प्रधानमन्त्रीले सबैको विश्वास जित्नुभएको छ : वर्षमान पुन
काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले वर्तमान सत्ता गठबन्धन पाँचै वर्ष टिक्ने बताएका छन् । राष्ट्रियसभा निर्वाचनका लागि बागमती प्रदेशबाट उम्मेदवारी दिएका गठबन्धनका उम्मेदवार र मतदाताबिच शनिवार काठमाडौँको गोकर्णमा भएको अन्तरक्रियामा पुनले निश्चित राजनीतिक उद्देश्यका लागि बनाइएको गठबन्धन कसैले चाहेर तलमाथि हुने अवस्था नरहेको बताए ।
संविधानको रक्षा र कार्यान्वयनका लागि बनेको गठबन्धन मुलुकको अहिलेको आवश्यकता रहेको उनको भनाइ थियो । पुनले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न लोकतान्त्रिक र वाम प्रगतिशील शक्तिबिच सहकार्यको विकल्प नरहेको उल्लेख गरे ।
‘यो संविधानको रक्षा र कार्यान्वयनका लागि बनाइएको गठबन्धन हो’, पुनले भने, ‘यो कुनै नेता र पार्टीगत स्वार्थले बनेको नभई नेपालको अहिलेको आवश्यकता हो । वामपन्थी–प्रगतिशील र लोकतान्त्रिक शक्ति नमिली नेपालले विश्व भू–राजनीतिक प्रभावको सामना गर्न सक्दैन ।’
गठबन्धनमा लामो समय मुलुकको राजनीतिक परिवर्तन र सामाजिक रूपान्तरणका लागि सङ्घर्ष, त्याग र बलिदानको पृष्ठभूमिबाट आएका दलहरू रहेको उनले बताए । १२ बुँदे सहमतिदेखि संविधान निर्माणमा सहकार्य गरेका प्रमुख शक्तिहरूको गठबन्धन भएकाले यसलाई आजको यथार्थतामा बुझ्न जरुरी रहेको उनले बताए ।
‘हाम्रो यो गठबन्धन चुनावी जित हारका लागि वा नेताहरूको स्वार्थका लागि नभई निश्चित राजनीतिक उद्देश्यका लागि बनेको हो’, पुनले भने, ‘शान्ति प्रक्रियाका केही कामहरू बाँकी छन् । संविधान कार्यान्वयनमा विभिन्न खालका अवरोधहरू खडा गरिए । ती अवरोधहरू पन्छाउँदै संविधानको व्यवस्थाअनुसार जनताका अधिकार सुनिश्चित गर्नु गठबन्धनको उद्देश्य हो ।’
आफ्ना अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन आबद्ध दल र ती दलका प्रमुख नेताहरूको विश्वास जितेका कारण पनि गठबन्धन पाँचै वर्ष जाने आधार तयार भएको पुनको भनाइ थियो । पुनले सरकारले संसद्को हिउँदे अधिवेशनमा सङ्घीय निजामती र सङ्घीय प्रहरी ऐन पारित गर्ने गरी गृहकार्य गरिरहेकाले सङ्घीयता कार्यान्वयनमा भएको विलम्ब चाँडै हट्ने बताए ।
नेपाल सङ्घीयताको नयाँ अभ्यासमा रहेको र सङ्घीयताको चरित्र समन्वयात्मक रहेको भन्दै पुनले मुख्यमन्त्रीहरूको असन्तुष्टि छिट्टै सम्बोधन हुने गरी प्रधानमन्त्रीले काम अघि बढाएको उल्लेख गरे । पुनले सङ्घ, प्रदेश र स्थानीय तहबिचको समन्वयमा मात्र सङ्घीयता सफल बनाउन सकिने भएकाले साझा अधिकार सूचीअनुसार तीन वटै तहका सरकारले काम गर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा सङ्घीयताको अभ्यास गर्ने क्रममा धेरै राम्रा अनुभवहरू हासिल भएका र जनताले प्रभावकारी सेवा पाएको दाबी गरे ।
फरक प्रसङ्गमा पुनले राष्ट्रियसभामा सात वटै प्रदेशहरूको समानुपातिक प्रतिनिधित्व हुने भएकाले त्यसको बनोट विशिष्ट र मौलिक रहेको बताए । ठुलो जनसङ्ख्या भएको मधेस र बागमती तथा कम जनघनत्व भएका कर्णाली र सुदूरपश्चिम प्रदेशको राष्ट्रियसभामा बराबर ८ जनाको प्रतिनिधित्व हुने भन्दै त्यसले प्रदेशहरूको स्वार्थको प्रतिनिधित्व गर्ने जनाए । ‘राष्ट्रिय सभा प्रदेशहरूको समानुपातिक प्रतिनिधित्व भएको निकाय हो ।
प्रतिनिधिसभा जस्तो कार्यकारीको प्रभाव राष्ट्रिय सभामा पर्दैन’, पुनले भने, ‘बनोटले नै के बताउँछ भने राष्ट्रिय सभाले प्रदेश र स्थानीय तहहरूको स्वार्थको प्रतिनिधित्व गर्छ ।’ पुनले गठबन्धनका उम्मेदवारलाई जिताउन आफ्ना पार्टीका प्रदेशसभा सदस्य र पालिका अध्यक्ष तथा उपाध्यक्षलाई निर्देशन दिए । विगतका निर्वाचनमा भएका कमजोरी गठबन्धनमा आबद्ध कुनै पनि दलले नदोहोर्याउने विश्वास पनि उनले व्यक्त गरे ।
राष्ट्रिय सभाको रिक्त १९ सिटका लागि आगामी ११ माघमा निर्वाचन हुँदैछ । बागमतीको चार सिटका लागि सत्ता गठबन्धनबाट कांग्रेसका जितजंग बस्नेत र विष्णुदेवी पुडासैनी, नेकपा माओवादी केन्द्रका श्रीकृष्ण अधिकारी र नेकपा एकीकृत समाजवादीका घनश्याम रिजाल उम्मेदवार छन् ।