शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : अर्जुनको अर्धशतकसँगै कर्णालीले कोशी प्रदेशलाई सजिलै हरायो

मङ्गलबार, ०९ माघ २०८०, १४ : २९
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबार खेलिएको खेलमा कर्णाली प्रदेशले कोशी प्रदेशलाई ६ विकेटले हराएको छ । जारी प्रतियोगितामा छैटौँ खेल खेलेको कर्णाली प्रदेशको यो तेस्रो जित हो ।

यसअघि तीन खेलमा कर्णाली प्रदेश पराजित भएको छ । सात खेल खेलेको कोशी प्रदेशको भने यो लगातार सातौँ हार हो । कोशी प्रदेश जारी प्रतियोगितामा हालसम्म आफूले खेलेको सबै खेलमा पराजित हुने एकमात्र टोली हो ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको कोशी प्रदेशले ३४.३ ओभरमा अलआउट हुनुअघि एक सय ५१ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कर्णाली प्रदेशले २८.३ ओभरमै चार विकेट गुमाएर एक सय ५३ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो ।

कर्णाली प्रदेशको जितमा विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले अर्धशतकीय पाली खेले । तेस्रो नम्बरमा क्रिज समाल्न आएका उनले अविजित ५० रन बनाए । उनले ४८ बलको सामना गरी दुई छक्का र ६ चौका पनि हिर्काए ।

ओपनर बिपिन शाहीले पनि टोलीका लागि २८ रनको योगदान गरे । उनले ३६ बलमा दुई छक्का र तीन चौका प्रहार गरे । अर्का ओपनर निश्चल रावलले २१ रन जोडे । हिमांशु शाही २४ रनमा अविजित रहे । उनले केवल १४ बलमा दुई छक्का र तीन चौका प्रहार गरे ।

कप्तान रविन्द्र शाहीले पनि १२ रन बनाए । प्रकाश जैसी ६ रनमा आउट भए । कोशी प्रदेशका बलर हेमन्त राईले तीन विकेट लिए । उनले ९.३ ओभरमा ४२ रन खर्चिए । कमल खत्रीले पनि एक विकेट हात पारे । कर्णाली प्रदेशले अतिरिक्त रुपमा १२ रन पायो ।

त्यसअघि कोशी प्रदेशका लागि चौथो नम्बरमा क्रिज समाल्न आएका सुजन थपलियाले अर्धशतकीय पाली खेलेका थिए । उनले टोलीका लागि ७३ रनको योगदान गरे । आक्रामक रुपमा प्रस्तुत भएका उनले ७३ बलको सामना गरी चार छक्का र आठ चौका पनि हिर्काएका थिए ।

तेस्रो नम्बरका ब्याट्सम्यान आशिष भट्टराई ११ रन बनाउँदै पेभेलियन फर्किएका थिए । तल्लो क्रमका ब्याट्सम्यान सौजन घिमिरले १२ रन जोडे । कोशी प्रदेशका अन्य ब्याट्सम्यानले भने गतिलो प्रदर्शन गर्न सकेनन् । दुबै ओपनर ब्याट्सम्यानले दोहोरो अंकमा समेत रन जोड्न सकेनन् ।

ओपनर सोनु अन्सारी आठ र कप्तानसमेत रहेका अंकित सुवेदी चार रनमै आउट भए । शुभन गहतराजले त खातासम्म खोल्न सकेनन् । फिरदोष अन्सारी पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् । समिर कार्की पनि ६ रनमै आउट भए । अभ्यास तिमिसिनाले नौ रन बनाए ।

कोशी प्रदेशले अतिरिक्त रुपमा पनि २२ रन पाएको थियो । कर्णाली प्रदेशका बलर दिनेश अधिकारीले चार विकेट लिए । उनले आठ ओभरमा एक मेडन राख्दै केवल १८ रन खर्चिए । प्रकाश जैसीले पनि तीन विकेट हात पारे । दिवान पुनले दुई विकेट लिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप