विरोध र समर्थनका बिच अयोध्यामा राम मन्दिरको प्राणप्रतिष्ठा
सनातन समाजमा राम र सीता आदर्श पात्र हुन् । तर, सनातन समाजले पहिलेदेखि महिलालाई अलि बढी मान्यता दिने हुनाले राम र सीतालाई जोडेर पहिले सीता र पछि राम जोडेर ‘सीताराम’ भन्ने गरिन्छ । मर्यादा पुरुषोत्तम राम र सीताको नाम आउने बित्तिकै अध्योध्या र जनकपुरको नाम भुल्न सकिँदैन ।
पहिले भारतवर्ष भित्र रहेको क्षेत्र अहिले राजनीतिक विभाजनमा अयोध्या भारतमा र जनकपुर नेपालमा पर्दछ । यस हिसाबले पनि नेपाल र भारतको सम्बन्धको कुरा गर्दा राम र सीतालाई जोडेर फराकिलो सम्बन्ध खोज्ने गरिन्छ ।
अयोध्याको नाममा जति पवित्रता छ, जनकपुरको पनि त्यति नै । राम र सीतासँग आदर्श र मर्यादा जोडिएको छ । नेपाल र भारत बिचको साँस्कृतिक सम्बन्धलाई संस्कृति र कूटतीति दुवै क्षेत्रमा यी आयामहरुलाई सम्झने गरिन्छ ।
आज राम जन्मभूमि अयोध्यामा महाउत्सवका साथ राम मन्दिरको प्राणप्रतिष्ठा हुँदैछ । माघ ८ गते अर्थात् जनवरी २२ सोमबारका दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय समय अनुसार मध्याह्न १२ बजेर २९ मिनेट २ सेकेण्डमा हुने अभिजित नक्षत्रको शुभ मुहूर्तमा राम मन्दिरको प्राणप्रतिष्ठा गर्नेछन् ।
समारोहमा भारत र अन्य देशका साधुसन्त, अर्चक र आध्यात्मिक गुरुजनहरुको सहभागिता हुनेछ । तर, भारतका चार शंकराचार्यहरुले भने मन्दिर निर्माणकै क्रममा रहेको, मन्दिर उद्घाटन कार्यक्रम धार्मिक कम, बढी राजनीतिक भएको आरोप लगाउँदै ‘प्राणप्रतिष्ठा’ समारोहमा उपस्थित नहुने घोषणा गरेका छन् । कार्यक्रममा चारै पीठका शंकराचार्य उपस्थित नहुने निश्चित छ ।
गोबर्द्धन पुरी पीठका शंकराचार्य निश्चलानन्द सरस्वती, श्रंङ्गेरी शरद पीठका भारती तीर्थ महाराज, द्वारका पीठका शंकराचार्य सदानन्द सरस्वती र जोशी पीठका अभिमुक्क्तेश्वरानन्द चार मुख्य शंकराचार्य हुन् । तर, भारतमा अन्य मठमा कयौंले आफूलाई शंकराचार्य भन्दै हिँड्ने गरे पनि उनीहरु ‘नक्कली’ शंकाराचार्य रहेको बताइन्छ ।
चार मुख्य शंकराचार्यले अयोध्यामा बन्न लागेको राम मन्दिरको निर्माण कार्य अधुरै रहेका कारण आफूहरु विधि खण्डित भएको यस्तो समारोहमा उपस्थित नहुने अडान राखेका हुन् । त्यसो त चारै जनालाई समारोहमा उपस्थितिका लागि मन्दिर ट्रष्टले निमन्त्रणा पठाएको थियो ।
अध्योध्या भारतको मात्र होइन, नेपालसँगै विश्वभर रहेका हिन्दुहरुका लागि एउटा पवित्र धाम हो । हिन्दुहरु जसरी जीवनमा एकपटक पशुपतिनाथको दर्शन गर्न चाहन्छन्, त्यस्तै अध्योध्या नगरी, जनकपुरी पुगेर राम र सीताको दर्शन गर्ने चाहना राख्दछन् । रामनवमी र विवाह पञ्चमीको अवसरमा अयोध्या र जनकपुरमा मानिसहरुको भिड लाग्ने गर्दछ ।
