बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
नेपाली खेलकुदका चार रोचक प्रसङ्ग

जब युवराज दीपेन्द्रले बक्सिङ रिङमा साथीहरूको कुटाइ खान्थे

फुटबलका ‘नेपाली म्याराडोना’ बक्सिङ खेलाडी बन्न चाहन्थे
शनिबार, ०६ माघ २०८०, १० : १३
शनिबार, ०६ माघ २०८०

काठमाडौँ । आफ्नो समयका चर्चित मुक्केबाज हुन्, उमेश मास्के । नयाँ पुस्ताका लागि भने उनको नाम नौलो हुनसक्छ । भनिन्छ, इतिहासका अधिकांश पानामा धुलो जमेको हुन्छ । वर्तमान पुस्ताले इतिहास पढ्न धुलो हटाउनै पर्ने हुन्छ ।

जतिबेला मास्के देशका लागि बक्सिङ खेलिरहेका थिए, त्यतिबेला एसियाली बक्सिङमा नेपाल एउटा उदाहरणीय नाम थियो । कोरिया, थाइल्यान्ड, मंगोलियाजस्ता एसियाका हस्ती राष्ट्रका मुक्केबाजहरू पनि नेपाली बक्सरसँग भिडन्त गर्न थर्कमान हुन्थे ।

नेपाली बक्सिङको त्यो पुस्ता एसियाली खेलकुदमा समेत उत्कृष्ट प्रदर्शन गर्दै एकभन्दा बढी पदक भित्राउन सक्षम थियो । जानकारहरू भन्छन्, त्यतिबेला नेपाली बक्सिङ खेलाडी एसियामा आयोजना हुने कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगिताबाट खाली हात स्वदेश फर्कँदैन थिए । समग्रमा त्यो समय नेपाली बक्सिङ खेलका लागि स्वर्णिम युग थियो ।

नेपाली बक्सिङको त्यही पुस्ताका एक सारथि थिए, मास्के पनि । हाल उमेरले ६२ वर्ष लागेका मास्केले पनि देशका लागि दुईवटा ओलम्पिक खेलेका थिए । उनले सन् १९८० मा मस्कोमा सम्पन्न २२औँ ओलम्पिक र सन् १८८४ मा अमेरिकाको लस एन्जल्समा सम्पन्न २३औँ गृष्मकालीन ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए ।

मास्केले ओलम्पिकसँगै देशका लागि एसियाली खेलकुदमा पनि भिडन्त गरे । दक्षिण एसियाली खेलकुदको पहिलो संस्करणमै कांस्य पदक जिते । नवौँ एमेच्योर एसियन बक्सिङ च्याम्पियनसिपमा कांस्य पदक हात पारे ।

यतिमात्र होइन, निरन्तरको सङ्घर्षबाट निखारिएका यी मुक्केबाजले सन् १९८३ मा श्रीलंकाको राजधानी कोलम्बोमा सम्पन्न क्लिफोर्ड कप इन्टरनेशनल बक्सिङ च्याम्पियनसिपमा त स्वर्ण पदक नै हात पारे । यो त्यही प्रतियोगिता थियो जहाँ मास्केले आफ्ना सबै प्रतिद्वन्द्वीलाई नकआउट गर्दै ‘मिस्टर नकआउट’ को उपाधिसमेत हात पारेका थिए ।

यसका अतिरिक्त उनले आफ्नो सक्रिय खेल जीवनमा देशभित्र आयोजित थुप्रै राष्ट्रियस्तरका प्रतियोगितामा पनि आफूलाई अब्बल साबित गरेर देखाएका थिए । सक्रिय खेल जीवनबाट सन्न्यास लिनुअघि उनी आफ्नो तौल समूहमा निरन्तर १६ वर्षसम्म राष्ट्रिय च्याम्पियन पनि बने । 

बक्सिङ खेलसँग माया गाँसिनुअघि उनी सफल फुटबलर बन्न तम्सिएका थिए । यस क्रममा उनले एनआरटीबाट फुटबलका केही प्रतियोगिता पनि खेले । उनले सन् १९७९ मा घरेलु फुटबलको सम्मानित प्रतियोगिता सहिद स्मारक लिग पनि खेल्न भ्याएका थिए । उनै मास्केले रातोपाटीसँको भेटमा नेपाली खेलकुदसँग जोडिएका केही रोचक प्रसंगको विषयमा पनि कुराकानी गरेका छन् । 

