देव गुरुङमाथि पार्टी वैकल्पिक केन्द्रीय सदस्यले लगाए भ्रष्टाचारको आरोप (स्पष्टीकरण पत्रसहित)
काठमाडौँ । नेकपा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरखबहादुर केसीले पार्टी महासचिव देव गुरुङमाथि भ्रष्टाचारको आरोप लगाएका छन् । पार्टीलाई बुझाएको स्पष्टीकरण पत्रमा केसीले महासचिव गुरुङ नै विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएको आरोप लगाएका हुन् ।
वैकल्पिक केन्द्रीय सदस्य केसी र उनको सचिवालयका एक सदस्यले जाजरकोट भूकम्प पीडितका लागि राहत वितरण गर्ने क्रममा चिनियाँ महिलामाथि हातपात गरेको आरोपमा उनीमाथि पार्टीले स्पष्टीकरण सोधेकेो थियो ।
चिनियाँ कम्युनिस्ट पार्टीले पठाएको सहयोग सामग्रीलाई गुरुङले भनसुन गरी आफ्नो भदैनीको पति रहेका मुक्ति मरासिनीको संस्था ग्लोबल कोओपरेसन फर डेभलपमेन्टलाई दिलाएको र यसको भ्रष्टाचारबाट हुने आम्दानीमा दुवै हिस्सेदार रहेको केसीको दाबी छ । उनले दुवैमाथि पार्टी र सरकारले गम्भीरतापूर्वक छानबिन गर्न माग समेत गरेका छन् ।
उनले पत्रमा लेखेका छन्, ‘मरासीनीले भन्न थाल्नु भो, अरू पार्टीले मजाले खाका छन् । खान जानेका छन् तपाईंहरू खान नजानेर यत्रो सानो पार्टी भाको छ । खानुपर्छ कमरेड, हामीलाई कसैको भर्पाई दिनुस्, समान बुझेर लानुस् र मजाले खानुस् । उनले निस्फिक्री यो कसरी खान र लुट्न सकिन्छ भनेर प्रशिक्षण चलाउन थाले । मेरा आस्थाका धरोहर महासचिव कमरेडले त्यो मरासिनीलाई मज्जाले हप्काउलान् भनेको त मक्ख परेर सुनेका छन् । मैले यस्तो नाङ्गो लुटपाटको सल्लाह कहिल्यै देखेको सुनेको थिइनँ । महासचिव कमरेड त्यो रात सम्झिनुस् । मातृका दाइ अर्कै कोठामा हुनुहुन्थ्यो । मलाई लाग्छ उहाँ त्यही भएको भए मरासिनीको सातो जान्थ्यो ।’
हेरौँ केसीकाे स्पष्टीकरण पत्र -