भारतमा मुगल साम्राज्यका संस्थापक बाबरको समयमा राम जन्ममूमिमा निर्माण भएको मस्जिद करिब ४ सय ६४ वर्षसम्म रहेको मानिन्छ । सन् १५२८ देखि १९९२ सम्म त्यहाँ रहेको बाबरी मस्जिद वास्तुकलाको एउटा अनुपम नमुना मानिएको थियो । राम जन्मभूमिमा हिन्दु र मुस्लिम बिचको तनाव र दङ्गाबिच सन् १९८९ मा हालको भारतीय जनता पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकले राममन्दिर निर्माण गर्ने घोषणा गरेको थियो । हिमाञ्चल प्रदेशको पालमपुरमा आयोजित भाजपा बैठकले निर्णय गरेको तीन वर्षपछि सन् १९९२ डिसेम्बर ६ तारिखका दिन भारतीय जनता पार्टीका विभिन्न भ्रातृसंगठनको संलग्नतामा अयोध्यामा भएका केही संरचना भत्काउने काम भयो । त्यसबेला भएको दङ्गामा करिब ३ हजार भारतीय नागरिकको ज्यानसमेत गएको थियो । मन्दिर निर्माणको अभियानमा विभिन्न चरणमा छलफल र अदालती बहसहरु जारी थिए ।
झण्डै तीन दशकपछि भारतको सर्वाेच्च अदालतको पूर्ण इजलासले उक्त स्थानमा मन्दिर बनाउन अनुमति दिएपछि राममन्दिर निर्माणको काम कानुनी वैधानिकताका साथ सुरु भएको थियो ।
त्यसो त विवाद उत्पन्न भएपछि विगतमा शंकराचार्यको अगुवाइमा निर्माण भएको ‘रामालय ट्रष्ट’ले प्रतिद्वन्द्वी मुस्लिम पक्षसँग वार्ता गर्ने, अदालती न्यायिक निरुपणका काम गरेको थियो । आज अयोध्यामा रामन्दिरको उदघाटन, प्राणप्रतिष्ठा हुँदा सो समारोहमा भारतका चार सक्कली पीठका शंकाराचार्यहरु उपस्थित नहुनुलाई धर्माचार्यहरुले अयोध्यामा धार्मिक महोत्सव कम राजनीतिक बढी भएको गुनासो गरेका छन् ।
विगतमा शंकराचार्यको अगुवाइमा गठन भएको ‘रामालय ट्रष्ट’लाई अवमूल्यन गरेको, भारतीय शासक वर्गबाट धर्मसभा क्षेत्रबाट हुने निर्णयलाई समेत अपमान गरेको आरोप लगाउँदै प्राणप्रतिष्ठा समारोहमा सहभागी नहुने घोषणा शंकाराचार्यहरुले गरेका हुन् ।
शंकराचार्यहरुको बहिष्कार र असन्तोषपछि भारतीय कांग्रेस लगायत हालै भारतमा नवगठित ‘इण्डिया गठबन्धन’ अर्थात् प्रतिपक्ष दलका नेताहरु पनि राममन्दिर उदघाटन तथा प्राणप्रतिष्ठा समारोह बहिस्कार गर्दैछन् । जसले राम र सीताको मर्यादा र आदर्शमा पनि राजनीतिक छायाँमा परेको छ ।
कडा सुरक्षाका बिच मन्दिर उदघाटन समारोहमा भारतभरका हिन्दु मठमन्दिरका पुजारी, साधु सन्त, गुरु महात्मा र भारतीय धनाढ्य र सिनेमा र खेलकुद क्षेत्रका ख्यातिप्राप्त व्यक्तिहरुलाई समेत निम्तो गरिएको छ ।
