पार्टीको नाम फेरेर बाबुराम र विप्लवसँग एकता हुँदैन : देव गुरुङ
नेकपा माओवादी केन्द्रले पहिलो पटक फागुनको पहिलो साता विधान अधिवेशन गर्दैछ । उपाध्यक्ष पम्फा भुसाल नेतृत्वको कार्यदलले बनाएको मस्यौदा विधानलाई तीन सातासम्म तल्लो कमिटीमा छलफलका लागि पठाउने निर्णय भइसकेको छ । मस्यौदामाथि कार्यदलका सदस्य एवं उपमहासचिव जनार्दन शर्माले पूरक प्रस्ताव पेस गरेका छन् ।
भर्खर सकिएको चार महिने रुपान्तरण अभियानबाट नेताहरू उत्साहित भए पनि सबै प्रदेशबाट लिखित रिपोर्ट नआएकाले समीक्षा हुन सकेको छैन । बाबुराम भट्टराई, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको पार्टीसँग एकता गर्ने प्रक्रियाले गति लिन सकेको छैन । विधान अधिवेशनको तयारी, मस्यौदा कार्यदलभित्र देखिएको मतभेद, अभियानको समीक्षा र पार्टीको भावी कार्यदिशाको विषयमा माओवादी केन्द्रका महासचिव देव गुरुङसँग रातोपाटीका सम्वाददाता गणेश पाण्डेले कुराकानी गरेका छन् । प्रस्तुत छ, महासचिव गुरुङसँग गरिएको कुराकानीको सम्पादित अंशः
- पहिलोपटक विधान अधिवेशन गर्दै हुनुहुन्छ, कस्तो तयारी भइरहेको छ ?
यसअघि पार्टीको विधान निर्माण सामान्यतया राष्ट्रिय महाधिवेशनले गर्ने अभ्यास थियो । राष्ट्रिय महाधिवेशनमा राजनीतिक, वैचारिक, नीतिगत र संगठनात्मक विषयमा पनि छलफल गर्नुपर्ने भएकाले विधानमा पर्याप्त ध्यान दिन सकिएन । त्यसकारण विधानले त्यति प्राथमिकता पाएन । विगतको अनुभवलाई ध्यानमा राखेर विधानलाई बढी जिम्मेवार बनाउन छुट्टै विधान अधिवेशन गर्न लागिएको हो ।
विधानलाई थप अधिकार सम्पन्न बनाउने, परिस्कृत बनाउने गरी राष्ट्रिय महाधिवेशनकै एउटा खण्डको रुपमा यसलाई बहस र छलफल गर्न लागिएको हो । अहिले हामी त्यसकै तयारीमा लागिरहेका छौँ । मस्यौदा विधान बनिसकेको छ । मूलतः मस्यौदामा प्राविधिक कुरा सुधार गर्न गइरहेका छौँ । यसलाई छलफलका लागि तीन हप्ता तल्लो तहमा पठाउँदै छौँ । छलफलबाट आएको सुझावका आधारमा विधान अधिवेशनमा बहस र छलफल गर्नेछौँ । तयारी, सहभागिताको अवस्था हेरेर संख्या निर्धारण गरिसकेको छ । अब हाम्रो सम्पूर्ण ध्यान विधान अधिवेशनतर्फ केन्द्रित छ ।
- आगामी पाँच वर्षका लागि वैधानिक दस्तावेजका रुपमा विधान बनाउँदै हुनुहुन्छ । तर अधिवेशनमा तलैदेखि छानिएर आएका प्रतिनिधिहरू नभइ तदर्थ समितिमात्र सहभागी हुनुले के अर्थ राख्छ ?
