राकेश सोनी : जो पर्दा पछाडि रहेर गीतलाई हिट बनाउँछन्
काठमाडौँ । ‘बोतलको पानीले, आँखा सन्काई सानीले
इज्जत गयो पिउँने बानीले’
एक समयको निकै चर्चित गीत हो यो । यो गीत नसुन्ने सायदै होलान् । गीतमा शब्द, सङ्गीत र स्वर गायक भोजराज काफ्लेको छ । यो गीतले हिट हुनुको पछाडि धेरैले सङ्गीत संयोजन (एरेन्ज) लाई पनि मानेका छन् । यो गीतमा मिठो सङ्गीत संयोजन गर्ने व्यक्ति हुन् राकेश सोनी ।
राकेश सोनीले सङ्गीत संयोजन मार्फत मिठास भर्दै गीतलाई हिट बनाउन भूमिका खेल्दै आएका छन् ।
‘बोतलको पानीले’ मात्र होइन, भोजराजकै अर्काे हिट लोकगीत हो ‘मासु मिठो भालेको, माछा तारेको, लेउ लेउ सानी दुई बोतल घरमै पारेको’ । यो गीतका सङ्गीत संयोजक समेत राकेश नै हुन् ।
‘घर त मेरो रामेछाप जिल्ला’, ‘निधारमा लेखेसी’, ‘भेट भाको पोहोरै’, ‘गोरखपुरको सलाई’, ‘औँठी हिराको’, ‘औँठी चिनो छ’लगायत थुप्रै हिट लोकदोहोरी गीत छन्, जसमा राकेशको एरेन्ज छ ।
धेरै गायक, गायिका र सङ्गीतकार उनलाई गीत हिट बनाउने मेसिनका रुपमा चिन्छन् । अहिलेसम्म करिब डेढ दशक अवधिको साङ्गीतिक करियरमा थुप्रै हिट गीत गरेका राकेशको एरेन्जमा रहेका पछिल्ला हिट गीत ‘मज्जाले नाचौँला’, ‘कोइली चरी’, ‘लाइन बिजुली’ हो । ‘फूलबारीमा गेट’, ‘च्याट्ट साइली’ र ‘दुई खोली दोभान’ भने भर्खरभर्खर बजारमा भित्रिएका गीत हुन् । यी गीतले पनि दिन प्रतिदिन चर्चा बटुल्दैछन् ।
धेरैजसो लोकदोहोरी गीतमा रुचाइएका राकेशले आधुनिक, पप, फिल्मका गीतसमेत एरेन्ज गरेका छन् । करिब तीन हजारभन्दा बढी गीतमा एरेन्जरको जिम्मेवारी निर्वाह गरेका उनको ९० प्रतिशत लोकगीत छन् । कसैले कामको संख्या सोध्यो भने उनी एक हजारमाथि भन्छन् । ‘धेरै काम गरेको भनेर वरिष्ठ बन्न मन लाग्दैन । अरुले पनि वरिष्ठ भन्छन् कि भन्ने डर लाग्छ,’ उनले कारण खोले ।
एरेन्जमा पनि उनलाई अन्य गीतभन्दा लोकदोहोरीमा बढी सन्तुष्टि मिल्छ रे । उनले लोकगीतको सङ्गीत संयोजन बढी गर्नुको अर्काे कारण पनि छ । त्यो हो प्रिज्मा रेकर्डिङ स्टुडियो, जहाँ उनी काम गर्छन् । त्यहाँ लोकगीत बढी बन्ने गरेको छ । यही स्टुडियोमा रेकर्डिस्ट हुँदै एरेन्जर बनेका हुन् उनी । सङ्गीतकार बीबी अनुरागी र रेकर्डिस्ट श्याम श्वेत रसाइलीसँग रेकर्डिङ, मिक्सिङ र एरेन्जर सिकेका उनी अनुरागी र रसाइलीलाई गुरु मान्छन् ।
पछिल्लो समय बजारमा भित्रिने लोकदोहोरी गीतको संख्या कम भएको छ । उनले त्यो हुनुमा मार्केटको कमी देखेका छन् । ‘पहिले जुन रफ्तारमा लोकदोहोरी गीत बन्थ्यो, त्यसमा ५० प्रतिशत कमी आएको छ’, उनले भने, ‘अहिले गीत–सङ्गीतको मार्केट खस्किएको छ ।’
पहिले महिनामै ५५/६० वटासम्म गीतको एरेन्ज गरेका राकेशले अहिले १५ देखि २० गीतमा चित्त बुझाउपर्छ । संख्या घटे पनि राम्रो र गुणस्तरीय काम गर्ने भएका कारण पारिश्रमिक बढेकाले आफूलाई आम्दानीमा खासै फरक नपरेको उनी सुनाउँछन् । ‘पहिले एक गीतको ५ हजार लिन्थेँ । अहिले २० हजारसम्म दिन्छन्,’ उनले थपे ।
- अनि होमिए सङ्गीतमा
लोकगीत सङ्गीतको उर्वरा भूमि बागलुङमा जन्मिएर हुर्किएका राकेशमा साङ्गीतिक प्रतिभा नरहने त कुरै भएन । उनी सानैदेखि गाउँघरका मेलामहोत्सवदेखि सांस्कृतिक कार्यक्रमसम्ममा गीत गाउँथे । कहिलेकाहीँ त आफैँ मेलामहोत्सव आयोजनासमेत गर्थे । त्यसैले त गाउँमा मात्र नभएर पूरै जिल्लामा गायन र कार्यक्रम आयोजक भनेर परिचित थिए उनी ।
विसं. २०६३ तिर उनी एसएलसी दिएर बसेका थिए । सोही समय सङ्गीतकार बीबी अनुरागीसँग उनको भेट भयो । अनुरागी एउटा सुटिङको योजना लिएर बागलुङ पुगेका थिए । बागलुङमा राकेशको लोकप्रियता र गतिविधि देखेर अनुरागी छक्क परे । यतिको प्रतिभावान व्यक्ति काठमाडौँ जानुपर्छ र राष्ट्रियस्तरमा छाउनुपर्छ भन्ने अनुरागीलाई लाग्यो । ‘तिमी काठमाडौँ जानुपर्छ । त्यहाँ धेरै अवसर छ । केही गर्न सक्छौ’ भन्दै काठमाडौँका लागि अनुरागीले राकेशलाई सुझाए । ‘अनुरागीको कुराले मन छोयो, अनि म काठमाडौँ छिरेँ,’ राकेशले भने ।
काठमाडौँ आएपछि अनुरागीले राकेशलाई सुरुमा आफ्नै स्टुडियो प्रिज्मामा केही समय रेकर्डिस्टको काम सिकाए । दिउँसो रेकर्डिङ सिक्दै गर्दा राकेश साँझ दोहोरीमा काम गर्न थाले ।
‘त्यो समय दोहोरी साँझले पैसा दिँदैन थियो । कहिले काहीँ ग्राहकले टिप्स दिन्थे । त्यसैले जीवन चलाउनुपर्थ्यो,’ उनी दुःखका दिनमा फर्किए, ‘कुनै महिना कोठाभाडा तिर्न पुग्दैन थियो । कति रात भोकै सुत्नुपर्थ्यो ।’
केही समय रेकर्डिङ सिकेपछि अनुरागीले स्टुडियोमा रेकर्डिस्टको काम दिए । काम भएपछि उनलाई जीवन चलाउन सजिलो भयो । स्टुडियोमा रेकर्डिस्टको काम गर्दागर्दै राकेशले सङ्गीतको धेरै ज्ञान हासिल गरे । अनि एरेन्जरको काम पनि सिके ।
‘रेकर्डिस्ट भन्दा एरेन्जरको काम राम्रो लाग्यो । भूमिका महत्त्वपूर्ण र दाम राम्रो देखेँ’, राकेशले एरेन्जर यात्रा सुनाए, ‘जति बढी काम गर्यो, त्यति कमाउन सकिने रहेछ ।’
एरेन्जरको रुपमा उनले पहिलो गीत राजेन्द्र कँडेलको ‘किन हुन्छौ ठुली’ गरेका थिए । गायिका विष्णु माझीको स्वर रहेको यो गीतले बजार पिट्यो । पहिलो गीत राम्रो भएपछि उनलाई एकदुई गर्दै धमाधम काम हात पर्न थाल्यो । सोही सिलसिलामा उनले रामजी खाँण, पशुपति शर्मा, राजु गुरुङ, खुम अधिकारी, कुलेन्द्र विश्वकर्मा लगायत चलेका गायकको गीत एरेन्ज गर्ने मौका पाए । त्यसपछि राकेशले अहिलेसम्म पछि फर्किएर हेर्नुपरेको छैन ।
- एरेन्जर पर्दा पछाडिको हिरो
गीत–सङ्गीतमा एरेन्जरलाई ‘पर्दा पछाडिको हिरो’ भन्ने गरिन्छ । त्यसैले पनि एरेन्जर कामबाट उनलाई दाम रामै्र भए पनि पब्लिकमा पहिचान भने राम्रो भएन । यो कुरामा दुःखी छन् उनी ।
गीत–सङ्गीत राम्रो हुन गायक–गायिका भन्दा एरेन्जरको भूमिका महत्त्वपूर्ण हुन्छ । अझ लोक गीतसङ्गीत राम्रो हुन शत प्रतिशत एरेन्जरको भूमिका हुन्छ । किनभने अधिकांश लोकगीतका सङ्गीतकारलाई सङ्गीतको बिट, कडदेखि गीत केबाट उठाउने भन्ने जिम्मेवारी एरेन्जरको हुन्छ ।
‘कतिपय सङ्गीतकारलाई त गीतको बिट, कड र राग समेत थाहा हँुदैन’, राकेशले सुनाए, ‘कुनै कुनै त मेलोडी नै हामीले परिवर्तन गर्नुपर्छ ।’
गीतमा कुनकुन बाजा कसरी राख्ने, कति स्पिडमा बनाउनेदेखि श्रोतालाई कसरी मिठास दिने भन्नेसमेतमा एरेन्जरको मुख्य जिम्मेवारी हुने राकेशले खुलाए । ‘अहिले डिजिटल मार्केट बढेसँगै अलिअलि नाम हुन थालेको छ । पहिले क्यासेट र सीडीको समयमा एल्बममा नाम राखिदैन थियो’, उनी भन्छन्, ‘युट्युवले पहिचान र थप काम दिलाउन थालेको छ ।’
राकेशको भनाइमा एरेन्जर काम एक किसिमले हेर्न हो भने फलामको चिउरा चपाएजस्तै हो । गीतको एरेन्ज बिग्रियो भने पूरै गीत बिग्रिन्छ । तर नेपालका गायक–गायिकाले भने अझै एरेन्जरको महत्त्व नबुझेको राकेश बताउँछन् ।
‘अधिकांश गीत शब्द, सङ्गीत र एरेन्जका कारणले हिट छन्’, राकेशले भने, ‘गायक–गायिकाले तयार भएको लयमा स्वर दिने न हो ।’
गीत–सङ्गीतमा सङ्गीतकारदेखि स्टुडियोसम्म ठगिएको समाचार बेलाबेलामा सार्वजनिक हुन्छ । यो मामलामा एरेन्जर भाग्यमानी छन् । किनभने एडभान्स हात नपरी काम थाल्दैनन् । रेकर्डका लागि एरेन्जर लाने समयमै पैसा तिर्छन् । कहिले काहीँ एडभान्स दिएर काम अन्तै गर्नेको सामना पनि उनले गर्नु परेको छ ।
पछिल्लो समय काममात्र होइन, नामका लागि पनि उनी पछि लाग्न थालेका छन् । ‘चिनिनु भनेको एउटा प्रोफाइल बन्नु पनि हो । काम पनि बढ्छ’, उनी भन्छन्, ‘नाम भयो भने पछिल्ला पुस्ताले पनि त सम्झन्छ नि ।’
- गायक पनि म
राकेश गायक, सङ्गीतकार र मोडल पनि हुन् । एक दर्जन बढी गीतमा स्वर दिएका उनले दुई दर्जन गीतमा सङ्गीत र आधा दर्जनभन्दा बढी गीतका भिडियोमा मोडलिङ गरेका छन् । गायन, सङ्गीत र मोडलिङ भने सौखले गरेको उनले बताए । ‘गायन र मोडलिङ पहिले रहरले गरेको थिएँ । राम्रो भएन । रहर पनि पूरा भयो । अहिले छोडेँ,’ उनले सुनाए ।
सङ्गीतमा लागेर उनले एउटा वर्ल्ड रेकर्ड बनाएका छन् । उनले ४ वटा गीत–सङ्गीतका अवार्ड थापेका छन् । त्योभन्दा बढी सम्मान र पुरस्कार लिएका छन् । यो हिसाबमा उनी एकदमै खुसी छन् । अवार्ड, सम्मान र पुरस्कारले अझै राम्रो काम गर्न हौसला मिल्छ । उनले कुराकानी बिट मार्दै भने, ‘अवार्ड, सम्मान र पुरस्कार प्रोफाइल पनि राम्रो बनाउँछ र बजारमा पनि चिनाउँछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाराष्ट्र र झारखण्ड विधानसभा चुनावमा विकास र सुशासनको ‘ऐतिहासिक जित’ : मोदी
-
निजी मेडिकलले विद्यार्थीलाई सरकारी सरह तलब भत्ता उपलब्ध गराउन नसक्ने
-
सडकमा शव राखेर विरोध प्रदर्शन, सहमतिपश्चात् खुल्यो यातायात
-
आफ्नै गाउँ (लघुकथा)
-
प्राध्यापक डा.देवी नेपाललाई अन्तर्राष्ट्रिय पुरस्कार
-
बेरुतमा भएको इजरायली हमलामा ११ जनाको मृत्यु