रहस्यमय गुरु ओशोको रहस्यमय मृत्यु
‘जोर्बा दी बुद्ध’को सन्देश दिने २१ औँ शताब्दीका महान् रहस्यदर्शी ओशोको जन्मपछि आध्यात्मिक इतिहासले नयाँ छलाङ मार्यो । अध्यात्मको जगतमा नवीन क्रान्ति आयो । विज्ञानको जगतमा आइन्स्टाइनले जति योगदान गरेका छन्, त्यस्तै योगदान अध्यात्मको जगतमा महान् बुद्धपुरुष ओशोले गरेका छन् ।
ओशोले अध्यात्मलाई हेर्ने आम मानिसहरूको दृष्टिकोणलाई बदल्दिएका छन् अनि आध्यात्मिक जगतका व्यक्तिहरूले विज्ञानलाई हेर्ने दृष्टिकोणलाई मैत्रेयपूर्ण र सकारात्मक बनाइदिएका छन् । पहिलोपटक यस धर्तीमा विज्ञान र अध्यात्मको मिलनको दर्शन विश्व सामु ल्याउनुभएका महान् गुरु ओशोले गौतम बुद्ध र जिससको दर्शनमा उत्सव जोड्न चाहन्थे अनि समृद्ध जीवन जिइरहेकाहरूको जीवनमा ध्यान ल्याउन चाहन्थे ।
यस धर्तीमा उनको जीवन जति रहस्यमय थियो, त्यति नै उनको मृत्यु पनि रहस्यमय भयो । भारतको मध्यप्रदेश राज्यको कुछवाडा भन्ने गाउँमा ११ डिसेम्बर १९३१ मा जन्मिएका ओशोलाई बाल्यकालमा रजनीश चन्द्रमोहन जैन भनिन्थ्यो । जन्मेको ३ दिनसम्म उनी नरोएको र आमाको दुध पनि नपिएको बताइन्छ । उनको मामाघर कुछवाडामा उनी मामली हजुरबुवा र हजुरआमाको अपार मायामा हुर्किएका थिए ।
बाल्यकालदेखि नै विद्रोही स्वभावका उनी सात वर्षको उमेरमा हजुरबुवाको मृत्युपछि आफ्नो मातापिताको गाउँ गडरवाडा आए । त्यसबेला उनले आफ्नो हजुरबुवाको मृत्युलाई एकदम नजिकबाट देखे । विद्रोही स्वभावकी उनकी मामाली हजुरआमा, जसलाई उनले ‘नानी’ भन्थे, बाट उनले सानैदेखि विद्रोह सिकेको कुरा ओशो आफै बताउँथे ।
गडरवाडामा उनले माध्यमिक तहसम्मको अध्ययन पुरा गरे । अग्लो पुलबाट हामफाली घर नजिकैको सख्खर नदीको वर्षातको भेलमा पौडनु उनको लागि सामान्य खेल थियो । पौडनको लागि सौखिन उनी स्कुले जीवनमा एक विद्रोही बालकको रूपमा प्रख्यात थिए । उनलाई स्कुलमा अनेक सजाय दिइन्थ्यो । उनी १० वर्षको उमेरमा स्कुल जान थालेका थिए ।
उनले जुन स्कुलबाट पढाइ सुरु गरे त्यसको गेटमा हात्तीद्वार थियो । उनी पहिलो दिन स्कुल हात्ती चढेर गएका थिए । उनको जन्मकुण्डली बनाउने ज्योतिषीले ‘यो बालक ७ वर्षभन्दा बाँच्दैन । यदि बाँचिहाल्यो भने पनि हरेक सात वर्षमा उसको मृत्यु हुने योग छ’ भनेर बताएका थिए । भविष्यवाणी बमोजिम सम्भावित मृत्यु हुने समयमा ओशो आफ्नो मृत्यु हेर्नको लागि मन्दिरमा गएर आफ्नो मृत्युको प्रतीक्षा गर्दथे ।जब उनी मन्दिरमा सुत्दथे उनको शरीरबाट विषालु सर्प जान्थ्यो तर उनलाई केही गर्दैनथ्यो । मृत्युको रहस्य बुझ्नको लागि ओशो १२ वर्षको उमेरमा मसानघाट जाने गर्दथे र त्यहाँ घण्टौँसम्म बिताउँथे ।
उनी स्कुलसम्मको अध्ययनपछि उच्च शिक्षा अध्ययनको लागि जवलपुर गए ।२१ मार्च १९५३ मा जवलपुरको डी.एन. जैन कलेजमा दर्शनशास्त्रको अध्ययन गरिरहँदा २१ वर्षको उमेरमा उनले जवलपुरमा मौलाश्री वृक्षको मुनि बुद्धत्व प्राप्त गरे । सन् १९५६ मा ओशोले जवलपुरको सागर विश्वविद्यालयबाट दर्शन शास्त्रमा प्रथम श्रेणीमा प्रथम स्थान हासिल गरी एम. ए. उत्तीर्ण गरे । त्यसपछि उनले छत्तिसगढ राज्यको रायपुरमा रहेको ढुँडीधारी संस्कृत क्याम्पसमा एक वर्ष अध्यापन गरे ।
