शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
सम्झना

हिन्दु योगेश वैद्यले मुसलमान तैयारा बानुसँग बिहे गरेको त्यो क्षण

आइतबार, ०७ माघ २०८०, १२ : २४
आइतबार, ०७ माघ २०८०

सपना भुलाइ सारा आँसु पिएर जाऊ,
मन्दिरमा छ तिम्रै तस्बिर लिएर जाऊ ।

(स्वर : योगेश वैद्य, सङ्गीत :नातिकाजी, शब्द : शिव अधिकारी)

कुनै एउटा यस्तो समय थियो, जुन समयमा योगेश वैद्यका गीतमाला श्रोताका लागि प्रिय हुन्थे । त्यो स्वर नेपालीका मन र मस्तिष्कमा सधैँ जोडिइरह्यो । उनी पनि गीत गाउनमै सक्रिय भइरहे । गीत गाउनमा मात्र उनको नाउँ चलेन, उनी सङ्गीतकारका रूपमा पनि प्रवेश भए, त्यसका साथै उनी गीति रचनाकारका रूपमा पनि देखापरे । साङ्गीतिक पथमा हिँड्दै जाँदा वैद्यले जम्मा तीन सय ५० वटा गीत गाए, केही गीत लेखे र केही गीतमा सङ्गीत पनि प्रदान गरे ।

संवत् २००३ साल नागपञ्चमीका दिन काठमाडौँको नरदेवीमा योगेश वैद्यको जन्म भएको थियो । इन्दिरानन्द वैद्य र रुक्मिणी वैद्यका आठ सन्तान (६ बहिनी छोरी र दुई भाइ छोरा) मध्ये योगेश छोरामा जेठा थिए ।

योगेश वैद्य बाल्यकालदेखि नै सङ्गीतमा मरिमेट्थे । त्यति बेलादेखि नै उनको धुन, ताल र चालचलन सङ्गीतप्रति नै झुकेको थियो । खास गरेर उनी काठमाडौँस्थित शान्ति निकुञ्ज विद्यालयमा पढ्दा स्कुलका सांस्कृतिक कार्यक्रमहरूमा आफ्ना मधुर स्वरहरू अर्पण गर्थे । उनको स्वरले त्यतिखेर नै उनी आफ्नो टोल र आफूले पढेको स्कुलमा राम्ररी परिचित भएका थिए । किशोरावस्था पार लाग्दा नलाग्दै उनी एउटा राम्रो गायकमा स्थापित भइसकेका थिए । वास्तवमा उनको स्वरको लालित्यको जोकोही सङ्गीतका पारखीले वर्णन गर्थे ।

योगेश वैद्यले स्कुल पढिरहेकै बेला सङ्गीतप्रवीण नरराज ढकालसँग साङ्गीतिक तालिम लिए । ढकालको शास्त्रीय तालमा त्यतिखेर वैद्य घोटिनुसम्म घोटिएका थिए । त्यही पूर्वाधारले गर्दा वैद्यको सङ्गीत यात्राले राम्ररी जरा हालेको थियो । पछि उनले दर्शनदास श्रेष्ठसँग सङ्गीतको तालिम लिए । उनले जतिजति सङ्गीतको व्यावहारिक शिक्षा लिए, त्यति त्यति नै खारिँदै गए ।

कागजी बिहे गर्न जिल्ला प्रशासन कार्यालय जाँदा उनीहरूको नैतिक समर्थनमा त्यहाँ बच्चु कैलाश, पुष्प नेपाली, प्रेमध्वज प्रधान, हिरण्य भोजपुरे लगायत सङ्गीतकर्मीको उपस्थिति थियो । उनीहरूको सुरक्षार्थ त्यहाँ अमृत साइन्स कलेजमा अध्ययनरत विद्यार्थीको पनि भीड लागेको थियो ।

योगेश वैद्य विभिन्न सांस्कृतिक मञ्चहरूमा गीत गाइसकेपछि मात्र रेडियो नेपाल प्रवेश भएका थिए । युवावस्थाको कलकलाउँदो गुबो बोकेर रेडियो नेपाल पुगेर ‘कति प्यासी छ जिन्दगी’ बोलको गीत गाएपछि उनको औपचारिक गायनको आरम्भ भयो । त्यसपछि उनी गायन क्षेत्रमा राष्ट्रिय स्तरमा देखापर्न थाले । उनका गीत फेरिफेरि पनि रेडियो नेपालको स्टुडियोमा रेकर्डिङ भइरहन थाले । उनी जतिजति गीत गाउँथे, त्यतित्यति उनको गीतको प्रशंसा हुने गथ्र्याे । वास्तवमा उनको स्वरमा पालिस लाउनुपर्दैनथ्यो । अथवा भनौँ, उनको स्वरबाट प्रस्फुटित अकबरी गीतलाई कसी लगाउनुपर्दैनथ्यो । उनी गाइरहन्थे, रेडियो नेपालले उनको गीत बजाइरहन्थ्यो र श्रोताहरूले ती गीत सुनिरहन्थे । योगेश वैद्यको गायनप्रति श्रोताहरूको मत भेटिन्छ, ‘वैद्यको गीतभित्र राष्ट्रियताको धुकधुकी भेटिन्छ, नेपालप्रतिको माया पाइन्छ र राष्ट्रको एउटा सग्लो परिचय देखिन्छ ।’ 