  • फुटबलका ‘नेपाली म्याराडोना’ बक्सिङ खेलाडी बन्न चाहन्थे

नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वखेलाडी मणिविक्रम शाहको निधन भइसकेको छ । पित्तथैली र कलेजोको समस्याबाट पीडित शाहको केवल ५१ वर्षको उमेरमा निधन भएको थियो । उनी नेपाली फुटबलका उत्कृष्ट मिडफिल्डर थिए ।

मणिले सन् १९८५ देखि सन् १९९८ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए । वास्तवमा उनी आफ्नो नामजस्तै नेपाली फुटबलका अमूल्य ‘मणि’ नै थिए । आफ्नो सक्रिय खेल जीवनमा उनले करिब १३ वर्ष नेपाली फुटबलमा राज गरेका थिए ।

सन् १९९३ बंगलादेशको राजधानी ढाकामा भएको छैटौँ दक्षिण एसियाली खेलकुदमा नेपालले स्वर्ण पदक जित्दा उनी टोलीको महत्त्वपूर्ण सदस्य थिए । त्यतिबेला नेपाललाई स्वर्ण पदक दिलाउन उनले फाइनल खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।

mani-bikram-shah

सन् १९९८ मा थाइल्यान्डको राजधानी बैंककमा सम्पन्न एसियाली खेलकुदको उद्घाटन समारोहमा उनले राष्ट्रको झण्डा बोक्ने अवसर पाएका थिए । एसियाली खेलकुदमा नेपालको झन्डा बोक्ने उनी एक्ला फुटबल खेलाडी पनि हुन् ।

उनी शाह फ्रिकिक प्रहारमा माहिर थिए । नेपाली फुटबलमा अहिले पनि उनको फ्रिकिक प्रहारको चर्चा हुन्छ । समकालीन नेपाली फुटबलका यी चर्चित खेलाडीले आफ्नो अभूतपूर्व खेल कौशलका कारण ‘नेपाली म्याराडोना’ को उपनाम पनि पाएका थिए । तर, धेरैलाई थाहा नहुन सक्छ, नेपाली फुटबलका यी मणि पहिले बक्सिङ खेलाडी बन्न चाहन्थे ।

म सुरुमा फुटबल खेलाडी बन्न चाहन्थेँ । नेपालकै सबैभन्दा पुरानो क्लबमध्येको एक एनआरटीबाट केही समय फुटबल पनि खेलेँ । तर, समयले मलाई देशका लागि ओलम्पिक खेल्ने बक्सिङ खेलाडीको रूपमा छुट्टै परिचय दियो ।

यसको विपरीत मणि शाह बक्सिङ खेलाडी बन्न चाहन्थे । त्यतिबेला उनी फुटबल पनि खेल्थे । मणिका पिता लक्ष्मण शाह पनि उनलाई बक्सिङ खेलाडी बनाउन चाहनुहुन्थ्यो । मणिले केही समय बक्सिङको प्रशिक्षण पनि गरे ।

उनी नियमित रूपमा प्रशिक्षण गर्न आउँथे । तर, प्रशिक्षणका क्रममा अनुहारमा चोट लाग्ने क्रम बढेपछि उनी बिस्तारै बक्सिङबाट टाढिँदै गए । स्पाइरिङमा पनि उनको भेट धेरैजसो प्रकाश तुलाधर र प्रवीण तुलाधरसँग पर्‍यो ।

बिस्तारै मणि बक्सिङ छाडेर फुटबलमै एकोहोरिए । वास्तवमा उनी फुटबल खेल्नै जन्मिएका थिए । उनलाई फुटबल खेलले नै नयाँ परिचय पनि दियो । फुटबलमा लागेर उनले जुन ख्याति कमाए सायद बक्सिङमा लागेको भए त्यो नपाउन पनि सक्थे । हरेक व्यक्तिभित्र फरक–फरक क्षमता लुकेको हुन्छ । मणिले आफ्नो क्षमता देखाउने उपयुक्त मञ्च भनेको फुटबल मैदान नै थियो ।

  • जब वैकुण्ठ मानन्धर र अर्जुन पण्डित बक्सिङको प्रशिक्षक बने !

विश्व खेलकुदको सबैभन्दा ठुलो प्रतियोगिता हो, ओलम्पिक । सन् १९८० मा रुसको मस्कोमा ओलम्पिक खेलकुद आयोजना हुँदै थियो । त्यतिबेला ओलम्पिक खेलकुद आयोजना हुनुभन्दा एक वर्ष अगाडि प्रि–ओलम्पिक पनि आयोजना हुन्थ्यो ।

प्रि–ओलम्पिकमा खेलाडीको स्तर मापन गरिन्थ्यो । कुनै पनि खेलाडी ओलम्पिक खेल्नका लागि योग्य छ कि छैन भनेर प्रि–ओलम्पिकमार्फत निर्धारण गरिन्थ्यो । त्यसैले सन् १९८० को ओलम्पिकका लागि सन् १९७९ मा मस्कोमै प्रि–ओलम्पिक आयोजना गरिएको थियो ।

हामी विभिन्न खेलका नेपाली खेलाडीले पनि त्यो प्रि–ओलम्पिकमा भाग लिएका थियौँ । एथलेटिक्सबाट वैकुण्ठ मानन्धर र अर्जुन पण्डित पनि जानु भएको थियो । जब म भिडन्तका लागि रिङमा पुगेँ, मेरो सातोपुत्लो उड्यो । रिङमा प्रवेश गर्नासाथ रेफ्रीले तिम्रो बुट खोइ ? भनेर प्रश्न गरे । मसँग बक्सिङ खेल्दा लगाउने जुत्ता थिएन । त्यतिबेला म आर्मीले लगाउने बुट लगाएर बक्सिङ रिङमा पुगेको थिएँ ।

त्यसपछि रेफ्रीले यो जुत्ता लगाएर तिमीले बक्सिङ खेल्न पाउँदैनौ भने । ठुलो सपना साँचेर मस्को पुगेको मेरो हंसले ठाउँ छाड्यो । त्यहीँ रिङमा घोप्टिएर रुन मन लाग्यो । त्यतिबेला जापानको बक्सिङ टोली पनि त्यहीँ थियो ।

सायद मेरो दयनीय अवस्था देखेर जापानी टोलीका प्रशिक्षकको मनमा दया पलाएछ । त्यसपछि जापानी प्रशिक्षकले मेरो जुत्ताको नाप सोधे । उनले नै गएर आफ्ना खेलाडीको जुत्ता मागेर ल्याइदिए । यसरी मेरो जुत्ताको समस्या समाधान भयो ।

त्यसपछि म खेल्नका लागि फेरि रिङमा प्रवेश गरेँ । तर, दुर्भाग्यले पछ्याउन भने छाडेन । त्यसपछि फेरि अर्को आपत् आइलाग्यो । रेफ्रीले तिम्रो प्रशिक्षक खोइ ? भनेर प्रश्न गरे । नेपाली टोलीमा बक्सिङ प्रशिक्षक थिएनन् । प्रशिक्षक बिना खेल्न नपाइने नियम रहेछ । हामीलाई थाहा थिएन ।

अब प्रि–ओलम्पिक नै खेल्न नपाइने पक्का भइसकेको थियो । पुर्पुरोमा हात लगाएर रुनुबाहेक अर्को विकल्प थिएन । तर, अचानक एउटा चमत्कार भयो । वैकुण्ठ मानन्धर र अर्जुन पण्डित मेरो खेल हेर्न टुप्लुक्क त्यहीँ आइपुगे । केही सोच्न नसकिरहेको अवस्थामा मैले अचानक वैकुण्ठ मानन्धर र अर्जुन पण्डितलाई देखाएर रेफ्रीलाई भनिदिएँ, ‘उ आइपुग्नुभयो मेरो प्रशिक्षक ।’

आफै खेलाडीका रूपमा एथलेटिक्स खेल्न मस्को पुगेका वैकुण्ठ मानन्धर र अर्जुन पण्डित पनि मेरो कुरा सुनेर जिल्ल परे । उनीहरू आफै अलमल्ल परेका थिए । उनीहरूलाई देख्दा मलाई देउता देखेजस्तै भयो । मैले हतारमा कानेखुसी गर्दै उनीहरूलाई सबै कुरा बताएँ । उनीहरू पनि अन्योलमै थिए, ‘यो कुन आपत् आइलाग्यो’ भनेर ।  

त्यसपछि रेफ्रीले वैकुण्ठ मानन्धर र अर्जुन पण्डित दुबैलाई घुरेर हेर । तर, केही सोधेनन् । त्यसपछि बल्ल मैले प्रि–ओलम्पिक खेल्न पाउने भएँ । मेरो भिडन्त मंगोलियन खेलाडीसँग परेको थियो । त्यतिबेला मंगोलियाका बक्सर भनेपछि विश्वका महारथी खेलाडीहरू पनि थर्कमान हुन्थे । त्यसमाथि उ एसियन च्याम्पियन पनि थियो ।

त्यो वास्तवमै गजबको क्षण थियो । उता रिङमा मंगोलियन खेलाडीले मलाई मजैले ठटाइरहेका थिए । आँखा सुन्निएर आलुजस्तै भइसकेको थियो । नाकबाट रगत बगिरहेको थियो । प्रतिद्वन्द्वीको निरन्तरको प्रहारका कारण रिङमा दुखाईले गर्दा मेरो हालत खराब भइसकेको थियो । यता मेरा प्रशिक्षक वैकुण्ठ मानन्धर र अर्जुन पण्डित भने ‘हान हान । बेस्सरी हान । लात्तले दे’ भनेर कराई रहेका थिए ।

विचरा एथलेटिक्सका यी दुई धुरन्धर खेलाडीलाई बक्सिङको बारेमा के थाहा । धन्य उनीहरूकै कारणले मैले प्रि–ओलम्पिक खेल्ने अवसर भने पाएको थिएँ । मेरा लागि त्यो नै ठुलो कुरा थियो । प्रत्येक राउन्डको खेल सकिएपछि उनीहरूले मेरो पसिना पुछिदिन्थे ।

तर, उनीहरूसँग मलाई सिकाउने कुनै विशेष दक्षता थिएन । त्यो भिडन्तमा मज्जाले कुटाई खाएर म हारेँ । तर, मैले अर्को वर्ष मस्कोमै आयोजना हुने ओलम्पिक भने खेल्न पाउने भएँ । खासमा बक्सिङ खेलमा प्रशिक्षकको निकै ठुलो भूमिका हुन्छ ।

रिङमा भिडन्त गरिरहँदा खेलाडीको आँखा प्रतिद्वन्द्वीमाथि हुन्छ । त्यसले २५ प्रतिशत मात्र काम गर्छ । बाँकी ७५ प्रतिशत त प्रशिक्षककै भूमिकामा भर पर्छ । त्यसैले खेलाडीको कान भने सधैँ प्रशिक्षकको आवाजमा केन्द्रित हुन्छ । प्रशिक्षकले बताए अनुसार नै खेलाडीले प्रतिद्वन्द्वीको कमजोरीको फाइदा उठाउनु पर्ने हुन्छ । तर, त्यहाँ त अवस्था उल्टो थियो । मेरा प्रशिक्षकभन्दा त बक्सिङको बारेमा म नै बढी जानकार थिएँ ।

  • युवराज दीपेन्द्रले पनि बक्सिङ रिङमा साथीहरूको कुटाइ खान्थे

तत्कालीन युवराजाधिराज दीपेन्द्र बुढानीलकण्ठ स्कुलमा पढ्थे । त्यतिबेला उनी आठ कक्षामा पढिरहेका थिए । युवराज दीपेन्द्रका एडीसी थिए, रविराज थापा । त्यसमाथि रविराथ थापा आफै पनि बक्सिङका चर्चित खेलाडी ।

रविराज थापाकै पहलमा म युवराज दीपेन्द्रलाई बक्सिङ सिकाउन जान्थेँ । त्यतिबेला दीपेन्द्रसँगै बुढानीलकण्ठ स्कुलका अन्य विद्यार्थीलाई पनि बक्सिङको प्रशिक्षण दिन्थेँ । मैले युवराज दीपेन्द्रलाई आफूले सोचेभन्दा निकै फरक पाएँ ।

उनी निकै अनुशासित थिए । साथीहरूसँग पनि उनी निकै राम्रो व्यवहार गर्थे । बक्सिङ सिक्न पनि उनी निकै रुचि देखाउँथे । प्रशिक्षकका रूपमा उनी मलाई पनि सम्मान गर्थे । प्रशिक्षणका क्रममा बेलाबेलामा खेलाडीबिच स्पाइरिङ (सिकारु खेलाडीबिच आपसमा भिडन्त गराउने कार्य) पनि हुन्थ्यो ।

स्पाइरिङ गराउँदा भने रमाइलो हुन्थ्यो । स्पाइरिङको बेला दीपेन्द्र आफ्ना साथीहरूलाई मजैले ठटाउँथे । अनि बेलाबेलामा उनका साथीहरूले पनि दीपेन्द्रमाथि गतिलै प्रहार गर्थे । सर्वसाधारण अरू बेला युवराजको नजिक पनि जान पाउँदैनथे । स्पाइरिङ गर्दा भने साथीहरू युवराजलाई कुटेर रमाउँथे । सायद, उनका साथीहरूले पछिसम्म पनि ‘मैले युवराज दीपेन्द्रलाई ठटाएको छु’ भनेर धक्कु लगाउँथे । खेलकुदको रमाइलो पक्ष भनेकै यही हो ।

  • जब भारतीय सञ्चारमाध्यमले नेपाली खेलाडीले रिङमै पिसाब फेरेको हल्ला फैलाए ...