त्यसलगत्तै उनले जवलपुर विश्वविद्यालयमा प्राध्यापकको रूपमा अध्यापन गराउन थाले । त्यसै समयदेखि उनी आचार्य रजनीशको रूपमा चिनिन थाले । उनले भारतभरि घुमिघुमी अध्यात्म, धर्म र जीवन दर्शनको सन्दर्भमा प्रवचन दिई आफ्नो सन्देश व्यक्तिहरू समक्ष पुर्याउन थाले । भनिन्छ त्यो समय उनको जीवनको राजसकाल थियो । सन् १९६० देखि सन् १९७० सम्मको उनको राजस कालमा उनले धेरै प्रवचनहरू दिए, ध्यान शिविरहरू लिए, समाजका हरेक तप्काका धेरै मान्छेहरूलाई भेटे ।
त्यो समय उनको अत्यन्त सक्रिय जीवनकाल थियो । त्यसपछि उनले १९६६ मा जवलपुर विश्वविद्यालयमा प्राध्यापक पदबाट राजीनामा दिई मानव चेतनाको उत्थान हेतु पुरा रूपमा स्वयम्लाई समर्पण गरे । उनी १९७० मा जवलपुरबाट वुडल्याण्ड अपार्टमेन्ट, मुम्बईमा बस्न थाले । उनले २६ सेप्टेम्बर १९७० मा मनिलामा भएको ध्यान शिविरमा नवसंन्यास दीक्षा दिन प्रारम्भ गरे ।
नव सन्यास अध्यात्मको जगतमा सबैभन्दा क्रान्तिको दिन हो । यो आध्यात्मिक साधनाको इतिहासमा आमूल परिवर्तन को दिन हो । सन्न्यासी पनि नाच्न सक्छन्, जागिर खान सक्छन्, व्यवसाय गर्न सक्छन् । सन्न्यासी पनि भौतिक संसारमा सफल बन्न सक्छन् र बुद्ध पनि हुन सक्छन् भन्ने कुराको प्रयोग यो पृथ्वीमा उनले गरे । मान्छेको मस्तिष्कमा कहिल्यै पनि यो अवधारणा आएको थिएन । जुन बेला उनले यो अवधारणा ल्याउनुभयो कति धेरै आलोचना सहनु पर्यो तर यसलाई मूर्त रूप दिएर गए ।
उनले सन् १९७४ मा भारतको पुणा सहर गई श्री रजनीश आश्रम स्थापना गरे । त्यसपछि त्यहाँ साधनाको खोजीमा रहेका व्यक्तिहरू विश्वभरबाट अध्यात्मको प्यास मेट्न आउन थाले । सन् १९८१ मा उनी अमेरिका प्रस्थान गरे । उनले अमेरिकामा ओरेगन राज्यमा रजनीशपुरम नामक विशाल कम्युन स्थापना गरे । एउटा बन्जर भूमि हराभरा र बहुत सुन्दर स्थान बन्यो ।
ओशोले अध्यात्मको नयाँ प्रयोग अमेरिकाको रजनीशपुरमा गराए । मनुष्यताको लागि दुर्भाग्य बुद्धपुरुषलाई तत्कालीन समाजले कहिल्यै बुझेन । यही समाजले जिससलाई सुलीमा चढायो, सुकरातलाई विष खुवायो अनि मन्सुर लाई अत्यन्त पीडादायक ढङ्गले हत्या गर्यो । ओशो माथि पनि त्यही भयो । सन् १९८५ मा उहाँलाई षड्यन्त्रमूलक ढङ्गले पक्राउ गरी १२ दिनसम्म अमेरिकी जेलमा राखियो । अनि रजनीशपुरम कम्युन बन्द गरियो ।
भनिन्छ ओशोलाई जेलमा रहँदा थिलियम नामको विष दिइयो र त्यसको प्रभावले उनको शरीर बिस्तारै कमजोर हुँदै गई १९ जनवरी १९९० मा उनले शरीर छोडे । तर उनको मृत्यु दिन प्रतिदिन बहुत रहस्यमय बन्दै गइरहेको छ । ओशोको मृत्युको सन्दर्भमा भारतका एक लेखक अभय वैद्यले ‘Who killed Osho’ भन्ने पुस्तक नै लेखेका छन् । त्यस पुस्तकले ओशोको मृत्युको रहस्य झनै बढाइदिएको छ । एक विदेशी लेखकले ओशोको मृत्युको सन्दर्भमा ‘Osho Poisoned by America’ भन्ने पुस्तक लेखेका छन् ।
ओशोको मृत्युको पहेली दिन प्रतिदिन रहस्यमय हुँदै जाँदैछ । ओशोले एकपटक अन्तरंग शिष्यहरुको बिचमा भनेका थिए - मलाई जति विष दिइएको छ त्यो विषले पुरै बम्बई सहर भरिका मान्छे मर्थे । ओशोका भाइ स्वामी शैलेन्द्र सरस्वतीले भनेका छन् , ‘जब उहाँलाई अमेरिकी जेलमा राखियो त्यहाँ उहाँको सिरानीमा रेडिएसन दिने पदार्थ राखिएको थियो । त्यसले गर्दा उहाँको शरीर कमजोर हुँदै गयो र पछि उनले पुणेमा प्राकृतिक रूपमा शरीर छोड्नुभयो ।’ ओशोलाई आफ्नो मृत्युको आभास १० महिना अघि नै भएको कुरा स्वामी शैलेन्द्र सरस्वतीले हालसालै एक पत्रकार सम्मेलनमा गरेका छन् ।
नेपालमा ओशोको देशना फैलाउने ओशो तपोवन स्थापना गरेका तथा अहिले विश्वभर ओशोको देशना फैलाइरहेका बोधिसत्त्व स्वामी आनन्द अरुणले ओशोको मृत्युको सन्दर्भमा झनै रहस्यमय कुरा गरेका छन् । उनले पटक–पटक भनेका छन् - हरेक प्रतिभाशाली व्यक्तिलाई वर्तमान समाजले पहिचान गर्न सक्दैन र त्यस्ता व्यक्तिहरूको समाजले हत्या गर्दछ ।
स्वामी आनन्द अरुणले भन्छन्, ‘जब ओशोलाई अमेरिकामा पक्राउ गरी जेलमा राखियो त्यहाँ उहाँलाई थिलियम नामको मन्द विष दिइयो । त्यो बिस्तारै असर गर्ने विष हो । त्यसपछि जब उहाँ इन्डिया आउनुभयो उहाँको पछाडि विश्वको सबैभन्दा शक्तिशाली राष्ट्र र विश्वको सबैभन्दा संगठित धर्म लाग्यो उहाँको देशना र उहाँको भौतिक शरीर नष्ट गर्नको लागि । इन्डियामा पनि उहाँ माथि षडयन्त्र जारी रह्यो र उहाँलाई षडयन्त्रमूलक ढङ्गले हत्या गरियो ।’ स्वामी अरुणले उनको मृत्यु अप्राकृतिक हो भन्दै आएका छन् ।
एक प्रसङ्गमा ओशोले भनेका थिए, ‘जिससलाई त सानो समूहले सुलीमा चढायो । सुकरातलाई एउटा सानो देशको सरकारले विष दिएर हत्या गर्यो । मेरो विरुद्धमा त सारा संसार लाग्यो । सारा विश्व मेरो विरुद्धमा छ ।’
ओशोले शरीर छोडेपछि उनको शरीरलाई ओशो इन्टरनेशनल कम्युन पुणेको बुद्ध हलमा मात्र १० मिनेट राखेर उत्सव गरी तुरुन्तै बर्निङ घाटमा जलाइयो । ती महान् गुरुको शरीरलाई १० मिनेट मात्र बुद्ध हलमा राखी तुरुन्तै जलाइनुले पनि झन् उनको मृत्यु लाई शङ्काको घेरामा तानेको छ । यसरी २१ औँ शताब्दीका रहस्यदर्शी ओशोको आफ्नो रहस्यमय जीवन पनि रहस्यमय ढङ्गले १९ जनवरी १९९० मा यस धर्तीबाट बिदा भयो ।
Email: [email protected]
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुस १५ भित्र विभागीय रिपोर्ट पेस गर्न एमालेको निर्देशन
-
‘नातिकाजी राष्ट्रिय सङ्गीत सम्मान’ घोषणा
-
टीयू मैदानमा अझै छ क्रिकेट क्रेज, तस्बिरहरू
-
मुम्बई : यात्रुले भरिएको डुङ्गा समुद्रमा पल्टिँदा दुई जनाको मृत्यु
-
जनजीविका र राष्ट्रिय मुद्दामा समाजवादी मोर्चा निष्प्रभावी
-
उमर खालिदले दिल्लीको अदालतबाट पाए अन्तरिम जमानत