नेपाल मेरो तिमीलाई उपहार भो यो जिन्दगी

अपनाऊ या नअपनाऊ तिम्रै छ सर्वस्व जेजति ।

(स्वर : योगेश वैद्य, सङ्गीत :नातिकाजी, शब्द : मवीवि शाह)

योगेश वैद्य बीएससी पढेताका उनको भेट तैयारा बानु नाउँकी एउटी किशोरीसँग भएको थियो । त्यतिखेर तैयारा एसएलसीको तयारीमा थिइन् । योगेश वैद्य तन र मनबाटै तैयारासँग आकर्षित भए । वास्तवमा त्यस बेला उनीहरूबीच प्रकृति र पुरुषको आकर्षणले एकअर्काको दिलमा झड्का हानेको थियो । त्यसताका उनीहरूबीचको प्रेमले उनीहरूको हृदयलाई एकअर्काप्रति टमक्कै बाँधेको थियो । त्यतिखेर उनीहरू एकअर्कालाई कहिल्यै नछोड्ने वाचा–बन्धनमा टमक्कै बाँधिएका थिए । त्यसैले संवत् २०२८ मङ्सिर १७ गते उनीहरू औपचारिक रूपमा लोग्ने–स्वास्नी भएका थिए । त्यतिखेर तैयारा बानुले १९ वर्ष मात्र टेकेकी थिइन् ।

धर्मको गणित जोडिन जाँदा तैयारा मुसलमान र योगेश हिन्दु भए पनि उनीहरूको मुटु प्रेममा समर्पित थियो । त्यतिखेर मानवतावाद जिन्दावादमा उनीहरूको भावनाले नारा लगाउने गथ्र्याे । घर–परिवार, समाज, धर्म र रीतिरिवाजलाई उनीहरूको मनले तिलाञ्जली दिएको थियो ।

योगेश र तैयारा कागजी विवाह गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौँ जाँदा उनीहरूको नैतिक समर्थनमा त्यहाँ बच्चु कैलाश, पुष्प नेपाली, प्रेमध्वज प्रधान, हिरण्य भोजपुरे लगायत सङ्गीतकर्मीको उपस्थिति थियो । योगेश र तैयाराको सुरक्षार्थ त्यहाँ अमृत साइन्स कलेजमा अध्ययनरत विद्यार्थीको पनि भीड लागेको थियो ।

धर्मको गणित जोडिन जाँदा तैयारा मुसलमान र योगेश हिन्दू भए पनि उनीहरूको मुटुचाहिँ प्रेममा समर्पित थियो । त्यतिखेर मानवतावाद जिन्दावादमा उनीहरूको भावनाले नारा लगाउने गथ्र्याे । घर–परिवार, समाज, धर्म र रीतिरिवाजलाई उनीहरूको मनले तिलाञ्जली दिएको थियो । यसै कारणले उनीहरूलाई जीवन परिचालनार्थ थुप्रै सङ्घर्ष पनि खेप्नुपर्‍यो । त्यति बेलादेखि झन्डै डेढ दशकसम्म सामाजिक र पारिवारिक द्वन्द्वमा योगेश वैद्यले आफ्नो जीवनलाई कठोरतापूर्वक परिचालन गरेका थिए ।

योगेश वैद्यले वनस्पतिशास्त्रमा एमएससी गरे । साथै उनले बेल्जियमबाट खाद्यविज्ञान तथा पोषणमा पुनः स्नातकोत्तर तहको अध्ययन पूरा गरे । उनकी पत्नीले बीए उत्तीर्ण गरेकी थिइन् । तैयारा वैद्यले एसएलसी, आई र बीएका परीक्षामा ऐच्छिक नेवारी विषय पढेकी थिइन् ।वैद्य दम्पतीले तीन सन्तान जन्माए– लब्लिन, जस्मिन र लोकेश । जीवनमा जति नै रूढिवादीको चोट भेटे पनि शान्त, सुखद र उज्यालो घर–परिवारमा वैद्यले जीवन भुक्तान गरिरहेका थिए । आफ्नी प्रिय पत्नी र छोराछोरीसँग उनी त्यही रमाइलो संसारमा आफ्ना भावना फुकाइरहन्थे । कविता लेखनमा पनि लागिपरेका हुँदा उनी आफ्नो काव्य संसारभित्र आफ्नी पत्नी र छोराछोरीलाई बराबर प्रवेश गराउँदै फेरि आफ्नो स्वर प्रस्तुत गर्थे : 

