शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन महानगरपालिकाले उठायो

मङ्गलबार, ०९ माघ २०८०, ११ : २२
मङ्गलबार, ०९ माघ २०८०

काठमाडौँ । न्युरोड क्षेत्रमा पार्किङ गरिएका सवारी साधन काठमाडौँ  महानगरपालिकाले उठाएको छ । न्युरोड क्षेत्रको कालोपत्रे सडकमा आजदेखि पार्किङ गर्न निषेध गरेसँगै महानगरपालिकाले कडाइ थालेको हो । 

जसअनुसार मंगलबार बिहान बिहान वीर अस्पताल अगाडिको सडक खण्डमा पार्किङ गरिएका मोटरसाइकलहरू नगर प्रहरीको सवारी साधनको प्रयोग गरेर उठाइएको महानगरपालिकाले जनाएको छ । 

 महानगरपालिकाले आजदेखि सडकमा पार्किङ गर्ने अभ्यासमा रोक लगाउँदै सवारी आवागमनलाई सहज बनाउने प्रयास थालेको हो । पार्किङ निषेध गरिएका स्थानहरूमा ‘नो पार्किङ’ का संकेत चिन्ह राखिएका छन् । यसैगरी नगर प्रहरी खटाएर पार्किङ गर्न आउनेलाई आजबाट कालोपत्रे सडकमा पार्किङ गर्न नपाइने जानकारी पनि गराउने गरेको छ । 

नयाँ सडक जानु पर्ने सवारी धनीलाई काठमाडौँ टावर (साविक पुरानो बसपार्क) मा निःशुल्क पार्किङको सुविधा उपलब्ध गराइएको महानगर प्रहरी बलका प्रमुख वरिष्ठ नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले जानकारी दिए ।  यस ठाउँमा ३ सय वटा चारपाङ्ग्रे सवारी साधन र ७ सय वटा २ पाङ्ग्रे सवारी साधन पार्किङ गर्न सकिन्छ । 

पार्किङ निषेध गरिएको ठाउँमा आज बिहानैदेखि विशेष सरसफाइ गरिएको छ । महानगर प्रहरी बल र वातावरण व्यवस्थापन विभागबाट साधन, उपकरण तथा जनशक्ति परिचालन गरेर सरसफाइ गरिएको हो । 

यसअघि धर्मपथ, जुद्ध शालिकदेखि इन्द्रचोकतर्फको सडक खण्ड, खिचापोखरी, प्युखा, महावौद्ध, वीरअस्पताल आसपासको कालोपत्रे सडकमा सवारी पार्किङ हुने गरेको थियो । 

सडकमा पार्किङ गर्ने परम्परागत परिपाटीमा सुधार गर्ने क्रममा बागबजार, पुतलीसडक, दरबारमार्ग, झोँछेलगायत धेरै ठाउँमा पार्किङ निषेध गरिसकिएको छ ।  

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप