कविता
कविता : गोरुजुधाइ
शनिबार, ०६ माघ २०८०, १३ : २०

बुझ्दो न सुझ्दो
भेट्यो जुझ्दो
भित्तो देख्यो कि
सिँगौरी खेल्ने
निर्धो देख्यो कि
भित्तैमा पेल्ने
न घिउ–चाकु न तरुल
माघे सङ्क्रान्ति मान्ने
न्वारनका बलले
घुमेर चोरी हान्ने
जुरे साँढे सुम्लेको
उग्र मैमत्ता उम्लेको ।
स्वाभिमानको सिङ
हुँदै नभएको तिखे
मालिकले कस् भने
ऊ कम्मर कस्छ
बुढो भइसक्यो ऊ
गाई ओगटेर बस्छ ।
दाम्लो खुल्यो कि
अरुका लागि जुधिदिने
उज्यालो भयो कि
पुच्छर उचाली कुदिदिने
गोरुहरू पनि त आखिर
हामीजस्तै मान्छे नै हुन् ।