सन् १९८० को ओलम्पिक खेलकुद रुसको मस्कोमा आयोजना भएको थियो । त्यो ओलम्पिकमा हामी नेपाली बक्सिङ खेलाडीले पनि भाग लिएका थियौँ । विश्वभरका एकसे एक प्रभावशाली खेलाडीको सहभागिता रहने ओलम्पिकजस्तो वृहत् प्रतियोगिता हामी नेपाली खेलाडीका लागि त अनुभव आर्जनको थलो मात्रै थियो ।

म आफ्नो स्पर्धामा पराजित भएँ । तर, त्यो ओलम्पिकमा भारतीय सञ्चारमाध्यमले हामी नेपाली खेलाडीमाथि निकै ठुलो अन्याय गरे । उनीहरूले अनावश्यक हल्ला फैलाएर नेपाली खेलाडीलाई बदनाम गर्ने प्रयास गरेका थिए ।

खासमा भएको के थियो भने, नेपाली खेलाडी विष्णु मालाकारको प्रतिद्वन्द्वी उत्तर कोरियाली खेलाडी परेका थिए । त्यतिबेला उत्तर कोरियाका मुक्केबाजहरू विश्व स्तरका थिए । हामी नेपाली खेलाडीको प्रशिक्षण पनि राम्रो थिएन ।

सामान्य प्रशिक्षण अनि भात–दाल–तरकारी खाएका भरमा हामी ओलम्पिकमा आफूभन्दा निकै बलिया प्रतिद्वन्द्वीलाई चुनौती दिन मस्को पुगेका थियौँ । त्यसैले उत्तर कोरिया मुक्केबाजले नेपाली खेलाडीलाई राम धुलाई गर्नु स्वाभाविकै थियो ।

त्यै पनि रिङमा बलियो आत्मविश्वास बोकेका विष्णुले उत्तर कोरियाका मुक्केबाजलाई गतिलो चुनौती दिएका थिए । तर, उनको क्षमताले भ्याएन । कोरियाली मुक्केबाजको एउटा प्रहारले विष्णुको हातको कुइनोको मासुको चोक्टा नै उछिट्ट्याई दियो ।

विष्णु पिडाले कराउन थाले । त्यसपछि रेफ्रीले खेल रोकेर कोरियाली मुक्केबाजलाई विजयी घोषित गरी दिए । त्यो समाचारलाई भारतीय सञ्चारमाध्यमले निकै बढाइ–चढाइ गरेर छापेछन् । उनीहरूले ‘नेपाली बक्सिङ खेलाडीले रिङमै पिसाब फेरे’ भनेर पनि समाचार छाप्न भ्याएछन् । 

यसदेखि बाहेक भारतीय सञ्चारमाध्यमहरूले अन्य खेलका नेपाली खेलाडीसँग पनि कुराकानी गरेका रहेछन् । कुराकानीका क्रममा नेपाली खेलाडीहरूले ‘हामी त अनुभव बटुल्न आएको । राम्रो खाना खान पायौँ । राम्रो खेल हेर्न पायौँ’ भनेर भनेका रहेछन् ।

त्यो विषयलाई पनि भारतीय सञ्चारमाध्यमले ‘ओलम्पिकमा सहभागी नेपाली खेलाडीहरू राम्रो खाना खान पाएर मक्ख छन्’ भनेर समाचार बनाएछ । खासगरी रिङमा पिसाब फेरेको समाचारले नेपालमा निकै ठुलो चर्चा पाएछ । हामीलाई मस्कोमा यस्तो समाचार छापिएको कुरा थाहा थिएन ।

पछि मस्कोबाट स्वदेश फर्कँदा हामीलाई विमानस्थलमा स्वागत गर्न आएका साथीहरूले मोटरसाइकल चलाउँदा लगाउने ‘हेलमेट’ पनि ल्याइदिएका थिए । ‘हेलमेट’ किने ल्याएको भनेर प्रश्न गर्दा उनीहरूले ‘बक्सिङ खेलाडीलाई अरूले चिनेर गिल्ला नगरुन्’ भनेर हेलमेट ल्याइदिएको कुरा बताए ।

त्यसपछि पो हामी झसङ्ग भयौँ । हुँदै नभएको समाचार छापेर भारतीय सञ्चारमाध्यमले हामीलाई हेलमेट लगाउनु पर्ने अवस्था निम्त्याइदिएका थिए । त्यो अर्थ न बर्थको समाचारका कारण स्वदेश फर्किएपछि पनि धेरै पछिसम्म बक्सिङ खेलाडीले हेलमेट लगाएर हिँड्नु पर्ने अवस्था आयो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रोशन राउत
रोशन राउत
लेखकबाट थप