प्रधानमन्त्री कप क्रिकेट : गण्डकीको पहिलो जित, २५ रनमै समेटियो कोशी प्रदेश
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई एक सय ४२ रनको फराकिलो अन्तरले हराएको छ । जारी प्रतियोगितामा चार खेल खेलेको गण्डकी प्रदेशको यो पहिलो जित हो ।
यसअघि तीन खेलमा गण्डकी प्रदेश पराजित भएको थियो । कोशी प्रदेशको भने यो लगातार छैटौँ हार हो ।
काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने १५.२ ओभरमै अलआउट हुनुअघि २५ रन मात्र बनाउन सक्यो ।
कोशी प्रदेशका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । क्रिज समाल्न आएका कोशीका ब्याट्सम्यानहरु एकपछि अर्को गर्दै पेभेलियन फर्किएका थिए । कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् ।
कोशी प्रदेशले १७ रनको कुल स्कोरमै आफ्नो सात विकेट गुमाइसकेको थियो । ओपनर सोनु अन्सारीले खातासम्म खोल्न सकेनन् । कप्तानसमेत रहेका अर्का ओपनर अङ्कित सुवेदी आठ रनमा आउट भए । आशिष भट्टराई पनि तीन रनभन्दा अगाडि बढ्न सकेनन् ।
सुजन थपलिया पनि दुई रनमै आउट भए । मिनाष थापाले एक रन जोडे । फिरदोष अन्सारीले खाता खोल्न सकेनन् । समीर कार्की पनि शून्य रनमै पेभेलियन फर्किए । कमल खत्रीले पाँच रन बनाए । सोनु मण्डल एक रनमै आउट भए ।
अभ्यास तिमिसिलाले अविजित तीन रन बटुले । हेमन्त राई शून्य रनमा आउट भए । कोशी प्रदेशले अतिरिक्त रूपमा पनि दुई रन पायो । गण्डकीका बलर बिपिन खत्री एक्लैले ६ विकेट लिए । उनले सात ओभरमा तीन मेडनसहित केवल चार रन खर्चिए । सन्दीप पराजुलीले पनि तीन विकेट हात पारे । अङ्कित न्यौपानेले एक विकेट लिए ।
त्यसअघि तेस्रो नम्बरका ब्याट्सम्यान मुस्कान थापा र आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान विपिन खत्रीले जिम्मेवारीपूर्वक ब्याटिङ गरेपछि गण्डकी प्रदेशले राहत पाएको थियो । गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो ।
टोलीको कुल स्कोर ३८ रन हुँदा नै गण्डकी प्रदेशले पाँच विकेट गुमाइसकेको थियो । मुस्कानले टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ६७ रन बनाए । लामो समय क्रिजमा सँघर्ष गरेका मुस्कानले एक सय २२ बलको सामना गरी सात चौका पनि हिर्काए ।
त्यसपछि आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान विपिनले टोलीको खातामा ४२ रन थपे । उनले ७१ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । यसदेखि बाहेक सातौँ नम्बरका ब्याट्सम्यान कमल परियारले मात्र दोहोरो अंकमा रन बनाउन सके । कमलले १३ रन बनाए ।
गण्डकीका दुबै ओपनर ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । ओपनर समीर कँडेल शून्य रनमै पेभेलियन फर्किए भने अर्को ओपनर करण पंगेनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । क्रिस ऐयर शून्य रनमै पेभेलियन फर्किए भने आश्विन राणा पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् ।
अमृत गुरुङ पनि चार रनको व्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । चन्द्र पौडेल आठ रनमा अविजित रहे । अङ्कित न्यौपाने सात रनमा आउट भए । सन्दीप पराजुलीले त खातासम्म खोल्न सकेनन् । गण्डकी प्रदेशले अतिरिक्त रूपमा १६ रन पायो ।
गण्डकी प्रदेशका ब्याट्सम्यानका लागि कोशी प्रदेशका बलर अभ्यास तिम्सिना सबैभन्दा घातक बने । उनी एक्लैले ६ विकेट लिए । उनले ९.२ ओभरमा दुई मेडन राख्दै केवल २३ रन खर्चिएका थिए । फिरदोष अन्सारी, सोनु मण्डल र कमल खत्रीले पनि एक–एक विकेट हात पारे ।