सबै कमिटीमा छलफलका लागि तीन हप्ता समय दिएका छौँ । सबै कमिटीको बैठकमा सल्लाह, सुझाव मागिने भएकाले यसमा सबैको भावना समेटिने विश्वास लिएका छौँ । विधानलाई विधिवत रुपमा फाइनल गर्नुपर्छ । यसलाई फाइनलाइज गर्ने काम अधिवेशनले नै गर्छ । त्यतिबेला सबै पक्षलाई समेट्ने गरी स्थान, हलको अवस्था हेरर सहभागी गराउँछौँ । आएका सुझावलाई परिमार्जनसहित संश्लेषण गरेर अनुमोदन गर्छौं । अधिवेशनमा केन्द्रीय कमिटी, सल्लाहकार, केन्द्रीय निकाय, प्रदेशका पदाधिकारी, स्थानीय समितिका प्रमुख सहभागी हुने भएकाले सबैको प्रतिनिधित्व हुन्छ ।
- सम्यौदा विधान बनाउँदा कार्यदलभित्रै एकरुपता हुन सकेन । कार्यदलकै एक सदस्यले पूरक प्रस्ताव पेस गरेका छन् । यस्तो अवस्था किन आयो ?
सबैलाई आफ्ना विचार, सुझाव र सल्लाह दिने स्वतन्त्रता छ । त्यो स्वतन्त्रता पार्टी कमिटी, कार्यदलमा पनि छ । कार्यदलमै कतिपय विषयमा ध्यान पुगेको छ, कतिपयमा ध्यान पुगेको छैन । यसलाई स्वाभाविक रुपमा लिनुपर्छ ।
- पूरक प्रस्तावलाई समेट्ने जिम्मा तपाईं र संयोजकलाई दिइएको छ । समेटियो कि बाँकी नै छ ?
आएका सबै सुझाव कार्यदलमा छलफल भइरहेको छ, हुन्छ । जे–जति सुझाव आइरहेका छन् । त्यसलाई लिपिबद्ध गर्ने प्रयासमा छौँ । ती सबै स्वाभाविक प्रक्रिया हुन् । मस्यौदा नै अन्तिम रुप नभएकाले तलसम्म छलफल हुन्छ । त्यहाँबाट आएका सुझावका आधारमा अधिवेशनमा गम्भीर छलफल हुन्छ । अधिवेशनले नै यसलाई टुङ्ग्याउँछ ।
- तपाईंले प्रस्ताव गरेको मस्यौदा र अन्तरिम विधान हेर्दा खासै भिन्नता देखिँदैन । निर्वाचन प्रक्रियामार्फत नेतृत्वमा आउन सक्ने बाटो बन्द गरेको हो ?
तपाईंले आन्तरिक विषयलाई मिडियामा कुराकानी गर्न खोज्नुभयो । मिडियामा बहस गर्ने विषय होइन यो । यो पार्टीभित्र प्रस्तावित गरेको विषय हो । यसमा बहस गर्न जरुरी छैन । यी सबै विषय विधान अधिवेशनले हल गर्छ ।
- केन्द्रीय समितिमा विधि, प्रक्रिया विषयमा अधिकांशले कुरा उठाएका थिए, पार्टीले बहुमतको निर्णय मान्नुपर्छ कि पर्दैन ?
त्यही त अहिले पार्टीभित्र छलफलकै क्रममा छ । विधि र प्रक्रियाबारे छलफल भइरहेको छ । त्यसकै लागि मस्यौदालाई तल्लो कमिटीमा लैजाँदै छौँ । अन्तिम निष्कर्ष विधान अधिवेशनमा निष्कन्छ । यो सार्वजनिक रुपमा मिडियामा छलफल गर्ने विषय होइन ।
- पार्टीले चार महिने रुपान्तरण अभियान चलायो । यस विषयमा शनिबार बसेको स्थायी समिति बैठकमा पनि सामान्य समीक्षा भएको छ । प्रारम्भिक रिपोर्ट कस्तो खालको आएको छ ?
सबै ठाउँमा चार महिने अभियान सम्पन्न भएको छ । प्रारम्भिक रिपोर्ट आउने क्रम जारी छ । लिखित रुपमै आउन बाँकी छ । प्रारम्भिक रिपोर्ट र स्थायी समिति बैठकमा भएको छलफलको आधारमा अभियान राम्रै भएको छ, परिणाममुखी देखिन्छ । बाँकी विषयमा माघको अन्तिमसाता बस्ने बैठकमा गम्भीर समीक्षा गर्नेछौँ ।
- शान्ति प्रक्रियामा आएको १७ वर्षमा माओवादी कहाँ चुक्यो ? कहाँ करेक्सन गर्नुपर्ने देखियो ?
सामान्यतया पार्टी निरन्तर प्रक्रियामा चलिराखेको छ । मूलतः सही दिशामै अगाडि बढेको छ । कहाँ चुक्यो वा चुकेन भन्ने विषयमा पार्टीमा समीक्षा भएको छैन । तथापि कम्युनिस्ट पार्टी जुन ढङ्गले अगाडि बढ्नुपर्ने हो, सोही ढङ्गले अगाडि बढेको छ । हरेक बस्तुमा विपरीत्वको एकत्व हुने भएकाले केही सीमा र कमी कमजोरी हाम्रो पार्टीमा छन् । ती नकारात्मक पक्षलाई पनि सुधार गर्दै अगाडि बढेका छौँ । त्यसकारण पार्टीको विकासक्रम आफ्नो ढङ्गले भइरहेको छ । तर पार्टी चुकेको विषयमा गम्भीर ढङ्गले समीक्षा भएको छैन ।
- यी विषयमा माघको अन्तिम साता बस्ने स्थायी समिति बैठकमा समीक्षा हुन्छ कि हुँदैन ?
नीतिगत, वैचारिक विषयमा महाधिवेशनमा समीक्षा हुन्छ । यसअघि आठौँ महाधिवेशनले पारित गरेको प्रस्तावको आधारमा छलफल र बहस हुन्छ । त्यसैलाई कार्यान्वयन गर्ने हिसाबले प्रक्रिया अगाडि बढिरहेको छ । आठौँ महाधिवेशनले पारित गरेको राजनीतिक र नीतिगत दस्ताबेज नै आगामी महाधिवेशनको मुख्य गाइडलाइन हुन्छ ।
- समाजवादी कार्यदिशा तय गर्दै हुनुहुन्छ । वैचारिक, राजनैतिक र सांगठनिक कार्यदिशासँगै पार्टीको नाम बदल्ने कुरा उठेको छ । विधान अधिवेशनमै नाम फेर्ने सम्भावना छ ?
पार्टी एकता हुँदाको अवस्थामा नामको पछाडि कोष्ठभित्र जोडिएका विषयमा के गर्ने भन्ने कुरा एउटा लचकताका साथ सोच्न सकिन्छ । तर पार्टीको नाम फेर्ने प्रस्ताव हाम्रो पार्टीमा भएको छैन । अहिलेसम्म आएको पनि छैन र आउँदैन पनि । नाम फेर्ने कुरा विल्कुल गलत कुरा हो । एकता प्रक्रियाको क्रममा बिचको मिटिङ प्वाइन्ट खोज्दा बटमलाइनमा नेकपा परिवर्तन हुन सक्दैन । त्यसपछिको नामको सन्दर्भमा लचकताका साथ सोच्न सकिन्छ ।
- त्यसो भए बाबुराम, विप्लवबिच पार्टी एकता गर्ने विषय कहाँ पुग्यो ?
कुराकानी र छलफल भइरहेको छ । सहमति भएको अवस्थामा एकता प्रक्रिया अगाडि बढ्छ । अहिले समायोजन समिति बनाए प्रक्रिया अगाडि बढाउँ भन्ने कुरा भएको छ । विगतमा वार्ता टोलीले प्रारम्भिक रुपमा एकता गर्ने भनेको छ । अब वार्ता टोलीभन्दा अझ उचाइमा समायोजन समिति बनाएरै अगाडि बढौँ भन्ने छ । समायोजन समितिले नै वैचारिक, राजनीतिक र सांगठनिक संरचनाको विषयमा छलफल गर्छ । एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउँछ । यद्यपि अहिले छलफलकै क्रममा छ ।
- नेसपाका नेताहरूले माओवादीको स्थायी समिति बैठकको निर्णय कुरिरहेको बताएका छन् । एकताको गाँठो कहाँ परेको हो ?
अहिलेसम्म पार्टी एकता गर्न वातावरण बनाउने दिशातिर अगाडि बढीरहेको हो । स्थायी समिति बैठकले पनि समायोजन समिति बनाएर प्रक्रिया अगाडि बढाउने भनेको छ । अब राजनैतिक र वैचारिक कार्यदिशामा बहस सुरु हुन्छ । त्यसपछि एकता प्रक्रिया अगाडि बढ्छ ।
- बाबुराम र विप्लवसँग तत्काल पार्टी एकता हुन्छ कि हुँदैन ?
हामीले एकताका लागि सबै कम्युनिस्ट पार्टी र समाजवादी पार्टीसँग प्रयास गरिरहेका छौँ । मालेमावाद र अहिले रणनीतिक रुपमा समाजवादी क्रान्तिलाई कार्यदिशा मान्ने शक्तिहरुबिच एकताको पहल गरिरहेका हौँ । कुन शक्तिसँग एकता कति सम्भव छ वा छैन भन्ने घटनाक्रमले निर्धारित हुने विषय हो । अहिले छलफलकै क्रममा छ । निष्कर्षमा पुगेका छैनौँ । समायोजन समितिमार्फत थप उचाइमा पुर्याउँ भन्ने छ ।
- बाबुरामले अब नेपालमा कम्युनिस्टको आवश्यकता छैन । यसको सान्दर्भिकता सकियो भन्दै आउनुभएको छ नि ?
यस विषयमा छलफल गरेर निष्कर्षमा पुग्न सकिन्छ । कुनै ठुलो समस्या होइन ।
- विधान अधिवेशनपछि विशेष महाधिवेशन गर्ने तयारीमा हुनुहुन्छ । आगामी दिनमा माओवादी केन्द्रकै नेतृत्वमा वाम धु्रवीकरण हुन्छ वा अन्य कुनै पार्टीसँग मिलेर आकार बदलिन्छ ?
समाजवादी क्रान्तिको विकल्प छैन । यसका लागि तयार हुने शक्तिहरूबिच एकताका लागि पहल हुन्छ । पहल हुँदै जाने कुरा हो । मिलेको खण्डमा एकता प्रक्रिया अगाडि बढाइन्छ, नमिलेको खण्डमा सहकार्य हुन्छ । छलफलको क्रममा मिलेसम्म एकता हुन्छ । यी सबै विचार, नीति र कार्यदिशाका आधारमा निर्धारण हुने कुरा हो ।
- माओवादीकै नेतृत्वमा नेपालको कम्युनिस्ट आन्दोलन गोलबन्द हुने अवस्था कति छ ?
कम्युनिस्ट पार्टीको विकल्प छैन । मार्क्सवाद, लेनिनवाद र माओवादको विकल्प छैन । अहिलेको दुनियाँमा वैज्ञानिक विचारमध्ये यसको विकल्प म देख्दिँन । सबैभन्दा वैज्ञानिक विचार नै मार्क्सवाद हो, माओवाद हो । त्यसकारण समाज परिवर्तन र रुपान्तरणका आधार नै मार्क्सिजम हो । त्यसकारण मार्क्सिजम र नेकपाको विकल्प छैन ।
अर्धसामन्ती र अर्धउपनिवेशिक मुलुकको सन्दर्भमा सामन्तवाद र उपनिवेशवाद विस्तापित भइसकेको अवस्था छ । सामन्तवादभन्दा धेरै गुणा शक्तिको रुपमा पुँजीवादको प्रभुत्व छ । एकाधिकार पुँजीवादको विकल्पमा राष्ट्रिय औद्योगिक पुँजीवाद स्थापित गर्न सकिए त्यसले समाजवादी आन्दोलनलाई सहयोग पुर्याउँछ । त्यसैले अहिले एकाधिकार पुँजीवादलाई अन्त्य गरी राष्ट्रिय औद्योगिक पुँजीवाद स्थापित गर्नुपर्छ । त्यसकै जगमा भविष्यमा समाजवादको पूर्वाधार तयार गर्ने क्रममा छौँ । एकाधिकार पुँजीवादले राष्ट्रिय पुँजीलाई विस्तापित गर्छ । राष्ट्रिय पुँजीले एकधिकार पुँजीवादलाई अन्त्य गर्छ । यो विज्ञानको गति र विकासको नियम हो ।
एकाधिकार पुँजीवादको अन्तरसम्बन्ध साम्राज्यवादसँग हुन्छ । राष्ट्रिय औद्योगिक पुँजीको सम्बन्ध प्रकारान्तरले समाजवादसँग हुन्छ । त्यसैले साम्राज्यवाद र समाजवाद एकआपसमा विपरीत कुरा हुन् । पुँजीवादभित्र पनि कुन कोर्समा जाने भन्ने अहिलेको महत्त्वपूर्ण सवाल हो । यी दुईबिचको संघर्षकै रुपमा अगाडि बढेको छ । साम्राज्यवादविरुद्ध कम्युनिस्टहरू एकताबद्ध हुन आवश्यक छ । एकता नगरी क्रान्ति सम्भव हुँदैन । कसैले चाहँदैमा एकता भइहाल्ने विषय पनि होइन । कसैले नचाहँदैमा नहुने पनि होइन । अन्ततोगत्वा समाजवादी क्रान्तिको विकल्प छैन । ढिलो चाँढो समाजवादी क्रान्ति हुन्छ नै । यसका लागि सचेत ढङ्गले कम्युनिस्टहरू एकताबद्ध हुन जरुरी छ । समाजवादी क्रान्तिको विकल्प छैन । विज्ञानको गतिको नियम जे छ, त्यसलाई पार्टीले पक्रिने हो ।
- जतिबेला तपाईंहरुले जनताको बिचबाट जनयुद्ध गर्नुभएको थियो, एक प्रकारले सामन्तवादलाई धक्का दिन सफल हुनुभयो । तर अहिले जनमत तपाईंहरुको पक्षमा छैन । सामन्तवादभन्दा पुँजीवाद झनै डरलाग्दो ढङ्गले आइरहेको छ । त्यसलाई ट्याकल गर्ने सामर्थ्य छ ?
पहिलो कुरा राजतन्त्र र सामन्तवादको विरुद्ध सशस्त्र युद्ध भयो । सामन्तवादसँग अन्तरविरोध एक प्रकारले अन्त्य भयो । अब रह्यो एकाधिकार दलाल पुँजीवादसँग अन्तरविरोध । यो अन्तरविरोध हल गर्न राजनीतिक कार्यदिशा, तत्कालीन कार्यनीति तय गर्दै आन्दोलनको स्वरुपहरू निर्धारण गरेर अगाडि बढ्नुपर्छ । आन्दोलनको नयाँ कोर्समा गएको अवस्थामा शान्तिपूर्ण रुपले जानुको विकल्प छैन किनभने सामन्तवाद नेपालको सन्दर्भमा मात्र थियो । पुँजीवाद नेपालको सन्दर्भमा मात्र छैन । यो विश्वमा फैलिएको छ । विश्व शक्तिमा रहेको एकाधिकार पुँजीवाद अन्त्य गर्न त्यति सजिलो छैन । नेपालको सन्दर्भमा अवशेषको रुपमा रहेको सामन्तवाद र दलाल पुुँजीवाद तुलना गर्दा आकाश र धर्तीको फरक छ । त्यसकारण एकाधिकार दलाल पुँजीवादविरुद्ध राजतन्त्रविरुद्ध लडेको जस्तो सरल, सिधा हुँदैन । सहज हुनेवाला छैन । नयाँ संघर्ष पेचिलो ढङ्गले नयाँ मोडमा पुगेको छ । यस्तो अवस्थामा आफ्नो राजनैतिक कार्यदिशा सही ढङ्गले तय गर्नुपर्छ । साथै त्यसमा मिल्न सक्ने सबै पक्षसँग गोलबन्द गरेर जानुपर्छ । सबै राजनीतिक दल, आम जनता सहकार्य गर्ने प्लेटफर्म भनेको संघीय लोकतान्त्रिक गणतन्त्र नै हो । निर्वाचन, सदन, सरकार र सडक सबैसँग मोर्चाबन्दी गर्दै जाने कुरा हो । सबैसँग सहकार्य र एकता गर्दै जाने भएकाले आन्दोलनको स्वरुप फेरिएको छ । हिजोको जस्तो सांगठनिक र आन्दोलने अहिले काम गर्न सक्दैन ।
आन्दोलनको विकल्प छैन । यो गतिको नियम हो । यही प्रक्रियाबाट दलाल पुँजीवादको अन्त्य गरी राष्ट्रिय औद्योगिक पुँजीवादको विकास गर्नुपर्छ । त्यसकै जगमा देशलाई चाहिने उत्पादन आफैँले गरी अत्मनिर्भर गर्न सकियो भने बल्ल समाजवादी क्रान्तिका लागि ग्राउण्ड बन्छ । आत्मनिर्भर नभइ समाजवादी क्रान्ति सम्भव हुँदैन । त्यसैले कम्तीमा अत्यावश्यक बस्तुमा आत्मनिर्भर हुनुपर्छ । आफूसँग उत्पादन केही छैन भने अर्काको मुलुकबाट सामान ल्याएर समाजवाद आउँदैन । यसका लागि राज्यको सबै संरचना प्रयोग गर्नै पर्छ ।
यही बाटो अबलम्बन गर्दा संख्याको हिसाबले कहिले धेरै कहिले थोरै हुन सक्छ । विचारको विज्ञानको हिसाबले अहिलेसम्म मार्क्वाद, लेनिनवाद र माओवादको विकल्प छैन । कम्युनिस्टहरूले नै आन्दोलनको नेतृत्व गर्छ । त्यसमा पनि माओवादीले नै नेतृत्व गर्छ । लेटेस्ट मार्क्सवाद भनेका माओवाद हो । यो आइडोलोजीलाई जसले आत्मसात गर्यो, ऊ सफल भयो । जसले सकेन, ऊ पछाडि धकेलियो । विचारले नेतृत्व गर्नेहुँदा अहिले तुलनात्मक रुपमा माओवादी नै सही विचार र कार्यदिशा लिएको छ ।
- त्यो तागत माओवादी केन्द्रमा छ कि छैन ? फेरि रिफर्म हुने अवस्था देख्नुहुन्छ ?
अहिलेको अवस्थामा तुलनात्मक रुपमा माओवादी बाहेकका अन्यले गर्न सक्दैन । अहिले नै माओवादीको विकल्प छ त ? आउटलुकको हिसाबले विकल्प देखाउन सक्नुहुन्छ ? विकल्प हो भने त्यसबारे छलफल गर्न सकिन्छ । हैन भने अहिलेसम्म सोसल साइन्सले जस्टिफाइ गरेको मार्क्सवाद लेनिनवाद र माओवादको विकल्प छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भूतपूर्व गोर्खाको मुद्दामा लन्डन दूतावासले अघि बढायो छलफल
-
अनधिकृत समितिलाई कार्यालय र गाडी दिन ऊर्जामन्त्रीको चर्को दबाब
-
काठमाडौँ महानगरपालिकाद्वारा इन्टर्नमा काम गर्न इच्छुक विद्यार्थीहरूलाई निवेदन पेस गर्न आह्वान
-
दश वर्षदेखि डायलसिसको सहारामा बाँचिरहेकी स्मृति
-
कृषिको विकासका लागि तिनै तहका सरकारको सामूहिक प्रयासमा कृषिमन्त्री अधिकारीको जोड
-
युक्रेनी ड्रोन हमलाको बदला लिने रुसी राष्ट्रपतिको उद्घोष