शुक्रबार, २६ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री कप क्रिकेट : कर्णालीमाथि बागमती प्रदेशको सजिलो जित

सोमबार, ०८ माघ २०८०, १३ : ०४
सोमबार, ०८ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको सोमबार खेलिएको खेलमा बागमती प्रदेशले कर्णाली प्रदेशमाथि सात विकेटको सजिलो जित हासिल गरेको छ । हालसम्म ६ खेल खेलेको बागमती प्रदेशको यो चौथो जित हो । दुई खेलमा भने बागमती प्रदेश पराजित भएको छ ।

पाँच खेल खेलेको कर्णाली प्रदेशको भने यो तेस्रो हार हो । यसअघि दुई खेलमा कर्णाली प्रदेश विजयी भएको छ । काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको कर्णाली प्रदेशले २४.२ ओभरमै अलआउट हुनुअघि ७८ रनमात्र बनाउन सक्यो ।

जवाफी ब्याटिङमा ओर्लिएको बागमती प्रदेशले भने १३ ओभरमै तीन विकेट गुमाएर ८० रन बनाउँदै विजयलक्ष्य पार गरेको थियो । बागमती प्रदेशको जितमा ओपनर इशान पाण्डेले ४० रनको योगदान गरे । उनले ३६ बलमा तीन छक्का र तीन चौका पनि हिर्काए ।

विकेटकिपर ब्याट्सम्यान रविन जोशीले अविजित १६ रन बनाए । अशोक पौडेलले अविजित ६ रन बनाए । कप्तान रित गौतम आठ रनमा पेभेलियन फर्किए भने ओपनर आशुतोष घिरैयाले नौ रन बटुलेका थिए । कर्णाली प्रदेशका बलर दिवान पुन एक्लैले तीन विकेट लिए ।

त्यसअघि पहिले ब्याटिङ गरेको कर्णाली प्रदेशलाई सस्तोमा समेट्ने क्रममा बागमती प्रदेशका बलर रिजन ढकाल एक्लैले पाँच विकेट लिएका थिए । उनले सात ओभरमा एक मेडन राख्दै २५ रन खर्चिएका थिए । कृजन गुरुङले पनि दुई विकेट हात पारे । प्रतिश जीसी, सूर्य तामाङ र बिपिन आचार्यले एक–एक विकेट लिए ।

कर्णाली प्रदेशका दुई ब्याट्सम्यानले मात्र दोहोरो अंकमा रन बनाउन सके । तल्लोक्रमका ब्याट्सम्यान अर्जुन घर्तीले २३ र निश्चल रावलले १३ रन बनाए । कर्णाली प्रदेशले अतिरिक्त रुपमा भने १७ रन पाएको थियो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप