कपिलवस्तुमा राष्ट्रिय मूर्तिकला कार्यशाला, सगरहवाबारे १८ वटा मूर्ति निर्माण
बुटवल । कपिलवस्तुको ऐतिहासिक, पुरातात्त्विक स्थल सगरहवामा पुस २३ गतेदेखि सुरु भएको प्रथम कपिलवस्तु राष्ट्रिय मूर्तिकला कार्यशाला सकिएको छ । लुम्बिनी विकास कोष मुख्य आयोजक, कपिलवस्तु नगरपालिका, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान काठमाडौँ र पर्यटन डिभिजन कार्यलय लुम्बिनी प्रदेश रुपन्देहीसहित स्थानीय संघ संस्थाहरुको आयोजनामा सम्पन्न १५ दिने कार्यशाला सोमबार समापन गरिएको हो ।
राष्ट्रियस्तरमा ख्याति प्राप्त १५ जना मूर्तिकार र सोही सङ्ख्याका सहयोगी मूर्तिकारहरूले सगरहवासँग सम्बन्धित विषयमा रहेर १८ वटा मूर्ति तयार पारेका छन् । कार्यशाला समापनमा बोल्दै राष्ट्रियसभा सदस्य विमला घिमिरेले लुम्बिनी विकास कोषले कपिलवस्तुको विकासमा बेवास्ता गरेको भन्दै जनस्तरमा गुनासो भइरहेको बेला सगर हवाको ऐतिहासिकता ढुङ्गामा कुँदेर सम्बोधन गरेको बताइन् ।
यस्तै प्रदेशसभा सदस्य एवम् पूर्व मन्त्री विष्णु पन्थीले सगरहवामा स्थानीयहरूको अपनत्वमा कार्यशालामार्फत पर्यटनको निभ सुरु भएको बताए । उनले यो कार्यक्रममार्फत सगरहवाको ऐतिहासिकता, पुरातात्त्विक महत्व र जगदीशपुर क्षेत्रको पर्यटन प्रवर्द्धनमा कोसेढुंगा साबित हुने बताए । सांसद पन्थीले कार्यशालाको देशभर प्रचार भएको बताउँदै यो कार्यक्रम कसैका लागि नभई सिङ्गो कपिलवस्तुवासीका लागि भएको बताए ।
नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले कपिलवस्तुमा सञ्चालित मूर्ति कार्यशाला प्राज्ञिक, सांस्कृतिक र ऐतिहासिक काम भएको बताए । सर्जकहरूले निकै मेहनतका साथ सगर हवाको ऐतिहासिक र यहाँको कथालाई मूर्तिमा उतार्ने काम गरेको उनले बताए ।
कार्यक्रममा कार्यशाला निर्देशक समितिका संयोजक एवम् लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले सगर हवाको पुरातात्त्विक स्थलको ऐतिहासिकता उजागर गर्न र यहाँको पर्यटन प्रवर्धनका लागि जनतासँग मिलेर पहिलोपटक नयाँ मोडेलमा काम गरेको बताए ।
कार्यशालामा भएको मूर्तिकारहरूको खर्च लुम्बिनी विकास कोषका तर्फबाट नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान मार्फत भुक्तानीका लागि २६ लाख २५ हजारको चेक कार्यक्रममै प्रदान गरिएको छ । प्राचीन कपिलवस्तु राज्यको पतनको मुख्य कारण मानिएको सगहरवामा शाक्यहरूको सामूहिक नरसंहारको घटनालाई प्रस्तरमा उतार्नका लागि कार्यशाला गरिएको थियो ।
सगहरवा कपिलवस्तु जिल्लाको सदरमुकाम तौलिहवाबाट ९ किमी र तिलौराकोटबाट ६ किमी उत्तरमा रहेको छ भने पूर्व पश्चिम राजमार्गको बनगाइबाट ७ किमी तथा नेपालको दोस्रो पंक्षी आरक्ष जगदीशपुर तालको दक्षिणमा रहेको छ ।
सगरहवा तालको पश्चिम र दक्षिण भागमा शाक्यहरूले आफ्नो वंशको नरसंहार भएपछि उनीहरूको सम्झनामा सयौँ स्तुपहरूको निर्माण गरेको चिनियाँ यात्री हुयन् साङ्को सन् ६३६ को यात्रा वृत्तान्तमा उल्लेख गरिएको पाइन्छ ।
सन् १८९७ मा डा. फुरर्हरद्वारा गरिएको उत्खनन तथा अन्वेषणमा शाक्य सेनाहरूको सम्झनामा निर्माण गरिएका ठूलो वर्गाकारका १७ वटा स्तूप र धेरै सङ्ख्यामा साना स्तूप भेटिएको थियो । स्तूपभित्र हड्डी, सुन, चाँदी, क्रिस्टल तथा रुबी जस्ता सामाग्री रहेको पाइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मतगणनाको अद्यावधिक परिणाम वेबसाइटमा हेर्न सकिने
-
मंसिर मसान्तभित्र पालिकाहरूको अधिवेशन सम्पन्न गर्न माओवादीले पठायो परिपत्र
-
मौद्रिक नीतिको समीक्षाबारे सीबीफीन असन्तुष्ट
-
ललितपुरसहित विभिन्न स्थानमा ५ जना मृत फेला
-
लुम्बिनी बौद्ध विश्वविद्यालय २८९ जना विद्यार्थी दीक्षित
-
पारसको आग्रह : पासका लागि फोन नगर्नुहोला