मयानको शतकसँगै मधेशको चौथो जित, ओझेलमा पर्यो सुदूरपश्चिमका नरेनको शतक
काठमाडौँ । आफ्ना खेलाडीले ब्याटिङ र बलिङ दुबैमा उत्कृष्ट प्रदर्शन गरेपछि प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबारको खेलमा मधेश प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ८० रनको फराकिलो अन्तरले हराएको छ ।
जारी प्रतियोगितामा हालसम्म ६ खेल खेलेको मधेश प्रदेशको यो चौथो जित हो । दुई खेलमा मधेश प्रदेश पराजित भएको छ । चौथो खेल खेलेको सुदूरपश्चिम प्रदेशको भने यो पहिलो हार हो । यसअघि तीन खेलमा सुदूरपश्चिम प्रदेश विजयी भएको थियो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सोमबार टस जिती पहिले ब्याटिङ गर्ने निर्णय लिएको मधेश प्रदेशले ५० ओभरमा नौ विकेट गुमाएर तीन सय १९ रन बनाएको थियो । जारी प्रतियोगितामा मधेश प्रदेशले बनाएको यो दोस्रो ठूलो स्कोर हो । यसअघि मधेश प्रदेशविरुद्धकै खेलमा त्रिभुवन आर्मी क्लबले तीन सय २० रन बनाएको थियो ।
निकै ठूलो विजयलक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको सुदूरपश्चिम प्रदेशले भने ४४.५ ओभरमा अलआउट हुनुअघि दुई सय ३९ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि नरेन भट्टले उत्कृष्ट शतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन ।
नरेन जारी प्रतियोगिताको एउटै खेलमा उच्च स्कोर बनाउने ब्याट्सम्यान पनि बनेका छन् । यसअघि बागमती प्रदेशका आशुतोष घिरैया जारी प्रतियोगितामा उच्च स्कोर बनाउने ब्याट्सम्यान थिए । उनले कोशी प्रदेशविरुद्धको खेलमा एक सय १८ रन बनाएका थिए । जारी प्रतियोगितामा हालसम्म सातजना ब्याट्सम्यानले शतक प्रहार गरिसकेका छन् ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका नरेनले एक सय २१ रन बनाए । आक्रामक रुपमा प्रस्तुत भएका उनले केवल एक सय २२ बलको सामना गरी एक छक्का र १३ वटा चौका पनि हिर्काए । सुदूरपश्चिम प्रदेशका अन्य ब्याट्सम्यान भने लामो समय क्रिजमा टिक्न सकेनन् ।
नारायण जोशीले २६ र किरण ठगुन्नाले २० रन बनाए । नरेन साउदले १८ रन बटुले । ओपनर खड्क बोहरा १४ रन बनाउँदै पेभेलियन फर्किए । गजेन्द्र बोहराले पनि १२ रन बनाए । सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि १३ रन पायो ।
मधेश प्रदेशका बलर राजेश यादब र प्रदिप पासवानले तीन–तीन विकेट लिए । राजेशले ६ ओभरमा एक मेडन राख्दै ३८ रन खर्चिए । प्रदिपले भने ९.५ ओभरमा ४२ रन खर्चिए । रंजित कुमारले पनि दुई विकेट हात पारे । हरिशंकर शाह र पवन सर्राफले एक–एक विकेट लिए । उक्त खेलमा विजयी टोलीका मयान यादव प्लेयर अफ दी म्याच घोषित भए ।
त्यसअघि मधेश प्रदेशका लागि एक ब्याट्सम्यानले शतकीय र दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका मयान यादबले एक सय १५ रन बनाए । उनले एक सय २८ बलको सामना गरी दुई छक्का र आठ चौका पनि हिर्काए ।
मधेश प्रदेशका लागि ओपनर ब्याट्सम्यान अनिल शाहले पनि ६९ रनको योगदान गरे । उनले ७० बलमा दुई छक्का र ६ चौका पनि हिर्काए । चौथो नम्बरमा क्रिज समाल्न आएका पवन सर्राफले पनि टोलीको खातामा ७० रन थपे । आक्रामक रुपमा प्रस्तुत भएका पवनले केवल ६३ बलको सामना गरी चार छक्का र चार चौका पनि हिर्काएका थिए ।
यसका अतिरिक्त मधेश प्रदेशका लागि रुपेश सिंहले पनि २१ रनको योगदान गरे । अभिषेक तिवारीले पनि १६ रन बनाए । कप्तानसमेत रहेका ओपनर ब्याट्सम्यान हरिशंकर शाहले टोलीको खातामा १४ रन थपे ।
मधेश प्रदेशले अतिरिक्त रुपमा पनि १० रन पाएको थियो । सुदूरपश्चिम प्रदेशका बलर शेर मल्ल एक्लैले चार विकेट लिए । उनले १० ओभरमा ६५ रन खर्चिए । विकाश अग्रीले पनि दुई विकेट हात पारे । नारायण जोशी र गजेन्द्र बोहराले एक–एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
-
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
-
अमेरिकामा ट्रम्पको मनपरी रोक्न के छ तरिका ?