रामन्दिर प्राणप्रतिष्ठाको मेसो पारेर अयोध्यालाई अन्तर्राष्ट्रिय क्षेत्र बनाउन विकासको कुरा गर्दा मोदी सरकारले अध्योध्यामा निर्माण गरिएको विमानस्थलको उदघाटन पनि हुँदैछ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माण र मन्दिर उदघाटनको झल्को दिने प्राणप्रतिष्ठा समारोहले अयोध्या हिन्दुहरुको पवित्र तीर्थस्थल हो भन्ने सन्देश दिन पक्कै खोजिएको छ ।
राम मन्दिर निर्माणका क्रममा नेपालको पवित्र पावन कालीगण्डकी नदीबाट शालिग्राम शीला समेत लगिएको थियो । सायद त्यो शीलाबाट मूर्ति निर्माण गर्नु उपयुक्त हुँदैन भन्ने धर्माचार्यहरुको मतपछि सो शालिग्राम शीलालाई अध्योध्यामा कुनै पवित्र शीलाका रुपमा भक्तहरुले दर्शन गर्न पाउने व्यवस्था गरिएको छ । त्यसबाट पनि अयोध्या आउने भक्तजनहरुले शालिग्राम र नेपालको मुक्तिधामको बारेमा जानकारी लिन सक्नेछन् । नेपाल–भारत सम्बन्धमा मुक्ति क्षेत्रको यात्रा पनि अर्काे पवित्र यात्रा मानिन्छ ।
भारतीय जनता पार्टी र नरेन्द्र मोदी नेतृत्वको सरकारका लागि अयोध्यामा आज उदघाटन हुन लागेको समारोहले विशेष अर्थ राख्दछ । सन् २०२४ मा भारतमा हुने आम निर्वाचनमामा यसको प्रभाव पर्ने आकलन छ । किनकि मोदी तेस्रो कार्यकालका लागि चुनावी मैदानमा उत्रिँदा राम मन्दिर निर्माणलाई पनि मुख्य उपलब्धिका रुपमा देखाउन चाहन्छन् । भारतमा फेरि एकपटक सनातनी हिन्दुहरुको मर्यादा पुरुषोत्तम राम र आदर्श पात्र सीताको आस्थामा नाममा धर्म राजनीतिले भारतीय जनता पार्टीको पक्षमा जनमत थपिने निश्चित छ ।
अयोध्यामा उदघाटन हुने राम मन्दिर निर्माण र प्राणप्रतिष्ठालाई भारतमा हिन्दु पुनः जागरणको प्रतीक मानिएको छ । कारण, भारतीय जनता पार्टीले गरेको निर्णय र आफ्ना नेता कार्यकताको बलिदानीबाट प्राप्त उपलब्धि मानेर मन्दिरको निर्माण कार्य र यसको उदघाटनलाई महत्त्व दिनु हिन्दु अभियानको सार्थकता मानेका छन् । विशाल लोकतन्त्र भएको भारतमा सामान्य विरोध र समर्थन हुँदै गर्छ भन्दै भारतीय जनता पार्टीले राम मन्दिर निर्माण र प्राणप्रतिष्ठालाई विश्वका हिन्दुहरुको सबैभन्दा महान उपलब्धि ठानेको छ ।
नेपालसँग साइनो जोडिएको अयोध्यामा राम मन्दिर उदघाटन समारोहमा श्री पशुपतिनाथका अर्चक रावल गणेश भट्टलाई विशेष अतिथिको रुपमा निमन्त्रणा गरिएको छ । जानकी मन्दिरका अर्चक र महन्त, पशुपति क्षेत्र विकास कोषका पदाधिकारी, विश्व हिन्दु संगठनका प्रतिनिधि र केही धार्मिक संघ संगठनका पदाधिकारीहरुलाई अयोध्यामा निम्त्याइएको छ । उनीहरु समारोहमा सहभागी हुन अयोध्या पुगिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कफी खेतीमा युवा वर्गलाई आकर्षित गर्नुपर्छ : मन्त्री अधिकारी
-
स्वास्थ्य क्षेत्रको अनुसन्धानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन