बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

तीन महिनाभित्र पनौतीलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिँदै

शनिबार, ०६ माघ २०८०, ११ : २१
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक–सांस्कृतिक तथा पुरातात्त्विक नगर पनौती विश्व सम्पदा सूचीमा सूचीकृत हुनका लागि काम अन्तिम चरणमा पुगेको छ । २०५२ सालदेखि विश्व सम्पदा सूचिमा सूचिकृत गराउने पहल भए पनि विभिन्न कारणले काम अघि बढ्न सकेको थिएन । तर पछिल्लो समय स्थानीय सरकारको पहलमा पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन तीव्र तयारी गरिएको हो । 

पनौती नगरपालिकाका मेयर रामशरण भण्डारीले पनौती क्षेत्र २०५८ सालमा स्मारक क्षेत्र घोषणा भएको र त्यसअघि फ्रान्स सरकारबाट पुनः निर्माण भएसँगै विश्व सम्पदा सूचिमा सूचिकृत गर्ने पहल भए पनि अहिलेसम्म सफल नभएको बताए । उनले नगरपालिकाले अहिले पनौतीलाई विश्व सम्पदा सूचिमा सूचिकृत गराउन अन्तिम तयारीमा लागेको जानकारी दिए । 

उनले युनेस्कोले दिएको मापदण्ड अधिकांश पूरा भइसकेकाले अब केही मापदण्ड पूरा गरेर पुरातत्त्व विभाग हुँदै युनेस्कोमा पठाउने तयारी भइरहेको बताए । नगरपालिकाले अहिले संरक्षणका लागि व्यवस्थापकीय योजना निर्माण गरिरहेको उनको भनाई थियो । उनले व्यवस्थापन योजना बनाइसकेपछि पुरातत्त्व विभाग हुँदै युनेस्कोमा तयारी रहेको बताए । न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले अबको दुई महिनाभित्रमा व्यवस्थापकीय योजना बनिसक्ने जिकिर गरे । व्यवस्थापकीय योजना बनाइसकेपछि युनेस्कोमा पहल गर्ने उनको भनाइ छ । कानुनहरू नबन्दा पनि कतिपय स्थानमा समस्या उत्पन्न भइरहेको उनले बताए ।

उनले भने, ‘अहिलेको परिस्थितिमा जसले जुन निकायले त्यो फाइल अध्ययन गर्छ उनीहरूले बुझिदिनुपर्छ की यो देशकै सम्पत्ति हो । हाम्रो हो भन्ने भावना बुझ्नुपर्छ । हेर्न र अध्ययन गर्न वर्षौँ लगाएपछि उपाय हुँदैन । पदाधिकारीले पनि जागरूकताका साथ हेर्नुपर्छ । कर्मचारीतन्त्रमा ढिलासुस्तीले गर्दा ढिलो भएको छ । अब ढिलो हुँदैन । आफ्नो कार्यकालमा पूरा गरेर नै छोड्छु ।’ 

यता, पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले पनौती ऐतिहासिक पुरातात्त्विक महत्त्व बोकेको सम्पदाको सहर भएको बताए । नले पनौतीमा एक किलोमिटर क्षेत्रमा ४२ वटा मूर्त सम्पदा रहेको बताए । मूर्त र अमूर्त गरी पनौतीमा मात्रै ७० बढी सम्पदाहरू रहेकाले यो सहर एउटा खुला सङ्ग्रहालय रहेको उनको भनाई थियो । उनले स्वर्ग लोकको राजा इन्द्र श्राप मुक्तका लागि आएर तपस्या गरी मुक्त भएको र मकर मेला लागेको लगायतका सांस्कृतिक जात्राहरूले भरिपूर्ण रहेको बताए ।

त्यस्तै पनौतीस्थित इन्द्रेश्वर महादेवका पुजारी रमेशप्रसाद जंगमले पनौती सहर धेरै पुरानो सहर भएकाले विश्व सम्पदा सूचिमा सूचिकृत हुनुपर्नेमा जोड दिए ।उनले भने, ‘विश्व सम्पदा सूचिमा राख्ने प्रयास २०५२ सालदेखिको हो । पनौतीमा फ्रान्स सरकारले एउटा प्रोजेक्ट लागू गरेको थियो । फ्रान्समा पनि यस्तै कलाकृतिले भरिपूर्ण खैजीलेमु भन्ने सहर छ । त्यो यो र हेरेर प्रोजेक्ट गरेका थिए । यो धेरै पुरानो सहर भएकाले विश्व सम्पदा सूचिमा राख्नुपर्ने उहाँहरूको आह्वान थियो । यहाँ आएका पर्यटकमध्ये ९० प्रतिशत पर्यटक फ्रान्सका छन् । हामीले बुझाउन नसक्दा अहिले आधुनिक घरहरू निर्माण भए । अहिले उनीहरूले ८० वटा जति घरहरू पुरानै शैलीमा बनाए राख्ने कुरा भनेका छन् ।’

पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । युनेस्कोको नेपालस्थित निकायले २०५२ सालमै पनौतीलाई मध्यकालीन वास्तुकला क्षेत्र जनाउँदै विश्व सम्पदामा सूचिकृत गर्न प्रस्ताव गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप