बिहीबार, १३ मङ्सिर २०८१
ताजा लोकप्रिय

मुस्कान र कप्तान बिपिनको ब्याटिङले गण्डकीलाई राहत, कोशीले पायो १६८ रनको लक्ष्य

आइतबार, ०७ माघ २०८०, १३ : ०८
आइतबार, ०७ माघ २०८०

काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबारको खेलमा गण्डकी प्रदेशले कोशी प्रदेशलाई जितका लागि एक सय ६८ रनको लक्ष्य दिएको छ । जारी प्रतियोगितामा कोशी र गण्डकी दुबैले हालसम्म एक खेल पनि जित्न सकेका छैनन् ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको गण्डकी प्रदेशले ४८.२ ओभरमा अलआउट हुनुअघि एक सय ६७ रन बनाएको हो । तेस्रो नम्बरका ब्याट्सम्यान मुस्कान थापा र आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान विपिन खत्रीले जिम्मेबारीपूर्वक ब्याटिङ गरेपछि गण्डकी प्रदेशले राहत पाएको थियो ।

गण्डकी प्रदेशका अन्य ब्याट्सम्यानको प्रदर्शन भने निराशाजनक रह्यो । टोलीको कुल स्कोर ३८ रन हुँदा नै गण्डकी प्रदेशले पाँच विकेट गुमाइसकेको थियो । मुस्कानले टोलीका लागि अर्धशतकीय पाली खेले । उनले ६७ रन बनाए । लामो समय क्रिजमा सँघर्ष गरेका मुस्कानले एक सय २२ बलको सामना गरी सात चौका पनि हिर्काए ।

त्यसपछि आठौँ नम्बरमा क्रिज समाल्न आएका कप्तान विपिनले टोलीको खातामा ४२ रन थपे । उनले ७१ बलको सामना गरी एक छक्का र पाँच चौका पनि हिर्काए । यसदेखि वाहेक सातौँ नम्बरका ब्याट्सम्यान कमल परियारले मात्र दोहोरो अंकमा रन बनाउन सके । कमलले १३ रन बनाए ।

गण्डकीका दुबै ओपनर ब्याट्सम्यानको प्रदर्शन निराशाजनक रह्यो । ओपनर समिर कँडेल शून्य रनमै पेभेलियन फर्किए भने अर्को ओपनर करण पंगेनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । क्रिस ऐयर शून्य रनमै पेभेलियन फर्किए भने आश्विनी राणा पनि ६ रनभन्दा अगाडि बढ्न सकेनन् ।

अमृत गुरुङ पनि चार रनको ब्यक्तिगत स्कोरमै पेभेलियन फर्किए । चन्द्र पौडेल आठ रनमा अविजित रहे । अंकित न्यौपाने सात रनमा आउट भए । सन्दीप पराजुलीले त खातासम्म खोल्न सकेनन् । गण्डकी प्रदेशले अतिरिक्त रुपमा १६ रन पायो ।

गण्डकी प्रदेशका ब्याट्सम्यानका लागि कोशी प्रदेशका बलर अभ्यास तिमिसिना सबैभन्दा घातक बने । उनी एक्लैले ६ विकेट लिए । उनले ९.२ ओभरमा दुई मेडन राख्दै केवल २३ रन खर्चिएका थिए । फिरदोष अन्सारी, सोनु मण्डल र कमल खत्रीले पनि एक–एक विकेट हात पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप