउन खोजेको हो ?,’ भन्दै मेयर शाहलाई प्रश्न गरेका छन् ।  रातारात महानगरले यस्तो निर्णय लिनु सरासर गलत भएको उनीहरूको भनाई छ । सबैभन्दा बढी कर तिर्ने न्युरोडका व्यापारीहरू नै भएको बताउँदै महानगरको यो निर्णय गलत भएको व्यापारीहरूको भनाई छ । 

कहाँ सवारी राख्ने ? कहाँ सामान किन्ने ? भन्ने मानिसहरूमा अलमल हुने उनीहरूको गुनासो पनि छ । विकल्प नभई महानगरको यस्तो निर्णय मान्य नहुने उनीहरूको भनाई छ ।

यता अर्का एक व्यापारीले भने पार्किङ हटाएर टेन्डरका मानिसहरूको दादागिरी हटेको हुनाले यो निर्णय राम्रो भएको जिकिर गरे । तर नजिकै व्यवस्थित विकल्प दिए अझै राम्रो हुने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया