ब्याटिङमा आशुतोष र बलिङमा इशान चम्किएपछि बागमतीले कोशीलाई हरायो
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई ६४ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा हालसम्म पाँच खेल खेलेको बागमती प्रदेशको यो तेस्रो जित हो । दुई खेलमा भने बागमती प्रदेश पराजित भएको थियो । हालसम्म पाँच खेल खेलेको कोशी प्रदेशको भने यो लगातार पाँचौँ हार हो ।
कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमती प्रदेशले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय ७३ रन बनाएको थियो । ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको कोशी प्रदेशले भने ४७.१ ओभरमा अलआउट हुनुअघि दुई सय नौ रनमात्र बनाउन सक्यो ।
कोशी प्रदेशका दुई ब्याट्सम्यानले अर्धशतकीय पाली खेले पनि टोलीको जितका लागि त्यो पर्याप्त हुन सकेन । कोशीले पालीको गतिलो सुरुआत गरेको थियो । ओपनर ब्याट्सम्यानद्वय अंकित सुवेदी र सोनु अन्सारीले टोलीका लागि ४५ रनको साझेदारी गरेका थिए ।
कप्तानसमेत रहेका अंकितले टोलीका लागि ५३ रनको योगदान गरेका थिए । उनले ६५ बलमा दुई छक्का र चार चौका हिर्काए । अर्का ओपनर सोनु भने २१ रन बनाउँदै पेभेलियन फर्किएका थिए । उनले ४२ बलमा चार चौका प्रहार गरे ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका मिनाश थापा भने शून्य रनमै पेभेलियन फर्किए । त्यसपछि चौथो नम्बरका ब्याट्सम्यान सुजन थपलियाले टोलीको खातामा ५९ रन थपे । लामो समय क्रिजमा सँघर्ष गरेका सुजनले ७६ बलको सामना गरी तीन छक्का र चार चौका पनि हिर्काए ।
फिरदोष अन्सारी पाँच रनमै पेभेलियन फर्किए । शुभन गहतराज पनि चारभन्दा अगाडि बढ्न सकेनन् । आइष भट्टराईले अविजित ३२ रन बनाए । उनले ३८ बलमा तीन चौका पनि हिर्काए । भुपाल लुइटेल तीन र कमल खत्री चार रनमा पेभेलियन फर्किए । अभ्यास तिमिसिनाले पाँच रन बटुले । हेमन्त राईले पनि १० रन बनाए ।
कोशी प्रदेशले अतिरिक्त रुपमा पनि १३ रन पाएको थियो । बागमती प्रदेशका बलर इशान पाण्डे एक्लैले पाँच विकेट लिए । उनले आठ ओभरमा ३९ रन खर्चिए । सूर्य तामाङले पनि दुई विकेट हात पारे । प्रतिक श्रेष्ठ र रिजन ढकालले एक–एक विकेट लिए ।
त्यसअघि बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले शतकीय पाली खेलेका थिए । उनले टोलीका लागि एक सय १८ रनको योगदान गरेका थिए । जारी प्रतियोगितामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो उच्च स्कोर पनि हो ।
जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पाँचौँ खेलाडी पनि हुन् । कोशीविरुद्धको खेलमा उनले एक सय ११ बलको सामना गरी दुई छक्का र १६ वटा चौका पनि हिर्काए । अर्का ओपनर ईशान पाण्डे भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रित गौतमले पनि टोलीको खातामा ४९ रन थपे । उनले ६० बलको सामना गरी तीन चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान रविन जोशीले पनि ४३ रन बनाए । विकेटकिपर ब्याट्सम्यान रविनले ४५ बलमा एक छक्का र तीन चौका प्रहार गरे ।
प्रतिक श्रेष्ठले पनि टोलीको खातामा १९ रन थपे । उनले १६ बलमा एक छक्का र एक चौका हिर्काए । अशोक पौडेल पाँच र प्रतिश जीसी तीन रन बनाउँदै पेभेलियन फर्किए । विपिन आचार्यले नौ रन र सूर्य तामाङले पनि नौ रन बटुले ।
बागमती प्रदेशले अतिरिक्त रुपमा १२ रन पाएको थियो । कोशी प्रदेशका बलर अभ्यास मितिसिनाले तीन विकेट लिए । उनले नौ ओभरमा ४३ रन खर्चिए । हेमन्त राई र कमल खत्रीले पनि दुई–दुई विकेट हात पारे । फिरदोष अन्सारीले पनि एक विकेट लिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पक्राउ परेको १० घण्टा नबित्दै ठगी मुद्दाका अभियुक्त रिहा
-
रेलले ठक्कर दिँदा भारतमा कम्तीमा ७ जनाको मृत्यु
-
जापानमा बर्ड फ्लुको सङ्क्रमण : ५० लाख कुखुरा र चराको मृत्यु
-
सूर्य नेपाल वेस्टर्न ओपन सुरु, निरज शीर्ष स्थानमा
-
प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा सशस्त्र प्रहरीको ५१ लाख सहयोग
-
अमेरिकामा ट्रम्पको मनपरी रोक्न के छ तरिका ?