प्रधानमन्त्री कप क्रिकेट : आशुतोषको शतकसँगै बागमतीले कोशीलाई दियो २७४ रनको लक्ष्य
काठमाडौँ । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको शुक्रबार खेलिएको खेलमा बागमती प्रदेशले कोशी प्रदेशलाई जितका लागि दुई सय ७४ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको बागमतीले ४८.३ ओभरमा अलआउट हुनुअघि दुई सय ७३ रन बनाएको हो ।
बागमती प्रदेशका लागि ओपनर ब्याट्सम्यान आशुतोष घिरैयाले शतकीय पाली खेले । उनले टोलीका लागि एक सय १८ रनको योगदान गरे । जारी प्रतियोगितामा कुनै पनि ब्याट्सम्यानले बनाएको यो उच्च स्कोर पनि हो ।
जारी प्रतियोगितामा शतक प्रहार गर्ने उनी पाँचौँ खेलाडी पनि हुन् । कोशीविरुद्धको खेलमा उनले एक सय ११ बलको सामना गरी दुई छक्का र १६ वटा चौका पनि हिर्काए । अर्का ओपनर ईशान पाण्डे भने ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए ।
तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रित गौतमले पनि टोलीको खातामा ४९ रन थपे । उनले ६० बलको सामना गरी तीन चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान रविन जोशीले पनि ४३ रन बनाए । विकेटकिपर ब्याट्सम्यान रविनले ४५ बलमा एक छक्का र तीन चौका प्रहार गरे ।
प्रतिक श्रेष्ठले पनि टोलीको खातामा १९ रन थपे । उनले १६ बलमा एक छक्का र एक चौका हिर्काए । अशोक पौडेल पाँच र प्रतिश जीसी तीन रन बनाउँदै पेभेलियन फर्किए । विपिन आचार्यले नौ रन र सूर्य तामाङले पनि नौ रन बटुले ।
बागमती प्रदेशले अतिरिक्त रुपमा १२ रन पाएको थियो । कोशी प्रदेशका बलर अभ्यास मितिसिनाले तीन विकेट लिए । उनले नौ ओभरमा ४३ रन खर्चिए । हेमन्त राई र कमल खत्रीले पनि दुई–दुई विकेट हात पारे । फिरदोष अन्सारीले पनि एक विकेट लिए ।
जारी प्रतियोगितामा बागमती प्रदेशले पाँचौँ खेल खेलिरहेको हो । यसअघि बागमती प्रदेश दुई खेलमा विजयी र दुई खेलमा पराजित भएको छ । कोशी प्रदेशको पनि यो पाँचौँ खेल हो । यसअघि खेलिएका चारवटै खेलमा कोशी प्रदेश पराजित भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
योजना कार्यान्वयनमा जनस्तरबाट निगरानी बढाउनुहोस् : मुख्यमन्त्री आचार्य
-
टाटे सिमीमा विषादी
-
पशुपति धर्मशाला प्रकरणमा महानगरविरुद्ध उच्च अदालतको अर्को आदेश
-
सत्तारुढ दुई दलीय संयन्त्रले छुट्टाछुट्टै ९ वटा कार्यदल बनाउने
-
चालु खाताको बचत घट्न थाल्यो, शोधनान्तर स्थिति सुधारकै अवस्थामा
-
नेपालसँग पौने २३ खर्बको विदेशी मुद्रा, माग धान्ने अवधि घट्न थाल्यो