मुखले पोखेको पिरतीभन्दा तिम्रो गहिरो आँखाको कसम देऊ,

ओठले छरेका मुस्कानभन्दा तिम्रो न्यानो मायाको कसम देऊ ।

(स्वर : योगेश वैद्य, सङ्गीत र शब्द : जी शाह)

सङ्गीत जगत्मा समर्पित हुँदै जाँदा २०२६ सालमा आधुनिक नेपाली सङ्गीत सम्मेलनमा पनि योगेश सहभागी भएका थिए । त्यसबेला उनी स्वरमा दोस्रो भई राजा महेन्द्रद्वारा पुरस्कृत भएका थिए । त्यसपछि उनी राजाको निम्तो पाएर बेलाबेला गीत गाउन राजदरबारमा पुग्न थाले । राजासमक्ष गीत गाएर उनी झनै उमङ्गित र उत्साहित हुन्थे । गायनमा समर्पित हुँदै जाँदा २०२८ सालमा राष्ट्रिय गीत सम्मेलनमा उनी प्रथम भएका थिए । 

विभूषण र पुरस्कारकै कुरा गर्ने हो भने उनले राजाबाट प्रसिद्ध गोरखा दक्षिणबाहु र विख्यात त्रिशक्तिपट्ट पाए । अनि उनले छिन्नलता गीत पुरस्कार पनि पाए । दिवङ्गत हुनुभन्दा तीन दिनअघि उनले धुस्वाँ सायमि पुरस्कार पाएका थिए । माघ ४ गते राजधानी काठमाडौँमा निधन भएका उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको थियो । 

योगेश वैद्यद्वारा रचित गीतका हरफहरूको बालकृष्ण सम पनि प्रशंसा गर्थे । त्यसैले समसँग यिनको घनिष्ठता थियो । वैद्य जति गीत लेख्थे, कविता पनि त्यतिकै लेख्थे । वास्तवमा उनी कवि गायक थिए, कवि सङ्गीतकार थिए र कवि गीतकार थिए । त्यसैले उनका गीत काव्यात्मक हिसाबका र कर्णप्रिय हुन्थे ।

योगेश वैद्यलाई गायनमा लत थियो । एकपटक ईश्वर वल्लभको रचना ‘धेरै भइसके जीवनमा पीडा’ गाउँदागाउँदै उनी त्यहीँ भक्कानिएर रोए । साँच्चै हो, उनी गीति रचनाको मर्म बुझ्ने गायक थिए । उनले नेपाली र नेपाल भाषामा धेरै गीत गाए, तर उनले गीत गायनलाई सोखका रूपमा मात्रै ग्रहण गरेको देखियो । वास्तवमा उनले पेसागत रूपमा सरकारी नोकरीलाई नै रोजे । त्यहीअनुरूप उनी खाद्य अनुसन्धानशालामा प्रवेश भए । त्यसपछि उनी लड्दैपड्दै श्री ५ को सरकारको प्रथम श्रेणीको अधिकृतमा पुगे । उनी वनस्पति विभागको उपमहानिर्देशक पदमा कार्यरत भए । उनले प्राविधिक विषयका सातवटा पुस्तक पनि लेखे ।

नेपाली परिवेशमा एउटा धेरै पढे–लेखेका विद्वान्, एउटा माथिल्लो ओहोदाका जागिरे र एउटा नामी गायकका रूपमा चिनिएका व्यक्तित्व योगेश वैद्य जति भर्‍याङ चढे पनि उनमा कहिल्यै घमण्ड पलाएन । त्यागमय जीवनका एउटा अलङ्कार उनी सरल स्वभावका थिए । उनका लागि सबैभन्दा ठूलो धर्म इमान थियो । त्यसैले उनी सबैका प्रिय बने । उनले कसैलाई बिझाएनन्, बरु अरूअरूबाट उनलाई चिमोट्ने काम भइरह्यो ।

नेपाली साङ्गीतिक आकाशमा योगेश वैद्यको स्वर नसुन्ने, नबुझ्ने र नजान्ने मान्छे बिरलै होलान् । वैद्य नेपालका सुगम र दुर्गम गाउँठाउँ, सहरबजार जतासुकै चल्तीमा आएका गायक हुन् । उनको स्वर अनि सङ्गीतको पनि तारिफ गर्ने धेरै श्रोता छन् । उनी राम्रा गायक मात्र नभएर सफल गीतकार र सङ्गीतकार पनि थिए ।

बितेका मेरा दिनहरू किस्सा बनिसके,

मेरा जिन्दगीका घाउहरू अब दाग बनिसके ।

(स्वर, सङ्गीत र शब्द :योगेश वैद्य)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

नरेन्द्रराज प्रसाई
नरेन्द्रराज प्रसाई
लेखकबाट थप