बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

खुलामञ्चलाई खुलै रहन दिऊँ: डा भट्टराई*

शुक्रबार, ०५ माघ २०८०, १६ : ४६
शुक्रबार, ०५ माघ २०८०

काठमाडौँ । नेपाल समाजवादी पार्टी (नेपसा) का अध्यक्ष डा बाबुराम भट्टराईले खुलामञ्चलाई खुलै रहन दिनुपर्ने बताएका छन् । खुलामञ्च मासेर अन्तर्राष्ट्रियस्तरको फुटबल मैदान बनाउने काठमाडौँ महानगरपालिकाको तयारीप्रति असन्तुष्टि जनाउँदै भट्टराईले यस्तो धरान सार्वजनिक गरेका हुन् । 

सामाजिक सञ्जाल एक्समार्फत पूर्वप्रधानमन्त्री भट्टराईले खुलामञ्च पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल भएको पनि बताएका छन् । उनले भनेका छन्, ‘खुलामञ्चलाई खुलै रहन दिऊँ। यो पञ्चायतकालदेखि लोकतान्त्रिक आन्दोलन र जनप्रतिरोधको प्रतिबिम्ब स्थल हो ! मलाई जीवनमा पहिलो पटक २०३६ सालमा यसै मञ्चमा हृषीकेश शाह लगायतका मानव अधिकारवादी नेताहरूसँग उभिएर गणतन्त्रको पक्षमा बोलेको अझैँ सम्झना हुन्छ !’ 

बरु खुलामञ्चलाई अझै व्यवस्थित गरेर आम जनता र संगठनहरूले जनआवाज खुला रूपले मुखरित गर्न सक्ने सार्वजनिक स्थल बनाउनुपर्ने उनको भनाइ छ । ‘जीवन्त लोकतन्त्रमा संसद् मात्र हैन, सडक पनि जनदबाब र जनमत प्रदर्शन गर्ने महत्त्वपूर्ण थलो हुन्छ भन्ने नभुलौँ,’ पूर्वप्रधानमन्त्री भट्टराईले भनेका छन्, ‘हिजोका आन्दोलनकारीहरू आज सत्तासीन हुन पुगेपछि सडकको जनआवाज कुण्ठित गर्दै जान थाल्नु लोकतन्त्रनिम्ति शुभसंकेत हैन।’ 

* ( यसअघि प्रकाशित ‘बाबुराम र रविले एकै ठाउँमा उभिएर भने – खुलामञ्च खुला रहन देऊ’ शीर्षकको समाचारमा हाम्रो असावधानीले भ्रामक सन्दर्भसमेत उल्लेख हुन पुगेकाले क्षमायाचनासहित सच्याइएको छ l  हाम्रो असावधानी औंल्याइ दिनुहुने पाठक र शुभचिन्तकहरुप्रति हामी आभारी छौं l - सम्पादक )

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप