मङ्गलबार, ०६ कात्तिक २०८१
ताजा लोकप्रिय

सरकारले गैरआवासीय नेपाली संघमाथि चलखेल गरिरहेको छ : विष्णुप्रसाद पौडेल

सोमबार, ०८ माघ २०८०, १९ : ५५
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का उपाध्यक्ष विष्णु पौडेलले गैरआवासीय नेपाल संघ (एनआरएनए) माथि सरकार आफैँले चलखेल गरिरहेको आरोप लगाएका छन् ।  

एनआरएनएभित्र झगडा निम्त्याएर वर्तमान सरकार र सत्तारुढ दलहरुले तमासा देखाइरहेको उल्लेख गर्दै उनले त्यस्तो कार्य तत्काल बन्द हुनुपर्ने पनि बताए । 

एनआरएनएको हालै सम्पन्न निर्वाचनमा निर्वाचित कार्य समितिमाथि अविश्वास खडा गरेर सरकारले नै उनीहरुलाई कुनै राजनीतिक दलको भ्रातृ संगठनको जस्तो व्यवहार गरेको जिकिर गर्दै उपाध्यक्ष पौडेलले त्यस्तो काम सरकार र राजनीतिक दलहरुले कुनैपनि बहानामा नहुने बताए । एनआरएनएले सोमबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एनआरएनए कोष परिचालनमा कन्जुस्याइँ नगर्न पनि सरकारलाई दबाब दिए । 

सरकारले सो कोषको परिचालनमा कन्जुस्याइँ गरेका कारण गैर आवासीय नेपालीहरुले ठूलो परियोजनामा लगानी गर्ने अवस्था नरहेको उपाध्यक्ष पौडेलको दाबी थियो । उनले गैर आवासीय नेपालीहरुले नागरिकता पाउने र त्यसको पूर्ण रुपमा उपयोग गर्ने कुरामा आफ्नो पार्टी प्रतिबद्ध रहेको समेत बताए ।

कार्यक्रममा बोल्दै सरकारको नेतृत्व गरिरहेको नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले अब्बल भएर काम गर्न एनआरएनएका नेतृत्वलाई आग्रह गरे । संगठनमा आवद्ध सबैलाई एकताबद्ध भएर अघि बढे मात्रै संगठन र राष्ट्रको प्रतिष्ठा बढ्ने भएकाले सबैलाई समेटेर एनआरएनए अघि बढ्नुपर्ने उनको भनाई थियो ।

सत्तारुढ नेपाली कांग्रेसका नेता शंकर भण्डारीले नेपालमा राजनीतिक स्थायित्व नभएका कारण देशलाई अघि बढाउन सक्ने अवस्था नभएको बताए । उनले राजनीतिक दलहरु आफैँ भित्र समस्या भएकाले उनीहरुले देशको पक्षमा काम गर्नसक्ने अवस्था नभएको बताए ।

कांग्रेस नेता भण्डारीले संविधानलाई माध्यम बनाएर नेताहरुले आफ्नो स्वार्थपूर्ति गरिरहेको आरोप समेत लगाए ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप