शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

कविता !

शनिबार, ०६ माघ २०८०, १० : ५५
शनिबार, ०६ माघ २०८०

कविता म तिमीलाई
शरद ऋतुको सुकिलो आकाशलाई
जिस्काउँदै गरेको सेतो बादलको बुट्टामा देख्ने गर्छु,
आकाश छुन अग्लेको अग्लो 
पहाडको काखमा उम्रेर फुलेको 
लालीगुराँस फुलको रातो रङमा पाउँछु।
बाटो हराएर हतारमा हिँडेको
बटुवाको लम्केर हिँडेको जोसमा भेटाउने गर्छु।
आफू मात्रै बग्दै-बग्दै टाढा पुगेको नदीले
छोडेर राखेको किनाराको अविचलित धैर्यतामा 
तिमिलाई देख्ने गर्छु ।
अक्षरहरूको बगैँचामा मिलेर बसेको 
प्रेमिल वर्णविन्यास शब्द शब्दमा  पाउने गर्छु ।
फुलेको फूललाई पुतलीले अँगाले जसरी 
म तिमीलाई
सधैँ-सधैँ मेरो सामीप्यमा राखी रहन चाहन्छु ।
कविता  म तिमिलाई औधी-औधी आदर गर्छु ।

मेला- महोत्सवको खुसीयालीमा
तिमी उत्साहित भएर 
किसिम-किसिमको खुसीको लय बनेर घन्किन्छौँ
म तिमिलाई
उमङ्गको उल्लासमा भेट्छु,देख्छु।
दर्पणको अगाडि उभिएर
आफ्नो  सौन्दर्य निखार्दै गरेको सुन्दरीको
सुन्दरतामा तिमिलाई पाउँछु,
कविता म तिमीलाई
हिमालको पवित्र चोखोपनमा भेट्छु ।
भन्ज्याङमा अवस्थित गुम्बाको
रिम्पोछेले दिने आशीर्वादमा भेट्छु
चौतारीको वर-पिपल बोटलाई
फनफनी बेरेर बसेको अबिर मिश्रित काँचो धागोमा
आस्था को बिम्ब बनेर बसेको पाउँछु,
आदिम कालदेखि 
पर्यावरण जोगाउँदै आएको 
प्रकृतिको आश्चर्यजनक हरियो जङ्गलको
हरियाली रङमा पाउने गर्छु ।
कविता तिमीलाई...

कविता 
तिमी पूजा,तिमी आस्था अनि आराधना 
विश्वसनियताको आकाशमा उदाएको विश्वासिलो जुन
तिम्रो निम्ति मेरो मन नै हो मन्दिर 
अनि तिम्रो रेखदेख गर्नु मेरो धर्म 
तिम्रो साथ मेरो निम्ति 
जीवन जिउने मीठो आधार 
कविता,
तिमी कहिले जङ्गली फुल बनेर बनमा फुल्छौ
बिन्दास स्वतन्त्रताको सास फेर्दै
जंगललाई नै बगैँचा जस्तै बनाउँछौ ।
कहिले मन्दिर जस्तै पवित्र मनहरूमा 
संवेदनशील भावना बनेर 
अक्षरको रूप धारण गर्दै
कोरा सेतो खाली पन्नाहरूमा 
लामबद्ध कविताको हरफ बनेर स्थापित हुन्छौँ ।
कहिले तिमी साथ र सम्बन्ध को निम्ति फुर्छौ ।
कहिले तिमी कोक्रामा सुतिरहेको
अबोध शिशुको निन्द्रा बनेर निधाउने गर्छौ 
कविता तिमी...

कविता !
तिम्रो आवश्यकता 
मान्छेलाई मान्छे जस्तै बनाउन
मान्छे भित्रको मानवीयतालाई बचाउन
घाम-जुन, सृष्टि-धर्तीको 
दाग रहित सरगम बनेर गुनगुनाउन 
सुन्दरतामा सृष्टिको गाथा रचाउन
तिम्रो साथ यदाकदा नहुँदा 
तिमिलाई नदेखेर नभेटिँदा 
बाटो हराएको बेताले यात्री जस्तै हुन्छु म 
आकाश रोएर बगाएको 
उजाड पहिरो जस्तै हुन्छु म
हुरीको बेगमा लडेको 
कलिलो रुख जस्तै भइदिन्छु म
कविता तिमीलाई अविरल चोखो प्रेम गर्छु म ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुशील लामा
सुशील लामा
लेखकबाट थप